नेभिगेशन
राजनीति

एमालेद्वारा सचिव बस्नेतको सं‌योजकत्वमा राहत, उद्धार र पुनर्निर्माण समिति गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि केन्द्रीय राहत, उद्धार तथा पुनःनिर्माण सहयोग समिति गठन गरेको छ ।
एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीका केन्द्रीय सचिव एवं बागमती प्रदेशका सचिव महेश बस्नेतको संयोजकत्वमा ४० सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रभावित जिल्लाका पार्टी नेतृत्व र भातृ सङ्गठनका प्रमुख राखिएको छ । समितिअन्तर्गत विभिन्न कार्यक्षेत्र निर्धारण गरी जिम्मेवारीे बाँडफाँट गरिएको छ ।
कार्यविभाजनअनुसार समितिका टोली यही भदौ १६ गते रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा प्रस्थान गर्ने जनाइएको छ । टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्नुका साथै राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग र समन्वय गर्नेछ ।
यसअघि एमालेका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा गएको टोलीले बाढी प्रभावित नुवाकोटलगायत क्षेत्रमा स्थलगत अध्ययन गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा उल्लेखित सुझावका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज समिति गठन गरी कार्यविभाजनसहित जिम्मेवारी तोकेको एमालेले जनाएको छ ।
यसैबीच एमालेको तेस्रो केन्द्रीय कमिटीको बैठक आगामी असोज ५, ६ र ७ गते काठमाडौँमा बस्ने तय भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यले बैठकको मिति तय भएको जानकारी दिए । उनका अनुसार बैठकमा विपद्पछिको अवस्था, समसामयिक राजनीतिक विषय, पार्टीको साङ्गठनिक अवस्था तथा आगामी कार्यदिशालगायत विषयमा छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्