नेभिगेशन
मनोरञ्जन

जीवित संग्रहालयको बढ्दो लोकप्रियता

इतिहास एवं संस्कृतिविद् प्राडा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुर खुला आकाशमुनिको संग्रहालय हो । कसैले जीवित संग्रहालय भन्छन् भने कसैले जीवित किताब । यसबाहेक इतिहासविद् जगदीशशमशेर राणाले भक्तपुरलाई नाचगानको सहर भन्ने गरेका थिए ।

जसले जे भने पनि भक्तपुर कलाकार नै कलाकारको नगर हो । रात्रिकालीन जीवन्त सांस्कृतिक प्रदर्शनी गर्ने ठाउँ पनि हो यो । कतिलाई यो कुरा थाहा नहुन सक्छ, तर भक्तपुरमा हरेक वर्ष गुन्हिपुन्ही (जनैपूर्णिमा) का अवसरमा आठ रात नौ दिनसम्म यी सबै विषयवस्तु हेर्न सकिन्छ, त्यो पनि बिना शुल्क । गाईजात्राको चौथो दिनदेखि भक्तपुर नगरमा बाटो–बाटोमा प्रत्यक्ष सांस्कृतिक कार्यक्रम हुने गर्दछ । यसमा नाचअनुसार बाजागाजा, गीत तथा कलाकारले प्रत्यक्ष प्रस्तुति दिने गर्छन् । यसलाई आधुनिक चलनचल्तीको भाषामा ‘लाइभ कन्सर्ट’ पनि भन्न सकिन्छ ।

यसबेला भक्तपुरमा साँझ विभिन्न खालका नाच टोलटोलमा हुन्छन् । फाकन्दली प्याखं, गाइचा प्याखँ, माक प्याखं, नागाँचा प्याखं, लाखे प्याखं, देवी नाच, भैरव नाच, कवांचा प्याखं, लुसिचा प्याखं, जङ्गली प्याखं, खिचा प्याखं, ख्या प्याखं, मयुर प्याखंलगायतका नाच प्रदर्शन गर्ने प्रचलन रहेको छ । नेपाल भाषामा प्याखं भनेको नाच हो । साथै ख्याल अर्थात् नाटक पनि टोलटोलमा देखाइन्छ ।

विभिन्न समसामयिक विषयमा नेपाल भाषामा ख्याल प्रहसन पनि देखाइन्छ । यी सबै नाचमा परम्परागत पोसाक लगाउने गरिन्छ । यस बेला प्रायः नाचमा नाचअनुसारको मुकुन्डो लगाएर नाच्ने गरिन्छ । यसमा पाँच वर्षको बच्चादेखि ७० वर्षको वृद्धसम्मले भाग लिएका हुन्छन् । एउटा नाच कम्तीमा पाँचदेखि सात मिनेटको हुने गर्दछ ।

यी नाच टोलटोलबाट प्रदर्शनीका लागि ल्याइन्छन् । भक्तपुर नगरभरिका विभिन्न टोलमा प्रदर्शन गरिन्छ । त्यसैले एक दिन हेर्न बिर्से पनि भोलिपल्ट अर्को टोलमा गएर त्यही नाच हेर्न सकिन्छ । जुन टोलको नाच हो, त्यो नाच दैनिक फरक–फरक ठाउँमा देखाउँदै पूरै नगरभरि प्रदर्शन गर्नुपर्छ । यही कारण दैनिक एउटै ठाउँमा बसेर हेर्ने हो भने गाईजात्राभरिमा सबै नाच हेर्न सकिन्छ । प्रत्येक ठाउँमा दैनिक फरक–फरक टोलीले नाच देखाएको हुन्छ ।

भक्तपुरका स्थानीय बासिन्दा तथा बुढापाकाका अनुसार भक्तपुरमा रात्रिकालीन सांस्कृतिक प्रदर्शनी धेरै वर्ष पहिलेदेखि नै चल्दै आएको हो । पहिला हरेक टोलटोलमा सांस्कृतिक प्रदर्शनी गरिन्थ्यो । तर अहिले भने टोलटोलमा साथै मञ्च बनाएर भक्तपुरका विभिन्न ठाउँमा देखाइने गरिन्छ । यसबाहेक पनि भक्तपुर नगरका सार्वजनिक पाटीपौवामा वर्षभरि नै रात्रिकालीन भजन तथा सांस्कृतिक कार्यक्रम हुने गरेका छन् ।

गत वर्ष भक्तपुरको दत्तात्रय, नासमना र भुलाछेंमा भएको थियो भने यस वर्ष भक्तपुर नगरपालिका–९ सूर्यमढी, वडा नं. ६ चोछें र वडा नं. ४ नासमनामा प्रदर्शनी हुने बताइएको छ । भक्तपुर नगरपालिका–७ इनाचोकी स्थानीय प्रविना बनमालाका अनुसार यो गुन्हिपुन्ही (जनैपूर्णिमा) को चौथो दिनदेखि कृष्णअष्टमीसम्म हुने गर्छ । यसपालि भदौ १५ गतेदेखि १९ गतेसम्म हुने उनले बताइन् ।

कतिपयले अहिले पनि भक्तपुरमा यसरी रात्रिकालीन सांस्कृतिक प्रदर्शनी हुन्छ भन्ने थाहा नपाएको बनमाला बताउँछिन् । ‘भक्तपुरको गाईजात्रा एक दिन होइन, बरु आठ रात नौ दिन हुने गर्दछ,’ उनले भनिन् । गाईजात्राको प्रमुख दिन यहाँ दिनभरि जात्रा वा नाच हुने भए पनि अन्य दिन भने साँझको समयमा मात्रै हुन्छ । यो सांस्कृतिक कार्यक्रम साँझ ५ बजेदेखि राति १२ बजेसम्म हुने गर्दछ ।

तृतियाको दिनदेखि भक्तपुरमा रात्रिकालीन सांस्कृतिक मेला लाग्ने गर्छ । भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वका अनुसार यस मेलामा कुनै पनि शुल्क लाग्दैन । यो एक ठाउँमा मात्र नभई टोलटोलमा हुने गर्छ । साथै, एकै दिन विभिन्न ठाउँमा खुला रूपमा नाच हेर्न सकिन्छ । सबै दर्शकको सुविधाका लागि नाचहरू डबली–डबलीमा देखाउने गरिन्छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार भक्तपुरका यस्ता मौलिक नाचलाई नगरपालिकाले जगेर्ना गर्दै आएको छ । यही कारण नाचलाई जीवन्त बनाउन उत्कृष्ट नाचलाई नगरपालिकाले नगदसहित पुरस्कृत गर्दै आएको छ ।

सांस्कृतिक परम्परालाई जोगाउन भन्दै २०७४ सालदेखि भक्तपुर नगरपालिकाले ‘धे धे बाला कासा’ (सांस्कृतिक प्रतियोगिता) गर्दै आएको जानकारी प्रजापतिले दिए । यसका लागि नगरका ठाउँ–ठाउँमा मञ्च राखेर नाच देखाउने र त्यसको मूल्यांकन गर्ने गरिएको उनले बताए । पछि विश्व पर्यटन दिवसका अवसरमा उनीहरूलाई नगदसहित सम्मान तथा पुरस्कार वितरण गर्दै आएको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्