नेभिगेशन
राजनीति

प्रतिनिधिसभा स्थगित, रोकियो प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकबाट भदौ ११ गते १ बजे बस्नेगरी बैठक स्थगित गरेका थिए । तर, त्यसलगत्तै संसद् सचिवालयले सूचना निकालेर अनिश्चितकालका लागि बैठक स्थगित गरेको जनाएको छ । 
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बाढी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको उल्लेख छ । अब सूचना प्रकाशित भएपछि मात्र अर्को बैठक बस्नेछ ।  
बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो क्षति भएपछि बुधबार संसद्को कार्यसूची समेत प्रभावित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा प्रश्नोत्तर गर्ने कार्यसूची थियो । तर, बुधबार विहानै बाढीका कारण असहज अवस्था उत्पन्न भएपछि प्रश्नोत्तर भएन । सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको अवस्थाबारे संसद्लाई जानकारी गराएका थिए । 
विपक्षी दलका सांसदहरुले राहत र उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदरूलाई भीआइपी सुरक्षा र सुविधा नखोजी राहत र उद्धार कार्यमा जुट्न सुझाव दिएका थिए । ‘भीआइपी मुभमेन्टले कहिलेकाहीँ सुरक्षाकर्मीहरूलाई अर्को एउटा चुनौती सिर्जना गर्दछ । म अत्यावश्यक हुँदा भन्दा बाहेक फिल्डमा  जाने छैन, बरु सरकारलाई प्रभावकारी रुपमा काम गराउनमा मेरो भूमिका रहनेछ । तर कुनै कारणले, कुनै कारणवश पुग्नुपरेका खण्डमा कुनै पनि किसिमको भीआइपी मुभमेन्ट, सुरक्षा अथवा अन्य कुनै चिजका  लागि चिन्ता गर्नुपर्ने छैन र मेरो दलका सांसदहरू जाँदा पनि सुरक्षाकर्मीले त्यस्तो कुनै चिन्ता नलिइकन आफ्नो काम गर्नुभए हुन्छ, हामीलाई कतै पनि ध्यान दिनुपर्ने छैन,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै