बाजुरा । वीरेखोलामा भीषण बाढी आउँदा २३ परिवार विस्थापित भएका छन् । गएरातिदेखि अविरल वर्षासँगै वीरेखोलामा ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका हुन् ।
वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरेखोलामा ठूलो बाढी आएको स्थानीय लालसिंह साउदले बताए । “गएराति करिब ८ः०० बजे अविरल वर्षापछि वीरेखोलामा एक्कासी ठूलो बाढी आयो । त्यसपछि घरबाहिर निस्क्यौँ, अहिलेसम्म न खाना छ, न त बास”, उनले भने ।
बाढीले मानवीय एवं भौतिक क्षति नगरे पनि गाउँको बीचबाटै ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका हुन् । थप १८ परिवारसमेत जोखिममा रहेको साउदले बताए । बाढीले धानबाली बगाएपछि खेत बगरमा परिणत भएको छ । बाढीबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष बडुवालले बताए ।
नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाले बाढी प्रभावित परिवारलाई तत्काल त्रिपाल उपलब्ध गराएको छ । रेडक्रस बाजुरा शाखाका उपमन्त्री बिपीन विष्टका अनुसार विस्थापित २३ परिवारलाई त्रिपाल वितरण गरिएको छ ।
पाँच वर्षअघिको त्यो दिन, फेरि उही जोखिम
अहिले मात्रै होइन, वीरेखोलाका बासिन्दा पाँच वर्षदेखि नै बाढीपहिरोको त्रासमा छन् । विसं २०७७ साउन २५ गते बुढीगङ्गा नदीमा गएको बाढीले यहाँको धेरै खेतीयोग्य जमिन बगाएको थियो । किसानले पुस्तौँदेखि खेती गर्दै आएको जमिन एकैछिनमा बालुवा र ढुङ्गाले पुरिएको थियो ।
बाढी रोकिएपछि नदी आफ्नो पुरानै बाटोमा फर्कियो । तर बाढीले दिएको घाउ भने स्थानीयको मन र जमिनमा उस्तै रह्यो । अहिलेको बाढीले त्यही पुरानो डरलाई फेरि वास्तविकतामा परिणत गरिदिएको छ । “एकातिर खेतीयोग्य जमिन गुमेको पीडा छ, अर्कोतिर घरबास नै सुरक्षित नरहने अवस्था छ”, स्थानीय कली साउदले भने, “नदी कटान र बाढीको जोखिम बढ्दै गएपछि अब कहाँ बस्ने, के खाने भन्ने ठूलो संकट भएको छ । ”
सदरमुकाम मार्तडीबाट करिब ६ किलोमिटर टाढा रहेको बिरेखोला झरना आन्तरिक पर्यटकको मुख्य आकर्षणको केन्द्र हो ।
वर्षायाम सुरु हुनासाथ जिल्लाका विभिन्न ठाउँ तथा छिमेकी जिल्ला अछामबाट समेत झरनाको अवलोकन गर्न तथा फोटो–भिडियो खिच्न आउनेको भीड लाग्ने गर्छ । तर वर्षायाम सुरु भएसँगै यही बिरेखोलाको सुन्दरता स्थानीयका लागि त्रासको कारण बन्ने गरेको छ । “घरआँगनमै बुढीगङ्गा नदी बग्छ, गाउँकै बीचमा वीरेखोला बगिरहेको छ”, स्थानीय मतिकला खड्काले भनिन्, “आँगनबाट नदीको कटान र पछाडिबाट खोलाले कतिखेर बगाउँछ भन्ने चिन्ता हुन्छ । हिजोको मात्रै होइन, यसअघि पटकपटकको बाढीले खेतीयोग्य जमिन बगर भइसक्यो । अब कुन दिन घरसँगै हामीलाई बगाउने हो भन्ने डर छ ।”
जमिन बगर बन्यो, अब घर बग्ने चिन्ता
२०७७ सालको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि धेरै परिवारले उत्पादनको आधार गुमाएका थिए । अहिले फेरि बिरेखोला झरनाको बाढीले घरबासमा समेत जोखिम निम्त्याएपछि समस्या झन् गम्भीर बनेको स्थानीय कमला साउदले बताइन् । “खेत रहेन, अब घर पनि सुरक्षित छैन,” उनले भनिन्, “कहाँ गएर बस्ने ?अन्त कतै ठाउँ छैन ।”
वर्षौँदेखि नदी कटान र बाढीको जोखिममा रहेका वीरेखोलाका स्थानीयका लागि घर पनि गुम्ने चिन्ता थपिएको छ । २३ परिवार सुरक्षित स्थानमा सारिए पनि वीरेखोलाको दीर्घकालीन जोखिम भने यथावत् रहेको बडीमालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवाल बताउँछन्। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बाढीपछि भएको क्षतिको बारेमा यकीन विवरण सङ्कलन र घटनाबारे बुझ्ने कार्य भइरहेको बताए । रासस