नेभिगेशन
प्रदेश

जेनजी आन्दोलनमा पर्सामा अर्बाैंको क्षति

वीरगञ्ज, २ असोज - जेनजी आन्दोलनमा पर्सामा मात्रै अर्बाैंको क्षति भएको छ । भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड तथा लुटपाटका कारण जिल्लामा क्षति भएको हो ।

पर्सामा सरकारी कार्यालय, पार्टी कार्यालय, मन्त्री तथा नेताहरूको निजी घर तथा सवारीसाधन गरी एक अर्ब भन्दा बढी नोक्सानी भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । हालसम्म तयार गरिएको क्षति विवरणअनुसार पर्सामा पूर्व मन्त्रीहरू राजकुमार गुप्ता, अजयकुमार चौरसियाको घर पूर्ण रुपमा क्षति भएको छ भने वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह, पूर्वमन्त्री प्रदीप यादव, संविधानसभा सदस्य तथा व्यापारी अनिल रुंगटा, पूर्वमुख्यमन्त्री लालबाबु राउत र जिराभवानी गाउँपालिकाका अध्यक्ष अनुप तिवारीको घरमा आंशिक क्षति भएको छ ।

यस्तै, कांग्रेस र एमालेको पार्टी कार्यालयसमेत पूर्णरूपमा क्षति भएको छ भने मधेश प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षेत्रीको घरमा समेत तोडफोड भएको छ । जिल्लाको सरकारी भवनहरूमा आन्तरिक राजस्व कार्यालय, नेपाल टेलिकम, वीरगञ्ज महानगरपालिका कार्यालय, वडा नम्बर १०, १४, २६, वीरगञ्ज कारगार कार्यालय, बाल सुधार गृह, जिराभवानी गाउँपालिका कार्यालय, पोखरिया नगरपालिका कार्यालय, उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा क्षति पुर्‍याएको जनाएको छ । 

नेपाल टेलिकम वीरगञ्जले करिब ३ करोडको क्षति भएको जनाएको छ भने वीरगञ्ज महानगरपालिकाले एक सूचना जारी गर्दै कार्यालयमा मात्रै १ अर्ब ११ करोड बराबरको क्षति भएको जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताए । उनले क्षति भएका विभिन्न कार्यालयहरूबाट र बीमा कम्पनीहरूबाट आउने विवरणको आधारमा जिल्लामा वास्तविक क्षतिको कति भएको भन्न सकिने बताए ।

प्रजिअ सुवेदीले अहिलेको विषम परिस्थितिमा ढुक्क हुनसक्ने अवस्था नरहेको हुँदा स्थानीय प्रशासन चनाखो भएर शान्ति सुरक्षाका कार्य गरिरहेको बताए । स्थिति सामान्य बन्दै गएपछि जिल्लामा कर्फ्यु आदेश हटाइएको छ । उनले हाल मुलुकका विभिन्न कारगारहरूबाट फरार भएका कैदीहरू वीरगञ्जको नाकाहरू समेत फेला परेको र उनीहरूलाई वीरगञ्ज कारगारमा राखिएको बताए ।

यता प्रदर्शनका कारण ९ वटा प्रहरी बिटमा क्षति पुगेको छ भने करिब १५ जना सुरक्षाकर्मी घाइते भएको र सबैको अवस्था सामाान्य रहेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

आन्दोलनका क्रममा मुलुकभर १८ हजार कैदीबन्दीहरू कारगार तोडेर फरार भइरहँदा पर्सामा भने सुरक्षाकर्मीको सक्रियताले कैदीहरू भाग्न असफल भए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अथक प्रयासका कारण कारगार तोडन सफल भए पनि कैदीबन्दीहरू भाग्न सकेनन् । तर बाल सुधार गृहबाट फरार भएका १ सय ४६ जनामध्ये ८८ जनालाई नियन्त्रणमा लिएको र अन्यको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्