नेभिगेशन
विश्व

मान्छेको बुढ्यौली बुझ्न अध्ययन जनावरमाथि

मानिसको बुढ्यौली र त्यससँग जोडिएका रोगबारे थप बुझ्न वैज्ञानिकहरू अहिले नयाँ अध्ययन गरिरहेका छन् । विशेषगरी स्तनधारी जनावरको विकास, मस्तिष्कको परिपक्वता र बुढ्यौलीका चरणलाई मानिससँग तुलना गरेर अध्ययन गर्ने प्रयास भइरहेको हो ।
घरेलु जनावरको उमेरलाई मानिससँग तुलना गर्दा सात गुणाले हिसाब गर्ने चलन छ । कुकुर वा बिरालोको एक वर्ष मानिसको सात वर्ष बराबर हुन्छ भन्ने सामान्य धारणा भए पनि वैज्ञानिक दृष्टिले यो तुलना सही छैन । विभिन्न प्रजातिमा शारीरिक विकास, यौवन, मस्तिष्कको परिपक्वता र बुढ्यौलीको गति फरक हुने भएकाले एउटा प्रजातिको उमेरलाई अर्को प्रजातिको उमेरसँग सिधै गुणा वा भाग गरेर तुलना गर्न नसकिने वैज्ञानिकहरूको निष्कर्ष छ ।
यसको महŒव मानिसमा उमेर बढ्दै जाँदा देखिने रोगसँग जोडिएको छ । अल्जाइमर, डिमेन्सिया, मुटुसम्बन्धी रोग र क्यान्सरजस्ता रोगको जोखिम उमेरसँगै बढ्दै जान्छ । त्यसैले मानिसको कुन उमेर अर्को प्रजातिको कुन उमेरसँग जैविक रूपमा मिल्छ भन्ने पत्ता लगाउन सके जनावरमा गरिएका अनुसन्धानलाई मानिसको उपचार र रोगसम्बन्धी अध्ययनसँग अझ प्रभावकारी रूपमा जोड्न सकिने वैज्ञानिकहरूको विश्वास छ ।
यही चुनौती समाधान गर्ने प्रयासमा वैज्ञानिक क्रिस्टिन जे. चार्भेट र उनका सहकर्मीहरूले विभिन्न प्रजातिको विकास र बुढ्यौलीका चरणलाई एकअर्कासँग मिलाउने काम गरिरहेका छन् । सन् २०१४ मा बोस्टनस्थित मार्टिनोस सेन्टरको मस्तिष्क इमेजिङ प्रयोगशालामा मानिस र चिम्पान्जीका एमआरआई तस्बिर अध्ययन गर्दा चार्भेटले केही स्नायु मार्ग अघिल्ला अनुसन्धानमा देखाइएका संरचनासँग नमिलेको भेटिन् । त्यो वास्तविक जैविक अन्तर थियो वा एमआरआई प्रविधिको त्रुटि, छुट्याउन कठिन थियो । यस घटनाले उनलाई उमेर र विकासको तुलना गर्न अझ भरपर्दो वैज्ञानिक विधिको आवश्यकता रहेको महसुस गरायो ।
त्यसपछि वैज्ञानिकहरूले विभिन्न प्रजातिका विकासका महŒवपूर्ण चरणलाई ‘टाइम पोइन्ट’ बनाएर तुलना गर्न थाले । कोर्नेल विश्वविद्यालयबाट सुरु भएको ‘ट्रान्सलेटिङ टाइम’ परियोजनाले करिब २५ वर्षदेखि विभिन्न स्तनधारी प्रजातिमा समान विकासात्मक चरण पहिचान गर्दै आएको छ । अहिले एक हजारभन्दा बढी अवलोकनका आधारमा २५ भन्दा बढी स्तनधारी प्रजातिको स्नायु विकाससम्बन्धी समय तुलना गरिएको छ । यसमा मार्सुपियल, मुसा, मांसाहारी जनावर, बाँदर र ठूलो बाँदर समूहसमेत छन् ।
अध्ययनमा बिरालोको बच्चाको आँखा खुल्ने समय, चिम्पान्जी घस्रिन सुरु गर्ने समय र मानवशिशु हिँड्न थाल्ने समयजस्ता घटनालाई पनि एकअर्कासँग तुलना गरिएको छ । स्नायु कोष बन्न सुरु गर्ने समय, तिनबीच सम्पर्क स्थापित हुने समय र यौन परिपक्वताको सुरुआतजस्ता क्रमिक परिवर्तन पनि अध्ययनमा समेटिएका छन् । यस्ता तुलनाले एउटा प्रजातिमा कुनै विकासात्मक चरण अर्को प्रजातिभन्दा किन फरक समयमा आउँछ भन्ने बुझ्न सहयोग गर्छ ।

