नेभिगेशन
राजनीति

‘फोकटको सल्लाह’ प-यो सचिवलाई भारी

काठमाडौं । बाढीमा परी मारिएकाको शवको अस्थायी व्यवस्थापन गर्न थालेको सरकारलाई सामाजिक सञ्जालमा ‘फोकटको सुझाव’ दिएको भोलिपल्टै कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौला सरुवा भएका छन् । विपद्का बेला शव व्यवस्थापन कसरी गर्ने भन्नेबारे सुझाव दिएका उनलाई सरकारले रसुवाको बाढी प्रभावित क्षेत्रमा रहेका शव व्यवस्थापन गर्ने जिम्मेवारीमा सरुवा गरेको हो ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको निर्णयले उनलाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको काममा खटाइएको हो । उनको तलब तथा भत्ता भने कोशी प्रदेशबाटै भुक्तानी हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि काजमा खटाइएको मन्त्रालयको पत्रमा उल्लेख छ ।
निरौलाले फेसबुकमा विपद्का बेला शव व्यवस्थापनसम्बन्धी आफ्नै अनुभव र सुझाव सार्वजनिक गरेका थिए । उनले कोभिड–१९ महामारीका बेला आफू मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा शव व्यवस्थापनमा देखिएका चुनौतीबारे उल्लेख गर्दै विपद्मा पनि मृतकको धर्म, संस्कार, परम्परा र परिवारको भावनालाई ध्यान दिनुपर्ने भन्दै सरकारलाई सुझाव दिएका थिए । 
चितवनमा हतारमा शव गाडिएको समाचार सुनेपछि आफूलाई ‘फोकटको सल्लाह दिन मन लागेको’ भन्दै उनले फेसबुकमा लेखेका थिए । 
उनले बाढीमा आफन्त गुमाएका वा बेपत्ता भएका परिवारले आफ्ना प्रियजनको सास वा शव खोज्दै रसुवादेखि गण्डक ब्यारेजसम्म पुग्न सक्ने भन्दै शव व्यवस्थापनमा संवेदनशीलता अपनाउन आग्रह गरेको भोलिपल्टै सरुवा भएको हो । विपद्का बेला बाठो भएर सरकारलाई सुझाव दिएको भन्दै आलोचनाका कमेन्ट आउन थालेपछि निरौलाले आफ्नो उक्त पोस्ट फेसबुक स्टाटस भने हटाइसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्