यतिबेला सम्पत्तिको सूचीमा सबैभन्दा धनी ल्यारी एलिसनका छोरा डेभिड एलिसनले हलिउडको चित्र बदल्ने निर्णय गर्दैछन् । केही साताअघि मात्र उनले ८ अर्ब डलरमा प्यारामाउन्ट स्टुडियो खरीद गरेका थिए । अब उनको आँखा वार्नर ब्रदर्स डिस्कभरीतर्फ सोझिएका छन् ।
एलिसनलाई मनोरञ्जन उद्योगमा ठूलो चासो थियो । त्यसैले खर्बपति बुवा ल्यारीसँग सापट मागेर उनले फिल्म कम्पनी स्काइडान्स स्थापना गरेका थिए । यो कम्पनीले अभिनेता टम क्रुजसँग मिलेर सुपरहिट फिल्महरू बनायो । टेलिभिजनका लागि साई फाई शृंखलाहरू तयार पार्यो र पन्ध्र वर्षभित्रै यसले आफूलाई फिल्म उद्योगको आशालाग्दो कम्पनीका रुपमा उभ्यायो ।
यतिबेला प्यारामाउन्ट स्टुडियो किन्ने निर्णय एलिसनले गर्दा, स्टुडियोमा चासो राख्ने ठूला लगानीकर्ता रिसले भुतुक्कै भएका थिए । यसो गरे स्टुडियोको इतिहास भताभुङ्ग हुने भन्दै उनीहरूले सरकार गुहारे । सरकारले फेडरल कम्युनिकेशन्स कमिशनलाई अनुसन्धानका लागि काम थाल्यो ।
प्यारामाउन्ट र वार्नर ब्रदर्श दुवै इतिहास रच्ने कम्पनी हुन् । दुवै कम्पनी ‘साइलेन्ट एरा’मा स्थापना भएका थिए । केबुल टीभीको युगमा यी दुवै कम्पनी यति वृहद् र ठूला भए कि यिनले संसारको मनोरञ्जन उद्योग कब्जा गरे । डिजिटल युगमा भने उनीहरू नराम्रोसँग पछाडि परे । जब उनीहरूले डिजिटल युगको महङ्खव थाहा पाए, निकै ढिलो भइसकेको थियो र नेटफ्लिक्ससँगको प्रतिस्पर्धामा उनीहरू पछारिइसकेका थिए ।
भर्खरै ठूलो रकममा कम्पनी किनेका एलिसनले थप ठूलो रकम आकर्षित गर्न आफूसँग नयाँ योजना भएको साथीभाइसँग बताउन थालेका छन् । उनको भनाइमा, ठूला फिल्म स्टुडियोहरुलाई एकीकृत कम्पनी बनाएर यसलाई टेक्नोलोजी कम्पनीमा परिणत गर्न सके मात्र यी कम्पनी ज्यूँदा रहन्छन् ।
यसो हुँदा टेलिभिजनलाई आधुनिक बनाउने, प्रिमियम केबुल टेलिभिजनका रुपमा विस्तार गर्न सकिने र फिल्म प्रोडक्शनलाई चुस्त बनाउन सहज हुने उनको भनाइ छ । यसो गर्न सके, पैसाको वचत पनि हुने र ग्राहक पनि सन्तुष्ट हुने उनको बुझाइ छ ।
यसै पनि अहिले नेटफ्लिक्सजस्ता १० वटा स्ट्रिमरहरू बजारभरि छरिएर रहेका छन् । छरिएका स्ट्रिमरका कारण नेटफ्लिक्स एक मात्र विकल्पका रुपमा उदाएको छ । उनी बाँकीका स्ट्रिमरहरूलाई एकीकृत रुपमा जोड्न चाहिरहेका छन् ।
हुन पनि उनले र्वानर कम्पनी किन्न सके भने फिल्म र टीभीमा उनी बेताज बादशाह हुनेतर्फ लम्किने केहीको धारणा छ । वार्नर ब्रदर्श मोशन पिक्चर ग्रुुपमा एबीओ, डिसी स्टुडियोज, सीएनएनजस्ता कम्पनीहरू पर्छन् । यो कम्पनी हात परे उनी हलिउडकै सबैभन्दा शक्तिशाली व्यक्ति हुनेछन् ।
फिल्म व्यापारका विश्लेषक लरेन्ट यून भन्छन्, ‘तपाईंले प्यारामाउन्ट र वार्नर ब्रदर्शको मालिक हुनु भयो भने तपाईं एक हिसाबले मनोरञ्जन उद्योगको राजा हुनुभयो । यस्तो दुर्लभ अवसर हो, इतिहासमा पाइलाको छाप गाड्न पाइने कहिलेकाहीँ अवसरको कुरा हो ।’