चार्भेटको अध्ययनले मानिसको विकास र बुढ्यौली अन्य अध्ययन गरिएका ठूलो बाँदर प्रजातिको तुलनामा सुस्त गतिमा हुने देखाएको छ । मानिसको शैशव र बाल्यकाल लामो हुनुको एउटा अर्थ आफ्नै प्रजातिका अरू सदस्यबाट सिक्न मानिससँग पर्याप्त समय हुनु पनि हुन सक्छ ।
मानिस र चिम्पान्जीको बुढ्यौलीमा पनि केही समानता छन् । वृद्ध चिम्पान्जीमा मोतीबिन्दु, क्यान्सर र अल्जाइमरसँग सम्बन्धित केही मस्तिष्कीय परिवर्तन देखिएका छन् । तर मानिसको तुलनामा चिम्पान्जीमा मस्तिष्क खुम्चिने समस्या कम देखिन्छ । बन्दी अवस्थामा पनि ६० वर्षभन्दा माथि पुग्ने चिम्पान्जी निकै कम हुन्छन् । चार्भेटको उमेर रूपान्तरणअनुसार त्यो मानिसको करिब ७० वर्षसँग तुलना गर्न मिल्ने उमेर हो । मानिसमा ७० वर्षपछि डिमेन्सियाको जोखिम उल्लेखनीय रूपमा बढ्ने भएकाले चिम्पान्जीमा त्यस्तो अवस्थाको अध्ययन गर्न कठिन हुन्छ ।
तर अन्य जनावर तुलनात्मक अध्ययनका लागि उपयोगी छैनन् भन्ने होइन । घरपालुवा बिरालोजस्ता केही जनावर तुलनात्मक रूपमा लामो बाँच्छन् र मानिसको वृद्धावस्थासँग सम्बन्धित रोग अध्ययन गर्ने अवसर दिन सक्छन् । पर्याप्त संख्यामा यस्ता जनावरको अध्ययन गर्न सके डिमेन्सियालगायत उमेरसँग सम्बन्धित रोगबारे नयाँ जानकारी पाउन सकिने वैज्ञानिकहरूको विश्वास छ ।
जनावरमा देखिने सबै रोग मानिससँग मिल्दैनन् । उदाहरणका लागि चिम्पान्जीमा देखिने ‘इडियोप्याथिक मायोकार्डियल फाइब्रोसिस’ मानिसमा निकै दुर्लभ छ । चिम्पान्जीमा भने यो मुटुसम्बन्धी गम्भीर समस्या ४० वर्षतिर मृत्युको प्रमुख कारण बन्न सक्छ ।
यही कारण मानिस र जनावरको स्वास्थ्यलाई छुट्टाछुट्टै नभई परस्पर जोडिएको विषयका रूपमा हेर्ने ‘वन हेल्थ’ अवधारणा महŒवपूर्ण मानिएको छ । जनावरको स्वास्थ्य सुधार्ने र आयु बढाउने क्रममा प्राप्त ज्ञानले मानिसको बुढ्यौली र रोगका जैविक आधार बुझ्न पनि सहयोग गर्न सक्छ ।
मानिसको बुढ्यौली बुझ्ने बाटो मानिसमै मात्र सीमित छैन । वरिपरिका अन्य प्रजाति कसरी विकसित हुन्छन्, कहिले परिपक्व हुन्छन् र कहिले बुढ्यौलीमा प्रवेश गर्छन् भन्ने बुझ्दै जाँदा वैज्ञानिकहरूले मानिसको आफ्नै शरीर, मस्तिष्क र उमेरसँग जोडिएका रोगका रहस्यबारे नयाँ उत्तर भेट्ने आशा गरेका छन् । (एजेन्सीहरु)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्