नेभिगेशन
प्रदेश

११ दिनपछि जीवितै उद्धार

काठमाडौं । वेत्रावतीमा बाढीले घरसहित बगाएकी ६४ वर्षीया चन्द्रिका श्रेष्ठको शनिबार ११ दिनपछि भग्नावशेषबाट जीवितै उद्धार भएको छ । गत भदौ १० मा आएको विनाशकारी बाढीको भेलले नुवाकोटको विदुर नगरपालिका–१० वेत्रावती बजार एकै झट्कामा उजाडिदियो । बाढीले घर बगायो । घरसँगै सयौं मानिस पनि सँगै बगे, बेपत्ता भए । यसरी बेपत्ता हुनेमा थिए–आशिष र अनिश श्रेष्ठका बुवा आनन्द र आमा चन्द्रिका श्रेष्ठ पनि । दुवै छोरा काठमाडौंमा रहेकाले सुरक्षित थिए । 
आफन्त, छिमेकी र परिवारले बाढीपछि सम्भावित ठाउँमा निकै खोजी गरे । नदी किनारदेखि बाढीले पु¥याउन सक्ने ठाउँसम्म खोजे । दिन बित्दै गए । तर बुवा–आमाको अत्तोपत्तो भेटिएन । आठ दिनसम्म खोज्दा पनि केही खबर नपाएपछि परिवारले एउटा निर्णय ग-यो – अब उनीहरू जीवित छैनन् । 
गत बिहीबार कुशको शव बनाएर दाहसंस्कार गरियो । दुई छोरा आमाबुवाको काजकिरियामा बसे । आमाबुवाको अनुहार अन्तिमपटक देख्नसमेत नपाई छोराहरूले संस्कारका कर्म पूरा गरिरहेका थिए । तर, शनिबार धेरैलाई अपत्यारिलो लाग्ने खबर आयो – वेत्रावतीमा गेग्रानले पुरेको चार तले घरको चौथो तलाबाट मानिसको आवाज आइरहेको छ । उक्त खबर पाउनासाथ नेपाल प्रहरीका एसपी विपिन रेग्मी र सशस्त्र प्रहरीका निरीक्षक सुमन विकको कमान्डमा उद्धारकर्ता टोली घटनास्थलमा पुग्यो । केही समयमा सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गर्दा जीवितै भेटिइन् आशिष–अनिशकी आमा चन्द्रिका श्रेष्ठ । 
एकातिर किरियाघरमा आमाको नाममा संस्कार चलिरहेको थियो । अर्कातिर भग्नवशेष बनेको घरबाट आमाको सास फर्किएको खबर आइरहेको थियो । परिवारका लागि त्यो खबर पत्याउन पनि कठिन थियो, स्वीकार्न पनि । तर, यही खबर सत्य थियो, चन्द्रिकाको ११ दिनपछि जीवितै उद्धार भएको थियो । 
उनको उद्धारपछि नुवाकोटबाट हेलिकप्टरमा काठमाडौं ल्याइयो । अहिले सैनिक अस्पताल छाउनीमा उनको उपचार जारी छ । छोराहरूले विधि पु¥याएर उनको उद्धार भएको खबरलगत्तै किरिया टुंगाएका छन् । 
बुबा पनि भेटिने आशा
छोरा र उनका आफन्तहरू आफूहरूले माया मारिसकेको चन्द्रिका जीवित रहेको खबरले हर्षित छन् । तर, उनीहरूलाई यो खुशीको खबरमा पनि दुःखी बनाउने अर्को खबर सँगै छ – बुबा आनन्द अझै बेपत्ता छन् । आमा भेटिएको खबरले माया मारिसकेको बुबा पनि फर्कने आशा उनका दुई छोरा र आफन्तहरूमा पलाएको छ । चन्द्रिकालाई उद्धारपछि थप उपचारका लागि शनिबार नै सैनिक अस्पताल छाउनी ल्याइएको छ । 
अस्पतालमा रहेकी सम्धिनी भेट्न आएका रमेशमान श्रेष्ठले परिवारले धेरै दिनसम्म खोजी गर्दा पनि नभेटेपछि काजकिरिया सुरु गरिएको बताए । उनले भने, ‘बाढी गएको आठौं दिनसम्म खोजी गर्दा पनि भेटिनुभएन । अब सम्भावना छैन भनेर कुस बनाएर दाहसंस्कार गरी परिवारले काजकिरिया पनि सुरु गरिसकेको थियो ।’ परिवारले कुशको शव बनाएर काजकिरिया गरिसकेकी चन्द्रिकाको जीवितै उद्धार भए पनि उनका पति आनन्द श्रेष्ठ भने अझै बेपत्ता छन् । ‘सम्धिनी भेटिएपछि कतै सम्धी पनि भेटिनुहुन्छ कि भन्ने आशा पलाएको छ,’ रमेशमानले भने । चन्द्रिका अस्पतालमा उपचाररत छिन् । उनका छोराहरू फेरि बुवाको खोजीमा लाग्ने तयारीमा छन् । 
बगाएको घरभित्र ११ दिन
चन्द्रिकाको उद्धार आफैंमा एउटा अविश्वसनीय बनेको छ, कुनै सिनेमाको कथा जस्तो । संसार चकित बनाउने एउटा अनौठो घटना बन्न पुग्यो । उनी घरसँगै बगेकी थिइन् । बाढीले उनको घरलाई जगबाटै उखेलेर बगायो । स्थानीयका अनुसार बाढीले बगाउँदै उनको घरलाई थप करिब ५० मिटर पर पु¥यायो । त्यही घरसँगै
बगेर पुगेको घरबाट ११ दिनपछि चन्द्रिका जीवितै निकालिइन् । बाढीले घर नै बगाएर लगेपछि त्यसको भग्नावशेषमा ११ दिनसम्म वृद्ध महिला जीवितै रहनु स्थानीयका लागि पनि अकल्पनीय घटना बनेको छ ।
‘अब हरेक घर खोज्नुपर्छ’
विदुर–१० का वडासदस्य मंगल तामाङका अनुसार, बगाएको घरमा मानिसको आवाज सुनिएपछि उद्धारका लागि सुरक्षाकर्मीलाई खबर गरिएको थियो । एउटा भग्न घरभित्रबाट आएको आवाजले अहिले वेत्रावतीमा अर्को आशा जगाएको छ – बाढीले बगाएका अरू घरभित्र पनि कोही जीवितै पो छन् कि ? वेत्रावतीमा नेवार समुदायका मात्रै २३० भन्दा बढी घर रहेको स्थानीय बताउँछन् । बाढीपछि धेरै परिवारले आफ्ना आफन्तको अवस्था थाहा नपाई कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् । कतिपय काजकिरियामा बसिरहेका छन् ।
तर चन्द्रिकाको उद्धारपछि त्यसरी किरियामा बसेका अरूमा आशाको अर्को झिल्को देखिएको छ । ‘भोलिबाट वेत्रावतीका प्रत्येक घरमा खोजतलास हुनुप¥यो,’ एक स्थानीय युवा भन्छन्, ‘भत्किएको घरमा मानिस जीवितै भेटिन थालेको छ ।’ चन्द्रिकाको उद्धारले एउटा परिवारलाई मृत्युको शोकबाट फेरि जीवनको आशातर्फ फर्काएको छ ।
शनिबार उद्धार टोलीले चन्द्रिका अघि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरेको छ । टनेलभित्र फसेका उनलाई नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त रूपमा सकुशल उद्धार गरेको हो । 

