मानिसको बाँच्ने चाहनाको खोजीमा प्रकोप या विपद्प्रति उसको सबैभन्दा ठूलो चासो एवं सरोकार रहन्छ । पत्रकारिता मानवीय अभिरुचिमा नै बढी केन्द्रित हुने भएकाले नै विश्वमै पछिल्लो समयमा वातावरण, अपराध, विकास, खेलकुदजस्तै विपद् रिपोर्टिङलाई पनि एक अलग्गै विधा र विषयका रूपमा विकास गरेको छ ।
प्राकृतिकलगायतका विविध महामरीजन्य प्रकोप अथवा विपद्का समयमा सूचनाले मानिसको ज्यान बचाउने काम गर्ने भएकाले मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको यो विषयभन्दा अर्काे ठूलो मानवीय अभिरुचि हुने कुरा पनि भएन । यस्तो अवस्थाको रिपोर्टिङ मानव समुदायलाई अन्य सामान्य अवस्था या समयकोभन्दा पनि बढी महŒवपूर्ण र आवश्यक रहन्छ । प्राकृतिक विपद् र यो प्रकोपको समाचार सम्प्रेषण अतिजटिल र संवेदनशील काम हो । युद्ध या द्वन्द्वका बेलामा पत्रकारले समाचार सम्प्रेषण गर्दा समाचारदातालाई बढी गाह्रो हुन्थ्यो, यो विपद् या प्रकोप समाचारको रिपोर्टिङमा पनि त्यस्तै अप्ठ्यारो हुन्छ ।
मध्यपूर्वी राष्ट्रहरूमा चलेको प्रजातन्त्रको आन्दोलनमा कैयौं युरोपेली, अमेरिकी पत्रकार यस्तो समाचारको रिपोर्टिङकै सिलसिलामा मारिएका थिए । सिरियामै कैयौं विदेशी पत्रकार मारिएका छन् । उनीहरूले समाचार पनि दिनुपर्छ र आइपर्ने जोखिम पनि उत्तिकै सामना गर्नुपर्छ । यतिमात्र होइन, उनीहरूलाई द्वन्द्वरत पक्ष विपक्षले पनि आफ्ना कुरा नआएमा तारो बनाउँछ । त्यस्तै, जोखिम यो विपद्को समाचार दिने पत्रकारमा पनि हुने गर्छ । प्राकृतिक या मानवनिर्मित के–कस्तो विपद् हो त्यसको जोखिम रहन्छ । त्यस घटनाको सूचना जतिसक्दो चाँडै दिनुपर्छ र आफू पनि बच्नुपर्छ । नेपालमा २०७२ सालको महाभूकम्पका समयमा कैयौं रेडियो, टेलिभिजनकर्मी आ–आफ्नो स्टुडियोबाट समाचार प्रसारण गर्न बाध्य भए तर पनि ती स्टुडियो राखिएका घर भूकम्पबाट सुरक्षित थिए या थिएनन् भन्ने सूचना उनीहरूसँगै थिएन ।
प्रायः प्रकृतिले पार्ने प्रकोप नै यसअन्तर्गत पर्दछन् जस्तो कि बाढी, पहिरो, चट्याङ, ज्वालामुखी, हुरी, बतास, आँधी, भूकम्प, सुनामी, खडेरी, शीतलहर आदि । यो मानिसको काबुबाहिरको अवस्था हो । प्रकृतिले पार्ने भएकाले यसलाई प्राकृतिक प्रकोप भनिएको हो । मानिसले यस्ता प्रकोप हटाउन सक्दैन तर केही प्रयासहरूबाट घटाउन भने सकिन्छ । कतिपय मानवनिर्मित प्रकोपहरू पनि हुन्छन् । युद्ध, द्वन्द्व, यातायात दुर्घटना, आगलागी आदि मानवनिर्मित प्रकोप हुन् । यस्ता प्रकृतिका प्रकोपलाई रोक्न पनि सकिन्छ तर प्राकृतिक प्रकोपलाई हामीले माथि भनेजस्तै रोक्न सकिँदैन । युद्ध र द्वन्द्वको अवस्था मानिसले नै सिर्जना गर्ने हो । त्यसैले मानवनिर्मित प्रकोप या विपद् व्यवस्थापनका लागि समाचारदाताको भूमिकालाई महŒवपूर्ण मानिन्छ ।
