नेभिगेशन
नेपाल

तारे होटलमा ‘कोदोको सेल’

काठमाडौं । तारे होटलमा नास्तासँगै बारा, अमलेट, जेरीजस्ता परिकार लाइभ–किचनमार्फत प्रस्तुत गर्ने चलन पुरानै हो । कोदोका परिकारलाई उच्च महत्वसहित पस्केका उदाहरण भने दुर्लभ छन् । पछिल्लो समय कोदो, फापरजस्ता रैथाने अन्नले चर्चा पाइरहँदा बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टले बिहानीको नास्तामा कोदोका परिकार लाइभ–किचनमार्फत प्रस्तुत गरेको छ ।

पाँचतारे होटलको दर्जामा रहेको उक्त रिसोर्टले गत शनिबार प्रस्तुत गरेका दर्जनौ परिकारमध्ये कोदोको सेलरोटी विशेष चर्चामा रह्यो । ग्राहककै अगाडि तयार बासनादार सेलरोटीले नेपाली मात्र नभई विदेशी पाहुनाको पनि मुख रसाएको थियो । रिसोर्टको डाइनिङ हल नै सेलरोटीको बासनाले भरिएपछि विदेशी पाहुनाले यसबारे विशेष चासो राखेका थिए । कोदोको सेलरोटी नौलो लागेर सोधपुछ गरेका उनीहरूले पछि भने रोटी थपी–थपी खाए । रिसोर्टमा रहेका कतिपय नेपाली पाहुनाले भने सेलरोटी प्याक गरेरै घर लान इच्छा देखाएका थिए । 

नेपाली परिकारको छुट्टै लाइभ–किचन रहेको स्टलमा कोदोको सेलरोटीका अतिरिक्त कोदोको मफिन, कोदोको प्यानकेक, शेर्पा समुदायमा प्रचलित रिकीकुर र पानको लड्डु प्रस्तुत गरिएको थियो । नेपाली खाना प्रवर्धन अभियानअन्तर्गत भोजनलिपि स्वादले उक्त परिकार पस्केको हो । नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने लक्ष्यसहित खाना अनुसन्धानमा सक्रिय सेफ घनश्याम कँडेल नेतृत्वको टोलीले यसलाई मूर्तरूप दिएको हो । उनको टोलीमा सेफ इङ्वा सुब्बा, मानबहादुर तामाङ र संगम मोक्तानले सघाएका थिए ।  विदेशी पाहुना बस्ने ठूला तारे होटलमा नेपाली मौलिक खानाको छुट्टै किचन र परिकारको व्यवस्था अनिवार्य गर्नसके नेपाली खानाको प्रवर्धन छिटो हुने यस क्षेत्रका जानकारहरू बताउँछन् ।

  • मौलिक परिकार प्रवर्धनका लागि नेपाली किचन आवश्यक 
  • रैथाने खानाको संरक्षण र व्यवसायिकता जोड्न होटल संघको चासो 

होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह रैथाने खाना संरक्षण र प्रवर्धन सबैको साझा दायित्व भएको बताउँछन् । ‘नेपाली रैथाने खाना संरक्षण र प्रवर्धनसँगै यसको व्यवसायिकतालाई पनि जोड्नुपर्छ,’ उनले भने, ‘नेपाली खानाको धेरै माग छ । ठूला तारे होटलमा नेपाली मेन्यू आवश्यक छ ।’

उनका अनुसार हानको ६०औं वर्षगाँठको उपलक्ष्यमा ६० प्रकारका रैथाने खानाको परिकारसम्बन्धी पुस्तक प्रकाशनको तयारीमा छ । नेपाली पर्यटकको चहलपहल बढी हुने ठाउँ र विदेशी पर्यटक बस्ने तारे होटलमा अभियान केन्द्रित गर्ने योजना रहेको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए । ‘नेपालीलाई नेपाली खानाबारे बुझाउने र सँगसँगै  विदेशी पाहुना लक्षित कार्यक्रम बढाउने हो,’ संयोजक सापकोटाले भने । सेफ कँडेलले नेपाली खानालाई प्रवर्धन गर्न पाँचतारे होटलमा नेपाली किचन अनिवार्य राख्नुपर्ने आवश्यकता औंल्याए । विदेशीले नेपालमा नेपाली परिकार खान सक्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नेपाली खाना स्वस्थकर र पोसिला भएकाले मेनुमा यसलाई समावेश गर्नुपर्नेमा जोड दिए । ‘यसको प्रचार प्रसारमा केही समय लाग्छ । तर, विस्तारै कोदो फापर सिस्नोजस्ता परिकारलाई कलात्मक ढंगले प्रस्तुत गर्नसके सबै होटल रेस्टुराँमा विदेशी पर्यटकले खाना खाने अवस्था आउँछ,’ उनले भने ।

अभियानले यसअघि विभिन्न रेस्टुराँमार्फत नेपाली खानाको प्रवर्धनात्मक कार्यक्रम भोजनलिपि स्वादका पाँच संस्करण सम्पन्न गरिसकेको छ । यस क्रममा ४० भन्दा बढी जिल्लामा उत्पादित कृषि उपजमा आधारित परिकार तयार पारिएको अभियानका संयोजक सापकोटाले जानकारी दिए । - रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्