नेभिगेशन
राजनीति

उद्धार तीव्र बनाउन कांग्रेसको माग

काठमाडौं । कांग्रेसले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले बाढी प्रभावित नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको हो । 
बैठकमा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिका संयोजक मोहन आचार्य, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सहमहामन्त्री बहादुरसिंह लामा, नेता जगदीश्वरनरसिंह केसी तथा नुवाकोटका पार्टी सभापति रमेश महतले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी गराएका थिए । समितिका सदस्यसचिव मानबहादुर थापाले कांग्रेसका तर्फबाट भइरहेको समन्वय, सहजीकरण र आगामी तयारीबारे बैठकलाई जानकारी गराएका थिए ।
बैठकले बाढीबाट हराएका व्यक्तिको खोजी, जोखिममा रहेकाको शीघ्र उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत वितरणलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ । 
‘सुरुङमा फसेकाको उद्धार छिटो गरौं’
कांग्रेसले विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारमा देखिएको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । कतिपय परिवारले आफ्ना आफन्त जीवित छन् कि छैनन् भन्ने समेत थाहा नपाएको भन्दै कांग्रेसले यस्तो अवस्थामा उद्धारको प्रत्येक मिनेट महŒवपूर्ण हुने जनाएको छ ।
सरकारले आवश्यक उपकरण, दक्ष जनशक्ति र प्रविधि तत्काल परिचालन गर्नुपर्ने तथा हवाई उद्धारलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरेको छ । रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न, आवश्यक परे मित्रराष्ट्रबाट दक्ष उद्धार टोली र प्रविधि ल्याउन तथा हेलिकोप्टर भाडामा लिएर भए पनि शीघ्र उद्धारको विशेष व्यवस्था गर्न कांग्रेसले आग्रह गरेको छ । कांग्रेसले यस्तो संवेदनशील अवस्थामा सरकारले प्रतिरक्षात्मक प्रचारभन्दा परिणाममुखी काममा ध्यान दिनुपर्ने बताएको छ ।
सभापति थापा सोमबार आफै विपद्ग्रस्त क्षेत्रको स्थलगत निरीक्षणमा जाँदैछन् । 
सडक, विद्युत् र सञ्चार तत्काल सञ्चालन गर्न माग
बाढीबाट अवरुद्ध सडकमा वैकल्पिक यातायातको व्यवस्था गर्न तथा विद्युत् र सञ्चार सेवा तत्काल सञ्चालन गर्ने वातावरण बनाउन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । रसुवा, नुवाकोट र धादिङका अवरुद्ध सडक खुलाउन संघीय सरकारका सम्बन्धित निकायलाई आ–आफ्नो जिम्मेवारीअनुसार तत्काल परिचालन गर्न तथा क्षतिग्रस्त पुलमा वैकल्पिक व्यवस्था गरी आवागमन सञ्चालन गर्न कांग्रेसले आग्रह गरेको छ ।

‘शव व्यवस्थापनमा संवेदनशील बनौं’ 
बाढीले बगाएका शव यत्रतत्र रहेको भन्दै कांग्रेसले थप स्वास्थ्य तथा मानवीय जटिलता उत्पन्न हुन नदिन विशेष प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गर्न आग्रह गरेको छ । शवको विवरण सुरक्षित राख्ने, केही समय संरक्षण गरी परिवारलाई सनाखतको अवसर दिने र मृतकका परिवारलाई आफ्नो संस्कृति र परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने कांग्रेसको माग छ ।
पार्टीका सबै संरचना परिचालन गर्ने
कांग्रेसले बाढी प्रभावित जिल्लाका पार्टी नेतृत्व, सदस्य, जिल्ला सम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थालाई हराइरहेका नागरिकको खोजी, प्रभावित परिवारको स्थानान्तरण र राहत वितरणमा परिचालन हुन निर्देशन दिएको छ । स्थानीय तह र विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय तथा सहकार्य गरी व्यवस्थित रूपमा राहत तथा उद्धारमा जुट्न पार्टी संरचनालाई आग्रह गरिएको छ ।
प्रभावित परिवारको विवरण तयार गर्न निर्देशन
सांसद मोहन आचार्यको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिलाई प्रभावित क्षेत्रका प्रत्येक गाउँपालिका र नगरपालिकाका वडासम्म सम्पर्क गरी प्रभावित परिवारको विवरण तयार गर्न पार्टीले निर्देशन दिएको छ ।  समितिले प्रभावित परिवारको समस्या तथा आवश्यकता पहिचान गरी कांग्रेसले गर्नुपर्ने समन्वय, सहजीकरण र सहयोगका विषयमा पार्टीलाई सिफारिस गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्