काठमाडौं । एमालेले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले तत्काल गर्नुपर्ने ८ वटा काम अघि सारेको छ । बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले प्रतिवेदन आइतबार अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको हो । गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका विभिन्न बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । बाढीका कारण रसुवागढी, टिमुरे, स्याफ्रुवेंसी, मैलुङ, वेत्रावती, त्रिशूली, ढुंगे र देवीघाटलगायत क्षेत्र प्रभावित भएका छन् ।
गत बिहीबार बाढी प्रभावित क्षेत्रको निरीक्षण टोलीमा विष्णु रिमाल, राजन भट्टराई, कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई, पार्वत गुरुङ, विनोद श्रेष्ठ, निरज आचार्य लगायत नेता सहभागी थिए । निरीक्षणका क्रममा टोलीले विदुर नगरपालिकास्थित बाढीबाट प्रभावित ढुंगे बजार क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै स्थानीय अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । टोलीले देवीघाट बजार क्षेत्रको बाढी प्रभावित अवस्थाको समेत निरीक्षण गरेको थियो ।
महासचिव पोखरेलले रसुवा जिल्लामा बाढीबाट प्रभावित क्षेत्रको अवस्था र आवश्यक उद्धार तथा राहतका विषयमा सम्बन्धित व्यक्तिहरूसँग जानकारी लिएका थिए । स्थलगत निरीक्षण र प्राप्त जानकारीका आधारमा एमालेले ‘राहत÷उद्धारसम्बन्धी सुझाव प्रतिवेदन’ तयार पारेको जनाएको छ । उक्त प्रतिवेदनमा सरकारले तत्काल गर्नुपर्ने ८ वटा काम औंल्याइएको छ ।
एमालेले तीनवटै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई समेटेर तत्काल एकीकृत ‘कमान्ड पोस्ट’ निर्माण गर्न एमालेले सुझाव दिएको छ । त्यस्तै, मुख्य सडक सञ्चालनमा नआएसम्म तुइन, फलामे डोरी तथा साना अस्थायी पुललगायत वैकल्पिक माध्यम प्रयोग गरेर जोखिममा रहेका क्षेत्रमा खानेपानी, औषधि र खाद्यान्न पु¥याउनुपर्ने एमालेको सुझाव छ । स्थलमार्ग खुलाउन निजी क्षेत्रका ठूला हेभी इक्युपमेन्टसमेत परिचालन गरी युद्धस्तरमा काम गर्न तथा नदी र ठूला खोलामा तत्काल बेलिब्रिज जडान गर्न एमालेले आग्रह गरेको छ । टोखा, शिवपुरी, लिखु, तादी, सूर्यगढी, सरनथली हुँदै नौकुण्ड–कालिका–धुन्चे सडक मर्मत गरी शीघ्र सञ्चालनमा ल्याउन सुझाव दिइएको छ । साथै, लिखु–सूर्यगढी हुँदै जाने सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्नुपर्ने एमालेको भनाइ छ ।
धादिङबाट मध्यपहाडी राजमार्ग हुँदै किस्पाङ र तारकेश्वर भएर रसुवा जाने सडक मर्मत गरी शीघ्र सञ्चालनमा ल्याउन सुझाव दिइएको छ । बाढी प्रभावित क्षेत्रमा भग्नावशेष तथा दलदलमा दबिएका शवको खोजी कार्यलाई तीव्रता दिन थप जनशक्ति र आधुनिक उपकरण परिचालन गर्नुपर्ने एमालेले जनाएको छ । साथै, जलविद्युत् आयोजनाका सुरुङमा फसेका स्वदेशी तथा विदेशी कामदारको शीघ्र उद्धार गर्न पनि आग्रह गरिएको छ । राहत तथा उद्धार कार्यमा सुरक्षा निकायसँगै कामको प्रकृति र आवश्यकताअनुसार नागरिकस्तरका स्वयंसेवकलाई समेत तत्काल परिचालन गर्नुपर्ने सुझाव छ ।