नेभिगेशन
नेपाल

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

काठमाडौँ, २ असोज - नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ ।

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री मोदीलाई ७५औँ जन्मदिनको शुभकामना दिँदै नेपाल–भारतबीचको ऐतिहासिक, घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको स्मरण गरिन् । उनले नेपालको पछिल्लो राजनीतिक परिस्थिति र सरकारको प्राथमिकताबारे पनि जानकारी गराइन् ।

यस अवसरमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीलाई पदभार ग्रहण गरेकोमा बधाई दिँदै भारत सदैव नेपालप्रति नजिकको छिमेकीका रूपमा साथ र सहयोग गर्न तयार रहने उल्लेख गरे । उनले हालै नेपालमा भएका विरोध प्रदर्शनमा ज्यान गुमाएकाप्रति संवेदना प्रकट गर्दै शान्ति, स्थिरता र समृद्धिका यात्रामा भारत निरन्तर साथमा रहने बताए ।

प्रधानमन्त्री कार्कीले भारतले देखाएको समर्थनप्रति आभार प्रकट गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरिन् । मोदीले नेपालको आगामी राष्ट्रिय दिवसमा शुभकामना दिँदै निरन्तर सम्पर्कमा रहने सहमति जनाए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्