नेभिगेशन
विश्व

रहेनन् प्रख्यात अभिनेता रोबर्ट रेडफोर्ड

हलिउडका महान अभिनेता, ओस्कार विजेता कलाकार र निर्देशक रोबर्ट रेडफोर्डको ८९ वर्षको उमेरमा निधन भएको छ। रेडफोर्डको मृत्यु युटाहस्थित आफ्नै घरमा निद्रावस्थामै भएको परिवारजनले जनाएका छन् । उनको मृत्युको कारण भने खुलाइएको छैन ।

उनले प्रख्यात सिनेमाहरू ‘बुच क्यासिडी एन्ड द सन्डान्स किड’, ‘द स्टीङ’, ‘आउट अफ अफ्रिका’ र ‘स्पाई गेम’जस्ता फिल्ममार्फत आफ्नो छाप छोडेका थिए । उनले आफ्नो पहिलो निर्देशन फिल्म ‘अर्डिनरी पिपल’ (१९८०) बाट सर्वोत्कृष्ट निर्देशकको अस्कर अवार्ड जितेका थिए ।

छ दशक लामो करिअरमा उनले तीन वटा गोल्डेन ग्लोब पुरस्कार जितेका थिए । रेडफोर्डलाई स्वतन्त्र सिनेमाका पिता पनि मानिन्छ । उनले १९८१ मा सन्डान्स रिसोर्ट एन्ड फिल्म इन्स्टिच्यूट स्थापना गरेका थिए ।

उनका अल इज् लस्ट (२०१३), आवर सोल्स एट नाइट (२०१७), द ओल्ड म्यान एन्ड द गन (२०१८) जस्ता चर्चित फिल्मपछि उनले एभेन्जस्ः इन्डगेम (२०१९) मा अन्तिम पटक एलेक्जान्डर पियर्सको भूमिका खेलेर अभिनयबाट संन्यास लिएका थिए ।

रोबर्ट रेडफोर्डको जन्म १८ अगस्ट १९३७ मा सान्ता मोनिका, क्यालिफोर्नियामा चाल्र्स रोबर्ट रेडफोर्ड जुनियरका रूपमा भएको थियो । ब्रडवेमा १९५० दशकको अन्त्यतिर डेब्यू गरेका उनी ‘द ट्वीलाइट जोन’, ‘अल्फ्रेड हिच्कक प्रेजेन्ट्स’ र ‘द अनटचेबल्स’जस्ता शोहरूमा देखा परेका थिए ।

सन् ६० को दशकको उत्तरार्धदेखि ७० को दशकसम्म उनको भाग्य बलियो हुँदै गर्दा हिट फिल्महरू दिएर हलिउडका सबैभन्दा ठूला स्टार बने । ‘द ग्रेट ग्याट्सबी’, ‘थ्री डेज् अफ द कन्डोर’ र ‘अल द प्रेसिडेन्ट्स मेन’ फिल्ममार्फत् अभिनय करियरकै उचाइमा पुग्यो ।

सन् ७० को दशकको अन्त्यमा उनले निर्देशनमा पाइला टेक्दै ’अर्डिनरी पिपल’ निर्देशन गरे र १९८० मा सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट फिल्मको अस्कर अवार्ड जिते । त्यसपछि उनले निर्देशन र स्वतन्त्र सिनेमालाई अघि बढाउने अभियानलाई प्राथमिकता दिए ।

उनले सन्डान्स फिल्म फेस्टिभल स्थापना गर्दै क्वेन्टिन टारान्टिनो, स्टिभन सोडरबर्ग, पल थोमस एन्डरसन, डेरेन अरोनोफ्स्कीजस्ता निर्देशकहरूलाई चिनाउने ठाउँ बनाए । कसरी सम्झन चाहनुहुन्छ सोध्दा उनले भनेका थिए, ‘मैले हाम्रो संस्कृतिको दिगोपनमा सानो योगदान दिन सकेँ । शायद मैले बनाएका फिल्महरू लामो समय टिक्लान् । त्यसैले, म कुनै न कुनै तरिकाले संस्कृतिमा योगदान गर्ने व्यक्ति भनेर सम्झाइयोस् भन्ने चाहन्छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्