नेभिगेशन
प्रदेश

त्रिशुली बाढीमा ८९८ जना सम्पर्कविहीन, ३६१ को जीवितै उद्धार

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण क्षतिग्रस्त भएका विभिन्न ११ वटा जलविद्युत् आयोजनाहरूमा कार्यरत कुल ८९८ जना व्यक्तिहरू हालसम्म सम्पर्कविहीन अवस्थामा छन् । 
१ हजारभन्दा वढी संख्यामा सम्पर्कविहिन भएकामध्ये केहीको भने उद्धार गरिएको छ । तथ्यांकअनुसार  नुवाकोट जिल्लाका बाढी प्रभावित आयोजनाहरूमध्ये माथिल्लो त्रिशूली–३बी जलविद्युत् आयोजनाबाट सबैभन्दा बढी उद्धार भएको छ । सो आयोजनाबाट ९१ जना व्यक्तिको जीवितै उद्धार गरिएको छ ।
अन्य उद्धार गरिएका आयोजनाहरूमा माथिल्लो त्रिशूली–१ बाट २५४ जना र लाङटाङ खोलाबाट १८ जना रहेका छन् ।
रसुवास्थित त्रिशूली ३ ’ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको जनाएको छ । सोही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ ।
टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो ।
सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि हिजो रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ । सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको छ ।
यसैबिच, उद्धार सहायताका लागि आएको भारतीय टोली हाल त्रिशूली पुगेको छ । भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकता अनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ ।
बाढीका कारण प्रभावित बनेको रसुवा स्थित माथिल्लो त्रिशूली ३ ’बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी राखेको जिकिर गरेको छ ।
अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको छ । सरकारको अनुमतिपश्चात् ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली मैदानमा खटिएको हो ।
चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गर्ने बताइएको छ ।
संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक ’रेकी’ (अनुगमन) गर्नेछ । प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ’स्ट्यान्डबाई’ अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइनेछ ।
सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण भए तापनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको एकीकृत प्रयासबाट फसेका श्रमिकहरूलाई सकुशल बाहिर निकाल्न हरसम्भव कोसिस भइरहेको जनाइएको छ । 
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का अनुसार २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत सबैभन्दा धेरै ५७६ जना मानिसहरू सम्पर्कविहीन भएका छन् ।
त्यसैंगरी १११ मेवागाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना मानिसहरू सम्पर्कविहीन छन् । २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ४२ जना मानिसहरू सम्पर्कविहीन रहेका छन् । २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनामा ८ जना मानिसहरू सम्पर्कविहीन छन् । ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनामा ७ जना मानिसहरू सम्पर्कविहीन छन् ।
यसैंगरी १२० मेगावाटको  रसुवा–भोटेकोशी जलविद्युत् आयोजनामा ४ जना मानिसहरू सम्पर्कविहीन भएका छन् । यसैंगरी नुवाकोटमा रहेको ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी आयोजनामा १२२ जना मानिसहरू सम्पर्कविहीन भएका छन् । ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए आयोजनामा ४२ जना मानिसहरू सम्पर्कविहीन छन् । 
त्यसैंगरी मिड्ल त्रिशूली गंगा आयोजनामा २ जना, त्रिशूली जलविद्युत् आयोजना र देवीघाट जलविद्युत् आयोजनामा १÷१ जना मानिसहरू सम्पर्कविहीन भएका छन् ।
उद्धार र टनेलमा फसेकाहरूमध्ये हालसम्म ३६१ जनाको जीवितै उद्धार गरिएको छ । जसमा माथिल्लो त्रिशूली–१ बाट २५४ जना, माथिल्लो त्रिशूली–३बी बाट ९१ जना र लाङटाङ खोला आयोजनाबाट १८ जना रहेका छन् । माथिल्लो त्रिशूली–१ को सुरुङ भित्र अझै पनि ३०० जना कामदारहरू फसिरहेका छन् ।
