नेभिगेशन
प्रदेश

शवको चाप थेग्न नसक्दा अस्थायी अन्त्येष्टि

काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीमा परी मृत्यु भएकामध्ये शनिबारसम्म साढे ६ सय जनाभन्दा बढीको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार फेला परेका शवमा १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक र २११ आंशिक अंगसहितका शव छन् ।
रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २४८, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ शव फेला परेका छन् । तीमध्ये २० शव आफन्तको जिम्मा लगाइएको छ ।
ठूलो संख्यामा शव एकैपटक फेला परेपछि तिनको सुरक्षित भण्डारण र व्यवस्थापन प्रहरी तथा स्थानीय प्रशासनका लागि चुनौती बनेको छ । पर्याप्त ‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा अस्पतालका शवगृह भरिएका छन् भने कतिपय शवमा कुहिने प्रक्रिया तीव्र भएपछि दुर्गन्ध फैलिन थालेको छ ।
सबैभन्दा बढी शव फेला परेको चितवनमा उपलब्ध शवगृहको क्षमता अपुग भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार केही शव अस्थायी रूपमा गाड्ने निर्णय गरेको छ । चितवनका स्वास्थ्य संस्थामा करिब ५० शव राख्न सकिने क्षमता भए पनि तीमध्ये कतिपय स्थानमा पहिलेदेखिका बेवारिसे शवले समेत स्थान ओगटेका छन् ।
चितवनका प्रहरी निरीक्षक अनिल थापाका अनुसार शव सड्न थालेपछि डेढदेखि दुई किलोमिटरसम्म दुर्गन्ध फैलिन थालेको छ । ‘शव सड्न थालिसकेका छन् । धेरै सड्न थालेपछि गन्ध फैलिएको छ । महामारी तथा संक्रमणको जोखिम नहोस् भनेर गाड्न लागेका हौं,’ उनले भने ।
गोरखामा पनि भोटेकोशीको बाढीले त्रिशूली हुँदै ल्याएका शवमध्ये २९ वटाको अन्त्येष्टि गरिएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठका अनुसार पहिचान खुल्न नसकेका तथा शरीरका विभिन्न अंग फेला परेका शवबाट आवश्यक डीएनए नमूना लिएर बुढीगण्डकी किनारमा अन्त्येष्टि गरिएको हो । ‘गोरखामा शवगृहको अभाव छ । दैनिक शव फेला पर्ने क्रम बढ्दै गएपछि व्यवस्थापनका लागि पहिचान खुल्न नसक्ने शव अन्त्येष्टि गरेका हौं,’ उनले भने ।
प्रहरी प्रधान कार्यालयमा प्रहरी नायब महानिरीक्षक सुदर्शनप्रसाद कोइरालाको नेतृत्वमा ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ सञ्चालनमा छ । केन्द्रले शवको फोटो–भिडियोसहित विवरण संकलन गरी बेपत्ता व्यक्तिको विवरणसँग ‘म्याचिङ’ गर्ने र पहिचान खुलेपछि कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई हस्तान्तरण गर्ने काम गरिरहेको छ ।
सरकारी तथ्यांकअनुसार बाढीमा १ हजार ८ सय ६३ नेपाली र ५ सय २३ विदेशी गरी २ हजार ३ सय ६२ जना अझै बेपत्ता छन् । खोजीका लागि त्रिशूलीको तटीय क्षेत्रमा सुरक्षा फौज, ड्रोन र तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले शव व्यवस्थापनका लागि ‘रेफ्रिजरेटिङ कन्टेनर’ तत्काल आवश्यक रहेको बताए । ‘शव व्यवस्थापनका लागि चाहिने ‘रेफ्रिजरेटिङ कन्टेनर’को निकै जरुरी देखिएको छ,’ उनले भने, ‘हामीले यसबारेमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग पहल गरिरहेका छौं ।’
विपद्मा ठूलो संख्यामा शव फेला पर्दा सम्भव भएसम्म २ देखि ४ डिग्री सेल्सियस तापक्रममा चिस्यानयुक्त भण्डारणमा राख्नु उपयुक्त मानिन्छ । यस्तो सुविधा उपलब्ध हुन नसके पहिचानका लागि आवश्यक नमूना लिएर सुरक्षित स्थानमा अस्थायी रूपमा गाड्न सकिने भएकाले चितवन र गोरखामा अहिले त्यही उपाय अपनाइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्