नेभिगेशन
प्रदेश

बाढीपछि सम्पर्कविहीनका परिवार: न चुल्हो बल्छ, न आँखा ओभाउँछन्

महोत्तरी बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन। उनी छिनछिनमा मोबाइलको स्क्रिनमा आँखा डुलाइरहन्छिन्। रसुवामा बाढी आएको एक साता बितिसक्दा पनि छोरासँग सम्पर्क हुन नसक्दा उनको घरमा चुल्हो बलेको छैन, न त कसैका आँखा नै ओभाएका छन्।
अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत उनका छोरा सौभाग्य बिष्ट भोटेकोशीको बाढीपछि सम्पर्कविहीन छन्। “बाबुले 'मामु म ठिकै छु' भनेर फोन गरिहाल्छ कि भनेर एकछिन पनि मोबाइल छाडेकी छैन,” सरिता भक्कानिँदै भन्छिन्, “अहिले सौभाग्यबाहेक मनमा अरू केही आउँदैन।”
गत भदौ १० गते बिहान ९ बजे सौभाग्यसँग अन्तिमपटक कुरा भएको थियो। बाढीको खबर आउनासाथ सम्पर्क गर्न खोजे पनि त्यसयता उनको फोन लागेको छैन। सौभाग्यको खोजीमा उनका बुबा धु्रव बिष्ट र आफन्तहरू अहिले रसुवा पुगेका छन्। “एकचोटि त भन्दियोस्– मामु म फसेको थिएँ, अब निस्किएँ। सौभाग्यको यही आवाज सुन्ने आशमा छु,” सरिताले भनिन्। सामान्य आर्थिक अवस्थाको बिष्ट परिवार मेकानिकल इन्जिनियर सौभाग्यकै कमाइमा चलेको थियो।
बर्दिबास–९ गोमस्ता टोलका खिलबहादुर राना मगरको परिवारमा पनि उस्तै सन्नाटा छ। अपर त्रिशूली–१ मै कार्यरत छोरी जोया राना भदौ १० गते बिहानदेखि सम्पर्कविहीन छिन्। “सन्तानका नाममा तीन छोरी छन्। अलि पढेलेखेकी भएर जोयाकै भरमा परिवार चलेको थियो,” खिलबहादुरले बलिन्द्र धारा आँसु ढाल्दै भने, “जसमाथि जिन्दगी सुम्पेको थिएँ, उही सम्पर्कविहीन भई।”
 
आफैँले हेलिकप्टर भाडामा लिएर रसुवा र नुवाकोटको त्रिशूली किनारमा धेरैपटक चक्कर लगाए पनि छोरीको अत्तोपत्तो नपाएको उनले बताए।
मटिहानी–७ का ४० वर्षीय गङ्गाराम मण्डलको घरमा आमा, पत्नी र चार छोराछोरी उनको एक फोनको पर्खाइमा छन्। काठमाडौँको रिचा टुर्स कम्पनीमा भान्सेका रूपमा कार्यरत मण्डल भदौ ९ गते पाहुना लिएर रसुवा गएका थिए।
“भदौ ९ गते गोसाइँकुण्ड जाँदैछु भनेर फोन गर्नुभएको थियो, त्यसपछि सम्पर्क भएको छैन,” पत्नी गुञ्जा मण्डलले भनिन्। परिवारका मुख्य सहारा नै हराएपछि सिङ्गो घरमा छटपटी बढेको छ।
त्यस्तै, जलेश्वर–७ का हशन अन्सारी पनि भदौ १० गते बिहान ९ बजेदेखि बेपत्ता छन्। रसुवाको एक जलविद्युत् आयोजनामा मेकानिकको काम गर्ने उनले अन्तिमपटक भदौ ९ गते आमा मुलिमा खातुनलाई फोन गरेका थिए। केही दिनभित्रै सातादिनको बिदामा घर आउने बताएका छोराको फोन पर्खिरहेका बुबा माजिद अन्सारी भन्छन्, “दैनिक फोन गर्थ्यो, भदौ १० पछि फोन आएको छैन। घरमा चुल्हो बलेको छैन, आफन्तहरू सबै आँखा रसाएर बसिरहेका छन्।”
१३ जना अझै अज्ञात
भोटेकोशीको बाढीपछि रसुवा र नुवाकोटमा सम्पर्कमा आएका १८ जनालाई सुरक्षित रूपमा घर पठाइसकिएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सम्पर्कविहीन भनिएका १९ जनामध्ये ६ जना पारिवारिक सम्पर्कमा आइसकेका छन्।
“अब महोत्तरीका १३ जना सम्पर्कविहीन हुनुहुन्छ, उहाँहरूको खोजी र सम्पर्कको प्रयास निरन्तर भइरहेको छ,” प्रजिअ यादवले भने, “सबै सकुशल भेटिने आशा गरौँ।” रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्