सामान्यतया प्रकोप विपद् रिपोर्टिङलाई तीन चरणमा अध्ययन या अभ्यास गर्न सकिन्छ । प्रकोप या विपद्अघिको सञ्चार अर्थात् रिपोर्टिङ, प्रकोप भइरहेकै समयको रिपोर्टिङ र प्रकोपपछिको रिपोर्टिङ । प्राकृतिक विपत्तिकाबारेमा पहिले नै जानकारी पाएर समाचारदाताले समाचार त लेख्न सक्दैन । तर पनि त्यसको पूर्वतयारीको सञ्चार भने गर्न सक्छ । विपद् आउनुअघि नै सजगता अपनाएर समाचार सम्प्रेषण गर्न सकेमा यस्ता सूचनाहरूबाट नागरिकको ज्यान बच्ने र ठूलो क्षति हुनबाट जोगिन सक्छ । पत्रकारिताको काम क्षति हुन नदिने, क्षति भए पनि क्षतिको न्यूनीकरण गर्ने र क्षति प्रकोप आउनुअगावै पनि नागरिकलाई सजग, सचेत गराउने नै हो ।
भूकम्प, बाढी, पहिरो आगलागीजस्ता दैवी तथा प्राकृतिक प्रकोपहरू कहिले र कुनबेला आउँछन् भन्नेबारेमा पत्रकारलाई पहिल्यै थाहा हुने कुरा त भएन तर पनि यस्ता प्रकोपहरू आउन सक्छन् भनेर पत्रकारले ती प्रकोपबाट सामान्यतया बच्नसक्ने सूचना दिँदा त्यसले आममानिसमा ठूलो सहायता पुग्छ ।
खोलामा घर बनाउनु हुँदैन भन्ने सामान्य जानकारी त सबैमा होला, तर पनि भोटेकोशीको उत्पत्तिस्थलमा ठूला हिमताल रहेका र जलवायु परिवर्तनको प्रभावका कारण ती पग्लिएर क्षति पु¥याउन सक्ने सूचना पत्रकारले पहिले नै पनि दिन सक्दछ । भूकम्प कुनबेला आउँछ भन्नेबारेको पूर्वसूचना दिन नसके पनि भूकम्पले पु¥याउने क्षतिबारे जानकारी गराएर सुरक्षित संरचना निर्माणमा सूचनाले काम गर्न सक्छ ।
त्यस्तै, भूकम्पपछि कसरी बच्ने, उद्धार कसरी गर्ने, औषधि उपचारको व्यवस्था कस्तो हुने, अस्पतालहरूले त्यस्तो अवस्थामा कसरी काम गर्ने, त्यस्तो आपतका बेलामा खानेपानी, अत्यावश्यकीय सेवाको आपूर्ति कसरी गर्ने भन्नेबारेमा सूचनाबाट व्यक्ति तथा राज्य पनि लाभान्वित हुनसक्छ ।
अर्काे चरण हो प्रकोप या विपद्को समयको रिपोर्टिङ । प्रकोप या विपद् भइरहेकै बेलामा गरिने समाचार सम्प्रेषण यसअन्तर्गत पर्दछ । विपद्पूर्वको भन्दाबढी संवेदनशील समय र कार्य दुवै हो । अझ भन्ने हो भने समाचारको मूल्यको हिसाबले हेर्दा यो समयको रिपोर्टिङको महŒव र संवेदनशीलता धेरै ठूलो छ किनभने यस्तो बेलामा अत्तालिएका मानिसले आफू बच्ने उपाय तथा कम क्षतिका लागि सहारा खोजिरहेको हुन्छ । यस्तो बेलाको सही सूचनाले कैयौँमा सान्त्वना दिन तथा नागरिकको ज्यान जोगाउन सक्छ । यस्तो समयको सहारा भनेको रेडियो, टिभी नै हुन् र अहिले त्योभन्दा बढी प्रभावकारी सामाजिक सञ्जाल भएका छन् ।
प्रकोपले पत्रकार नचिन्ने भएकाले सबैभन्दा पहिला त आफ्नो ज्यान जोगाएर काम गर्नुपर्छ । यो अरु बेलाको जस्तो सामान्य अवस्था होइन भनेर बुझ्नुपर्दछ ।
