नेभिगेशन
विश्व

बियर फिर्ता ल्याउन २० हजार डलर पुरस्कार

क्यालिफोर्नियाको एउटा गोदामबाट एकै दिन दुई चरणमा ४० हजार पाउन्डभन्दा बढी बियर गायब भयो । चोरले पसलको सिसा फोरेका थिएनन्, बन्दुक देखाएर लुटपाट पनि गरेका थिएनन् । बरु कागजात, ढुवानी र कम्पनीको नामकै आडमा पूरा ट्रकलोड सामान उठाएर लगे । यही कारण अमेरिकाको प्रसिद्ध बियर ब्रान्ड पाब्स्ट ब्लू रिबन (पीबीआर) अहिले आफ्नै बियर फिर्ता ल्याउन २० हजार डलरसम्म पुरस्कार घोषणा गर्न बाध्य भएको छ ।
घटना गत अगस्ट १७ मा दक्षिणी क्यालिफोर्नियाको मोन्टक्लेयरस्थित एनहाइजर–बुश वितरण केन्द्रमा भएको थियो । प्रहरीका अनुसार टक्सन, एरिजोनातर्फ पठाउन तयार पारिएको करिब ४५ हजार डलर मूल्यको बियर ढुवानीका लागि उठाइयो तर गन्तव्यमा पुगेन । त्यसको करिब एक घण्टापछि आफूलाई उपठेकेदार कम्पनी बताउने अर्को समूहले नक्कली कागजात पेस गरेर थप करिब २५ हजार डलर बराबरको बियर उठायो । कुल १,६०२ केस पीबीआर र अल्कोहलरहित ‘ओल्ड मिलवाकी’ बियर चोरी भएको कम्पनीले जनाएको छ। प्रहरीको अनुमानमा चोरी भएको मालको मूल्य करिब ७० हजार डलर छ ।
पीबीआरका प्रमुख कार्यकारी ग्रेग डिबोले सामाजिक सञ्जालमार्फत चोरलाई व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘ग्यारेजभरि पीबीआर राख्दा तिमीलाई निकै राम्रो लागेको हुन सक्छ, तर त्यो राम्रो कुरा होइन। हामी हाम्रो बियर फिर्ता चाहन्छौं ।’ कम्पनीले सेप्टेम्बर ९ सम्म बियर फिर्ता गराउन चाहेको जनाएको छ ।
तर यो घटना केवल ‘बियर चोर्ने अनौठो अपराध’ मात्र होइन । पछिल्ला वर्षमा खाद्यान्न र पेयपदार्थ आपूर्ति शृंखलामै हुने संगठित चोरीको एउटा उदाहरण हो । अनुसन्धानकर्ताले दुईवटै घटनाबीच समानता देखिएको भन्दै एउटै योजनाबद्ध ‘कार्गो चोरी’ समूहको संलग्नता हुन सक्ने कोणबाट अनुसन्धान गरिरहेका छन् । चोरीको नयाँ शैलीमा बल प्रयोगभन्दा नक्कली कागजात, झुटो कम्पनी परिचय र वैध ढुवानीकर्ताको रूप धारण गर्ने रणनीति प्रयोग हुन थालेको देखिन्छ ।
विश्वव्यापी जोखिम व्यवस्थापन संस्था बीएसआईको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२५ मा कार्गो चोरीका घटनामा उल्लेख्य वृद्धि भएको थियो र खाद्य तथा पेयपदार्थ सबैभन्दा बढी निसाना बनाइएका वस्तुमध्ये अग्रस्थानमा रहे । प्रतिवेदनले संगठित अपराधीहरूले बलपूर्वक लुट्नुभन्दा जालसाजी र धोखाधडीमा आधारित ‘स्ट्राटेजिक थेफ्ट’ प्रयोग बढाइरहेको जनाएको छ ।
बियर मात्रै होइन, खानाका महँगा सामान पनि चोरहरूको निसानामा छन् । गत वर्ष अमेरिकाको न्यू इङ्ल्यान्ड क्षेत्रमा केही साताभित्रै ४० हजार ओइस्टर, करिब चार लाख डलर मूल्यको लोब्स्टर र गँगटाको मासु अलग–अलग घटनामा चोरी भएका थिए । त्यस्तै, यस वर्ष मार्चमा इटालीबाट पोल्यान्ड पठाउन तयार पारिएका नेस्ले कम्पनीका ४ लाख १३ हजारभन्दा बढी किटक्याट चकलेट बार बाटोमै चोरी भएको घटना सार्वजनिक भएको थियो ।
यसरी हेर्दा बियर चोरी कुनै बिल्कुलै नयाँ अपराध होइन, तर अहिले यसको स्वरूप बदलिएको छ । गोदामभित्र पस्ने सामान्य चोरभन्दा आपूर्ति प्रणाली बुझ्ने, ढुवानी कम्पनीको पहिचान नक्कल गर्ने र कागजातलाई हतियार बनाउने संगठित समूहहरू ठूलो चुनौती बनेका छन् ।
पीबीआरको ४० हजार पाउन्ड बियर कहाँ पुग्यो भन्ने प्रश्नको उत्तर अझै प्रहरीले खोजिरहेको छ । तर एउटा कुरा स्पष्ट छ—बियरको बोतल वा क्यान मात्रै हराएको होइन, आधुनिक व्यापारको सबैभन्दा कमजोर कडीमध्ये एक मानिएको आपूर्ति शृंखलाको सुरक्षामाथि पनि यो चोरीले गम्भीर प्रश्न उठाएको छ । (एजेन्सीहरु)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्