बाढीका कारण ११ जलविद्युत् आयोजनामा ठूलो क्षति भएको थियो ।  
बाढीले रसुवा र नुवाकोटका आयोजना क्षेत्रका पहुँचमार्ग, क्याम्प, सुरुङ प्रवेशद्वार तथा अन्य संरचनामा क्षति पु¥याएपछि उद्धार टोलीलाई घटनास्थलसम्म पुग्नसमेत कठिन भएको छ  । कतिपय स्थानमा सडक र पैदलमार्ग बाढी तथा पहिरोले बगाएकाले हेलिकप्टर तथा उत्खनन उपकरणको सहायतामा उद्धार अघि बढाउनुपर्ने अवस्था रहेको छ  ।
३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा कर्मचारी, निर्माण व्यवसायीका कामदार, परामर्शदाता, सुरक्षाकर्मी तथा इन्टर्नसहित २१३ जना सम्पर्कविहीन भएका थिए  । तीमध्ये ९१ जनाको सकुशल उद्धार भइसकेको छ  ।
आयोजनाको क्याम्प क्षेत्र बाढी र पहिरोको लेदोले पुरिएको तथा स्थलमार्ग अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको आयोजनाले जनाएको छ  । घटनास्थलसम्म पुग्न एक्साभेटरलगायत उत्खनन उपकरण पु¥याउनुपर्ने अवस्था आएको छ  ।
ऊर्जा मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद आयोजनाको साइटको रेकी, रेखाङ्कन तथा उद्धार कार्य अघि बढाइएको छ  । सुरुदेखि घटनास्थलको अवस्थाबारे जानकारी संकलनमा खटिएको टोली थप हेलिकप्टरबाट घटनास्थलतर्फ परिचालन गरिएको छ  ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले उद्धारका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ तथा माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाका कार्यकारी निर्देशक आनन्द ढुंगेलले आवश्यक समन्वय गरिरहेको बताएका छन्  ।
रसुवा जिल्लामा बाढीबाट प्रभावित आयोजनाको सूचीमा माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा–भोटेकोशी, माथिल्लो मेलुङ–ए, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला छन्  ।
यी आयोजनाको उत्पादन क्षमता जोड्दा ठूलो ऊर्जा पूर्वाधार प्रभावित भएको देखिएको छ  । २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी र १२० मेगावाटको रसुवा–भोटेकोशी मात्रै जोड्दा ४४७ मेगावाट पुग्छ  । त्यसबाहेक लाङटाङ खोला, चिलिमे, माथिल्लो मेलुङ–ए र मैलुङ खोला पनि बाढी प्रभावित सूचीमा छन्  ।
माथिल्लो त्रिशूली–१ र रसुवागढी जस्ता ठूला आयोजनामा मानवीय क्षति र संरचनागत जोखिमसँगै उत्पादन प्रणालीमा पर्न सक्ने असर पनि गम्भीर छ  ।
नुवाकोटतर्फ २४ मेगावाटको त्रिशूली, १४.१ मेगावाटको देवीघाट, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’, १५.६ मेगावाटको मिडल त्रिशूली गंगा र २५ मेगावाटको नुवाकोट सौर्य आयोजना क्षतिग्रस्त भएका छन्  ।
६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’को भूमिगत पावरहाउसमा मर्मतका क्रममा रहेका कर्मचारीलाई बाहिर निकाल्न केबल टनेलको प्रवेशद्वार खोल्नुपर्ने भएको छ  । बाढी र पहिरोले टनेलको मुख पुरिएपछि नेपाली सेना र प्राविधिक टोलीले उत्खनन उपकरण प्रयोग गरी बाटो खोल्ने प्रयास गरिरहेको छ  ।
ऊर्जा मन्त्रालयका अनुसार सुरक्षाकर्मीका लागि २०० थान हेडलाम्प र ९०० थान ब्याट्री उपलब्ध गराइएको छ  । यसबाट रातको समयमा समेत जोखिमयुक्त क्षेत्रमा खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ  ।
ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार प्रभावित जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा आवश्यक प्राविधिक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरिएको छ  ।
नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनःसुचारु भइसकेको मन्त्रालयले जनाएको छ  । रसुवाको धुन्चेमा भने विद्युत् लाइन सञ्चालनका लागि काम भइरहेको छ  ।
यसै क्रममा रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारी भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीको प्रतिकूल मौसमका बीच सकुशल उद्धार गरिएको मन्त्रालयले जनाएको छ   ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्