२०७२ सालको भूकम्पका समयमा असन, बागबजार, नयाँ सडकका बाक्लो बस्तीका नागरिकहरू खुलामञ्चमा जम्मा भएका थिए । मिडियाले यो समाचारका साथै सबै नागरिकलाई घर, पर्खाल या कुनै संरचनाको नजिक नबस्न र खुल्ला चौरमा बस्न सुझाव दिएका थिए । नागरिकले के समस्या भोगेका छन्, अत्यावश्यकीय सेवाजस्तो पानी, औषधि या उद्धार सेवा पाएका छन् कि छैनन् भन्नेबारेको सूचना महŒवपूर्ण रहन्छ ।
कहाँ के कति क्षति भयो, प्रकोप कति सयम रहन्छ, बच्ने कस्ता उपाय अवलम्बन गर्ने, भन्ने कौतुहलमा बाँचिरहेका मानिसलाई सान्त्वनायुक्त सूचनाले काम गर्छ । भूकम्पका समयमा नागरिकका कानकानमा रेडियो झुण्डिएको त हामीले देखेकै हो । त्यस्तो बेलामा नागरिकलाई गलत सूचना दिइयो भने अवस्था के होला ? यस्तो समयमा सञ्चारकर्मीले आफू पत्रकार होइन कि उद्धारकर्मी नै हुँ भनेर काम गर्नुपर्छ । ऊ आफैँले उद्धारका सामग्री बोकेर जाने होइन कि यस्तो समयमा सुरक्षाकर्मी, उद्धारकर्मी, सरकार, चिकित्सकको आँखा सबैतिर नपुग्न पनि सक्छ र ती आँखा पत्रकारले पु¥याइदिनुपर्छ ।
प्रकोपपछिको रिपोर्टिङ अर्काे चरण हो र यतिखेर हामी भोटेकोशी बाढीको प्रकोपपछिको यही चरणमा छौँ । यो अवस्था भनेको प्राकृतिक प्रकोप भइसकेपछिको तत्कालैको उद्धारबाट सुरु भएर पीडितहरूको पुनःस्थापनासम्मको हो । सुरुमा प्रकोपको तत्कालको उद्धारको कामलाई समाचारदाताले पछ्याउनुपर्छ । त्यसपछिको चरण भनेको दीर्घकालीन रुपमा पीडितलाई पुनःस्थापना गर्ने, राज्यले सहायता दिने र ती भत्किएका या क्षति पुगेका संरचनाको पुनर्निर्माणको काम गर्नेसम्म पर्दछ ।
यो चरणमा के–कति क्षति भयो, कस्तो असर गर्यो भन्ने विभिन्न खालका समाचार, विश्लेषण आउँछन् । त्यसैले यस्तो बेलामा सरकार र सम्बन्धित निकायलाई सही सुझाव दिएर पीडितलाई सहयोग पुर्याउने खालका समाचारहरू दिनुपर्दछ । प्रकोप र विपद्मा परेका नागरिकलाई उद्धारपछि राहतको कामका लागि रिपोर्टिङका माध्यमबाट सहयोग गर्नुपर्छ । यहाँनेर आइपुग्दा उद्धारको काम लगभग सकिएर राहत सुरु भएको हुन्छ ।
राहतको काममा सरकारको ध्यान नपुग्न पनि सक्ने भएकाले यस्तो अवस्था आउन नदिनका लागि समाचारले निगरानी गर्नुपर्छ । प्रकोपपीडित नागरिक कहाँ छन्, कस्तो अवस्थामा बसेका छन्, उनीहरूको भौतिक सम्पत्ति के–कति र कसरी गुमेको छ, परिवार गुमाएकाका लागि सरकारले तत्कालका लागि के गर्नसक्छ र गर्नुपर्छ भन्नेबारेमा निरन्तर रुपमा रिपोर्टिङ गर्नुपर्छ ।
परिवारका सदस्य गुमाउने, घरबास गुमाउनेजस्तो पीडामा नागरिक पर्ने भएकाले यस्तो अवस्थामा सरकार उनीहरूको साथमा पुगेको छ छैन, समुदाय या अन्य दातृ संस्थाको सहयोग प्राप्त भएको छ छैन भन्ने विषयमा ध्यान दिनुपर्छ । अब यहाँ तत्कालका लागि प्रदान गरिएको राहत नभएर दिगो तथा स्थायी पुनःस्थापनाका बारेमा पनि प्रेसले सरकार र अन्य सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु पर्दछ । रासस