नेभिगेशन
प्रदेश

सरकार सक्रिय, दलहरु एकै ठाउँ

काठमाडौं । भोटेकोशीमा अकस्मातको बाढीले ल्याएको विपत्तिसँगै सरकारको सक्रियता अपेक्षित रुपमा अघि बढेको छ । बुधबार काठमाडौंबाट सुरक्षा परिचालनसँगै आवश्यक व्यवस्थापन तथा निर्देशनमा व्यस्त प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार भने प्रभावित जिल्ला पुगेका छन् । 
रसुवाको भोटकोशीमा बाढीले धनजनको ठूलो क्षति गरेपछि बुधबार साढे १२ बजे प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका थिए । त्यसअघि उनले सुरक्षा निकायको ब्रिफिङ लिएका थिए । 
शाह बुधबार संसद्मा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने कार्यसूची थियो । विपद्को खबर पछि फेरियो । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभालाई सम्बोधन गर्दैे हिमपहिरोका कारण रसुवा विपद्को अवस्था आएको बताउँदै त्यसबारे थप पुष्टि गर्ने काम चलिरहेको जानकारी गराए । 
भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोट जिल्लाका टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली बट्टार र देवीघाट लगायतका ठाउँमा ‘निकै ठूलो क्षति पुगेको’ उनले बताए ।
दिउँसो डेढ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्यो ।  बैठकले बैठकले बाढी प्रभावित जिल्लाका स्थानीय तहलाई ३ महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा ग¥यो । बाढीमा वेपत्ताको खोजी, घाइतेको उपचार, राहत र पुनस्र्थापनाका लागि सरकारका सबै संयन्त्रलाई आवश्यक्ताअनुसार परिचालन गर्ने गरी सरकार बैठकपछि अघि बढ्यो । विपद्का कारण घाइते र बिचल्लीमा परेका व्यक्तिहरुको उद्धारका लागि गृह र रक्षा मन्त्रालयलाई जिम्मेवारी दिइयो । त्यसका लागि सेना र निजी क्षेत्रको हेलिकप्टर परिचालन गर्ने निर्णय भयो । क्षति भएका संरचना र भौतिक पूर्वाधार तत्काल सञ्चालनका लागि आर्थिक स्रोत परिचालनको समन्वय गर्ने जिम्मेवारी अर्थमन्त्री, अवरुद्ध दूरसञ्चार सेवा खुलाउने जिम्मेवारी सूचना तथा सञ्चार मन्त्रालय र  खानेपानीको व्यवस्था पूर्वाधार मन्त्रालयले मिलाउने निर्णय भयो । अरु विपद्सँग जोडिएका सरकारका संयन्त्रहरुलाई पनि परिचालन गरियो । 
बुधबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारले अपील ग¥यो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आग्रह गर्दै उद्धार कोषका आठ र राहत कोषका एउटा खाताको विवरण पनि सार्वजनिक ग¥यो । 
यसअघि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘विपद्का लागि आफूखुसी सहयोग संकलन नगर्न÷नगराउन’ अनुरोध गरेको थियो । 
बुधबार दिनभर नै सुरक्षा निकायसहित सरकारका विपद्मा काम गर्ने संयन्त्र खोजी र र उद्धार कार्यमा सक्रिय भए । रातभर नै नेपाली सेना, सशस्त्र बल र नेपाल प्रहरीले उद्धारको काम जारी राख्यो । 
बुधबार राती प्रधानमन्त्री शाहले आफ्नो फेसबुकमार्फत दिनभर भएका उद्धार, राहत र उपचारका लागि भएका कामको फेहरिस्त प्रस्तुत गर्दै विपद्मा नागरिकको साथमा सरकार रहेको भन्दै राहत र उद्धारमा सहयोग गर्न सबैलाई अपील गरे । 
प्रधानमन्त्री गाडीबाटै संकटग्रस्त क्षेत्र 
बिहीबार बिहान साढे ९ बजे प्रधानमन्त्री शाह गाडीबाटै नुवाकोट पुगे । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नुवाकोटको विदुरमा स्थलगत निरीक्षणका लागि गए । पीडित र उद्धारमा खटिएका सुरक्षाकर्मीलाई भेटे । बेलुकी काठमाण्डू फर्किए । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि थिए ।  
बाढी प्रभावित क्षेत्रमा भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग छलफल गरे । ‘प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिनुभएका सबैसँग प्रत्यक्ष रूपमा जानकारी लिएँ ।अवस्था अझै चुनौतीपूर्ण छ । राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन् । अहिले हाम्रो पहिलो प्राथमिकता एक–एक नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पु¥याउनु हो,’ उनले काठमाडौं फर्किएपछि भनेका छन् । 
विपद् क्षेत्रमा के गर्दैछ सरकार ? 
खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकता दिँदै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका कुल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ । यसमा नेपाल प्रहरीका ७,२५०, नेपाली सेनाका ४,२०० र सशस्त्र प्रहरी बलका १,८४५ जना छन् । 
हवाई तथा स्थलमार्गबाट उद्धार कार्य निरन्तर भइरहेको छ । बिहीबार बेलुकासम्म ६९ वटा हवाई उडान सञ्चालन गरी ५७३ जनाको उद्धार गरिएको छ । थप हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन् र निजी हेलिकप्टरलाई समेत सरकारी कमाण्ड तथा  संयोजन प्रणालीअन्तर्गत उद्धार र राहतमा परिचालन गरिएको छ । हवाई उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको सरकारले बताएको छ । 

रसुवा, नुवाकोट, धादिङ लगायतका प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य जारी छ । करिब ३ हजार ५ सय जनालाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक÷सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ ।
प्रभावित नागरिकको तत्काल राहतका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ । चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायतका राहत सामग्री १० ट्रक पठाइएको छ भने थप खाद्य तथा गैरखाद्य सामग्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पु¥याइएको प्रधानमन्त्री शाहले बताएका छन् । 
प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी र आवश्यक आधारभूत सेवाको व्यवस्था गरिएको छ । नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थाका संयन्त्रसमेत राहत र उद्धारमा परिचालित छन् । रेडक्रसबाट करिब ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।
स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय गरिएको छ । वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा  राखिएको छ । वीर र ट्रमा सेन्टरमा १००÷१०० तथा पाटन अस्पतालमा ६० आपत्कालीन शड्ढया तयार गरिएको छ । आवश्यकताअनुसार मेडिकल टोली, औषधि, एम्बुलेन्स र रक्तसञ्चार सेवा परिचालन गरिएको छ ।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री संकलन गरी आवश्यकता र प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरेको छ । 
दूरसञ्चार सेवा पुनःस्थापनालाई आपत्कालीन प्राथमिकतामा राखिएको छ । हालसम्म नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावर÷साइट बन्द भएका छन् ।  प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पु¥याई सेवा पुनःस्थापनाको काम भइरहेको छ ।
प्रभावित नागरिकलाई तत्काल निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको छ । अस्थायी मोबाइल कनेक्टिभिटी तथा मोबाइल चार्जिङ सुविधा विस्तार भइरहेको छ ।
विद्युत् प्राधिकरणसँगको समन्वयमा विद्युत् संरचनाको पुनःस्थापनाको काम अघि बढाइएको छ । अत्यधिक प्रभावित क्षेत्र र उद्धार तथा राहत कार्यमा प्रत्यक्ष सहयोग पु¥याउने संरचनालाई प्राथमिकताका साथ पुनःसञ्चालन गरिँदैछ ।
‘सरकारले अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको छ ,’ प्रधानमन्त्री शाहले भनेका छन्,‘हामी अहिले पनि काममै छौं । यो संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै छ । उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन् ।’
विपद्को सामना गर्न राजनीतिक दलहरु एकै ठाउँ