एलिसनको योजनालाई वार्नर ब्रदर्शका प्रमुख डेभिड जास्लाभ र कमकास्ट कम्पनीका प्रमुख ब्रायन रोबर्ट्सले थाहा पाएका हुन्थे भने उनीहरूले एलिसनलाई रोक्न उनीहरूको कम्पनी बेच्दैनथे । उनीहरूले आफ्नो कम्पनीलाई नयाँ शिराबाट उठाउन पछिल्लो समय निकै मिहिनेत गरिरहेका थिए ।
बैंक अफ अमेरिकाकी मनोरञ्जन व्यापार विश्लेषक जेसिका रेफ एलिक भन्छिन्, ‘जब तपाईंसँग प्यारामाउन्ट प्लस र एचबिओ म्याक्सजस्ता स्ट्रिमिङ कम्पनी हातमा पर्छ, तपाईंसँग साँच्चिकै प्रतिस्पर्धी चिज हुन्छ र नेटफ्लिक्सलाई टक्कर दिन सक्नुहुन्छ ।’
यसअघि पनि डिज्ने कम्पनीका बब इगरले आफ्नो सुस्त रहेको स्ट्रिमिङ डिज्ने प्लसलाई हुलु कम्पनी किनिसकेपछि एकै ठाउँमा मिसाएर दर्शकहरूलाई जोड्ने प्रयास गरेका थिए । यसले कम्पनीलाई निकै ठूलो फाइदा पुर्याएको पनि थियो ।
तर जेसिका सचेत गराउँदै भन्छिन्, ‘यदि यी कम्पनीको महङ्खव बुझ्ने हो भने बेग्लाबेग्लै कम्पनीलाई पुनर्संरचनामा ढाल्ने र त्यसको परिणाम निकाल्ने कुरामा लामो समय लाग्छ । एलिसनलाई लगानी गर्न रकम जुटाउने काम गेरी कार्डिनेलको रेडबर्ड क्यापिटलले गर्छ । एलिसनको प्यारामाउन्ट किन्नलाई यही कम्पनीले सघाएको थियो ।
स्काई डान्स कम्पनीले पन्ध्र वर्षको दौरानमा मिसन इम्पोसिबल शृंखलाका फिल्महरू बनायो । टप गन मेभरिकले त कम्पनीका लागि अहिलेसम्मकै सबैभन्दा बढी व्यापार गरेर कम्पनीलाई चार चाँद लगाइदियो । हालै मात्र एलिसनले पिक्सार कम्पनीका संस्थापक जोन लासेस्टरलाई एनिमेशन फिल्महरू मात्र बनाउने भनी कम्पनीमा भित्र्याएका छन् ।
केही समयअघि वार्नर कम्पनीमा जास्लभले निकै अप्रिय निर्णयहरू गरेका थिए । उनले कम्पनीको खर्च कटौती गरे र घाटाको कम्पनीलाई जसोतसो उभिने बताए । त्यसमाथि वार्नरले बनाएका फिल्महरू अ मानक्राफ्ट मुभी, सिनर्स, विपन्स, एफ१ः द मुभी र सुपरम्यानजस्ता फिल्महरू सुपरहिट भएका थिए ।
‘जास्लाभलाई अर्को वर्षसम्म कम्पनी निकै मूल्यवान् बन्ने कुरा थाहा थियो,’ विश्लेषक यून भन्छन्, ‘जब एलिसनले वार्नर किन्ने प्रक्रिया अघि बढाउँछन्, जास्लाभले मोटो रकमको अफर अवश्य पाउने छन् ।’
त्यसो त मनोरञ्जन उद्योगमा आएको व्यापक परिवर्तनका कारण ठूला स्टुडियोहरूलाई एकै ठाउँमा भेला पारेर एकीकृत कम्पनीका रुपमा अघि नबढाएसम्म तिनको भविष्य छैन भन्ने चर्चा सन् २०२२ यता चल्दै आएको थियो ।
ठूला स्टुडियोहरूले भने अहिले देखिएको स्ट्रिमिङ सेवालाई फुकुण्डा ठान्दै आइरहेका थिए । यसबीचमा केही कम्पनीले आफूलाई सान्दर्भिक बनाइरहन बन्डलिङ गरिरहेका थिए । बन्डलिङ भनेको आफ्नो सेवा लिने ग्राहकहरूलाई एकमुष्ठ अन्य सेवा थपिदिने । बन्डलिङपछि स्ट्रिमिङमा विज्ञापनहरू पनि बजाउने गरिरहेका थिए ।