अन्तर्राष्ट्रिय हेडलाइन बनेका दुई उद्धार
शुक्रबार बिहानै त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा झिनो आशा लिएर नेपाली सेना उद्धार कार्यमा थियो । त्यही बीचमा अँध्यारो सुरुङबाट मानिसको आवाज आएको पहिचान भयो । सेनाले चिच्याएर भन्यो, ‘भित्र कोही हुनुहुन्छ ? नआत्तिनुस् नेपाली सेना आउँदैछ ।’ अँध्यारो सुरुङबाट आएको त्यो आवाज १० दिनसम्म अनवरत उद्धारमा जुटेपनि कुनै सफलता नपाएको टोलीका लागि आशाको किरण बन्यो । 
उद्धार टोलीको परिश्रमले केहीबेरमै नतिजा दियो – सुरुङभित्रबाट सञ्जय साह र कवीर महर्जनको जीवितै उद्धार भयो । उक्त खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत तत्कालै हेडलाइन बने । उद्धार गरिएका साहको अवस्था सामान्य रहेको सेनाको स्वास्थ्य टोलीले जानकारी दियो । महर्जनको स्वास्थ्यमा भने समस्या देखियो । उनलाई तत्काल उद्धार गरी छाउनीस्थित सैनिक अस्पताल ल्याइयो । अहिले साह र महर्जन दुवैको उपचार जारी छ । 


शुक्रबार पतिको उद्धारको अपत्यारिलो खबरले उनकी पत्नीमा खुशीको सीमा रहेन । उनले श्रीमानसँग भेट्न पाउँदा असाध्यै खुसी लागेको बताइन् । अस्पतालमा भेटिएकी उनले भनिन्, ‘हामीले माया मारिसकेका थियौं । तर, उहाँलाई यसरी देख्न पाउँदा खुसीले मेरो आँखाबाट आँसु नै रोकिएन ।’ 
माया मारिसकेकाहरू जीवितै फर्किएको घटनाले आफन्त पर्खिएर बसेका सयौंमा कतै बेपत्ता आफ्ना मानिसहरू पनि फर्कन्छन् कि भन्ने आशा जगाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार चन्द्रिकाको उद्धारको खबरले सिंगो देशलाई नै आशा दिएको बताएका छन् । खोज तथा उद्धारमा सरकार डटेर लागेको भन्दै उद्धारमा कमजोरी नहुनेमा पनि विश्वस्त पार्न खोजेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्