रसुवा विपद्पछि उत्पन्न असहज अवस्थाको सामना गर्न सबै राजनीतिक दलहरु सरकारको साथमा उभिएका छन् । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले बिहीबार बोलाएको सर्वपक्षीय बैठकमा सहभागी सबै दलले विपद्को घडीमा सरकारकै साथमा आफूहरु रहेको बताए । 
बाढी प्रभावित स्थानमा उद्धार, राहत र पुनःनिर्माणमा सघाउन उनीहरुले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीलाई ‘निकै ठूलो र अकल्पनीय’ भन्दै दलहरूले संयुक्त रूपमा ‘उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा आवश्यक मानवीय, प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन’ आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघ, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मित्रराष्ट्र तथा प्रवासी नेपाली समुदाय लगायतलाई सम्बोधन गर्दै उनीहरूले यस्तो आग्रह गरेका हुन् । 
‘सरकारबाट भएको स्रोत र साधनबाट मात्रै यत्रो विपत्तिमा काम गर्न सम्भव हुँदैन । राज्यले सबै संयन्त्र परिचालित गरिरहेको छु भनिरहँदा सँगसँगै के पनि ख्याल गर्नु पर्दछ भन्दा नियमित समयमा सरकारसँग भइरहेका साधनहरू भन्दा बाहेक सबै राज्यकै हो । सरकारले परिचालित गर्दा हामी तयार छौं,’ कांग्रेस सभापति गगन थापाले भने । 
अझै छ खतरा, सतर्कता अपनाउन अपील
जल तथा जलस्रोत अनुसन्धान केन्द्रले भोटेकोशी नदीमा फेरि पनि बाढी आउन सक्ने जोखिम देखिएको भन्दै जल तथा जलस्रोत अनुसन्धान केन्द्रले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । केन्द्रले जारी गरेको सूचनाअनुसार चीनतर्फबाट प्राप्त भूउपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा बुधबारको बाढीको उद्गमस्थान आसपासका क्षेत्रमा ताल बनेको छ । त्यसमा पानीको सतह बढेर ताल विस्फोट हुन सक्ने जोखिम रहेको केन्द्रले जनाएको छ ।
सो अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सूचनामा नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन र सम्भावित बाढीको जोखिमलाई गम्भीरतापूर्वक लिन अनुरोध गरिएको छ ।
रसुवा बाढीपछि के–के भयो ? 
प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायसँग ब्रिफिङ लिए
गृहमन्त्रीले विपद् जोखिमको बैठक गरे  
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्यो, राज्यका सबै संयन्त्र परिचालन गर्न निर्देशन  
सेना, सशस्त्र र नेपाल प्रहरीलाई खोज तथा उद्धारमा परिचालन  अन्य जिल्लाबाट थप सुरक्षाकर्मी पठाइयो 
विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली, स्काउट र रेडक्रससँग समन्वय गर्न निर्देशन 
उद्धारमा सरकारी र निजी क्षेत्रका हेलिकप्टर परिचालन 
राहत तथा सूचनाका लागि १२३४ हेल्पलाइन सञ्चालन
अस्पतालहरुमा शड्ढया र स्वास्थयकर्मी तयारी अवस्थामा 
तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न निर्देशन एसएमएस र फोनमार्फत नागरिकलाई सचेत
प्रधानमन्त्रीले देशवासीका नाममा अपिल, प्रभावितलाई सुरक्षित स्थानमा बस्न आग्रह 
आफन्तसँग सम्पर्क हुन नसके आधिकारिक उद्धार टोलीबाट आउने सूचनालाई पर्खन आग्रह
बिहीबार बिहान ६ः३० बजेबाट खोज तथा उद्धारका लागि हेलिकप्टर उडान, केही घण्टामै १५ जनाभन्दा बढीको उद्धार ।
सेनाको हेलिकप्टरबाट टिमुरेबाट ११६ जनाको उद्धार, उद्धार गरिएकामध्ये ९५ नेपाली र २१ भारतीय । 
टनेलभित्र फसेका सात नेपालीलाई पनि उद्धार
प्रधानमन्त्री शाह सडकमार्ग हुँदै बाढी प्रभावित नुवाकोटमा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्