नेभिगेशन
प्रदेश

रसुवा बाढीः बेत्रावतीको एकै घरभित्र २३ शव फेला, तीर्थयात्रीको हुनसक्ने प्रहरी अनुमान

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा भोटेकोसी बाढीले पुरिएको एउटै घरबाट २३ जनाका शव फेला परेका छन् ।
मंगलबार खोज तथा उद्धारका क्रममा घरको एउटै कोठाबाट २१ जना र घरको बाहिरी भागबाट थप दुई जनाको शव फेला परेको उद्धारमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार गत बुधबार भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले पुरिएको तीनतले घरको माथिल्लो तलाको कोठामा शवहरू फेला परेका हुन्। बाढीबाट जोगिन घरको माथिल्लो तलामा पुगेका व्यक्तिहरू नै बाढीको चपेटामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
फेला परेका शवहरूको भने अहिलेसम्म पहिचान हुन सकेको छैन। प्रहरीले उनीहरू तीर्थयात्री हुनसक्ने अनुमान गरेको छ ।
उनका अनुसार बाढीको पानी बढ्दै गएपछि उनीहरू ज्यान जोगाउन घरको माथिल्लो तलामा पुगेको जस्तो देखिएको छ। तर बाढीको तीव्र बहावका कारण उनीहरू त्यहीँ पुरिएको हुनसक्ने उनले बताए ।
‘छतभन्दा मुनिको कोठामा शवहरू भेटिएका छन्। एकजना महिलाले सानो बालिकालाई अँगालोमा च्यापेकै अवस्थामा शव भेटिएको छ,’ उनले भने, ‘उनीहरू आमाछोरी हुनसक्छन्। बाढीबाट जोगिन भागेर एकै ठाउँमा जम्मा भएको समयमा सबैलाई बाढीले पुरेको जस्तो देखिन्छ।’
उद्धार टोलीले घरबाट २३ वटा शव निकालिसकेको छ। तीमध्ये आठ वटा शव सोमबार साँझ त्रिशूली अस्पतालमा लगिएको उनले जानकारी दिए ।
बाँकी शवहरू भने हालसम्म घरकै छतमा राखिएको उनले बताए। शवहरूको पहिचान तथा घटनाको थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोटसहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्