नेभिगेशन
राजनीति

परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण रद्द

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले पूर्वनिर्धारित सर्बिया भ्रमण रद्द गरेका छन् । असंलग्न आन्दोलनको उच्चस्तरीय सभामा सहभागी उनी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो । रसुवा बाढीका कारण सृजित असमान्य अवस्थालाई ध्यानमा राख्दै खनालले आफ्नो भ्रमण रद्द गरेका हुन् । 
बेलग्रेडमा आगामी सोमबार र मंगलबार उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ । मन्त्रिपरिषद्को गत साउन २६ को निर्णयअनुसार मन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागी हुने तयारी थियो । अब नेपालको तर्फबाट उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुनेछ । सन् १९६१ मा बेलग्रेडमा असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो । पहिलो शिखर सम्मेलनको ६५औं वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्