नेभिगेशन
राजनीति
कांग्रेसमा महाधिवेशनको चटारो

गगन भन्छन्– ‘अहिले राजनीति होइन, पीडितको सेवा गरौँ’

काठमाडौं । कांग्रेसका सभापति गगन थापाले अहिले पार्टीको आन्तरिक सांगठनिक गतिविधि र नेताहरूबीचको राजनीतिक संवादभन्दा प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार, राहत र पुनस्र्थापना आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै थापाले पार्टीको महाधिवेशन तथा आन्तरिक छलफलहरू नियमित राजनीतिक प्रक्रिया भए पनि संकटको समयमा राजनीतिक जोडघटाउभन्दा जनताको सेवामा पार्टी केन्द्रित हुने बताए । 
बाढी र पहिरोबाट ठूलो क्षति पुगेका रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा प्रभावित नागरिकको सहयोगका लागि कांग्रेसको पार्टी पंक्ति फिल्डमै परिचालित रहेको पनि सो क्रममा जानकारी दिए । थापा स्वयं नुवाकोट र रसुवाको विपद्ग्रस्त क्षेत्रमा पुगेका थिए ।  सो क्रममा स्थलगत रूपमा प्राप्त सूचना, तथ्य र नागरिकका समस्याका आधारमा कांग्रेसले आगामी कार्ययोजना तय गर्ने र विपद् प्रभावितको पक्षमा निरन्तर काम गर्ने थापाको भनाइ छ ।
उनले विपत्तिका कारण सर्वस्व गुमाएका नागरिकलाई तत्काल राहत, पुनस्र्थापना र दीर्घकालीन सहयोग आवश्यक रहेको बताए । पार्टीको सांगठनिक काम र राजनीतिक गतिविधि चलिरहे पनि त्यसलाई अहिलेको मानवीय संकटभन्दा माथि राख्न नहुने उनको भनाइ थियो । महाविपत्तिको यो अवस्थामा आगामी दसैंतिहार लगायतका चाडपर्वमा समेत विश्राम नलिई प्रभावित नागरिकको साथमा काम गर्ने प्रतिबद्धता पनि थापाले व्यक्त गरेका छन् । उनले भने, ‘यसपटक हामीलाई कुनै पनि चाडपर्वले छुँदैन । सर्वस्व गुमाएका पीडितहरूको साथमा रहेर हामी निरन्तर काम गर्नेछौं ।’
त्यस्तै, सभापति थापाले महाधिवेशनका सम्बन्धमा बाढीबाट अति प्रभावित जिल्लाहरूमा तत्काल वडा अधिवेशन गर्न सक्ने अवस्था नरहेको भन्दै अधिवेशनको मिति सार्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले रसुवा, नुवाकोट र धादिङ जस्ता बाढी प्रभावित जिल्लाहरूमा अहिलेको अवस्थामा राजनीतिक कार्यक्रम भन्दा पनि उद्धार र राहत प्राथमिकतामा रहेको बताएका हुन् । यसअघि भदौ २४ गते वडा अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक भएको थियो । ‘हामीलाई वैधानिक बाध्यता छ, असोज १६ गते कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु हुन्छ र यो तिथि परिवर्तन गर्न सक्ने सुविधा हामीसँग छैन । तर, बाढी र पहिरोले आक्रान्त पारेका रसुवा, नुवाकोट र धादिङमा अहिले वडा अधिवेशन गर्ने वातावरण मैले देखिनँ,’ सभापतिले थापाले भने । 
रामेछाप र गोरखा जस्ता जिल्लाका मानिसहरू पनि आफ्ना हराइरहेका परिवारका सदस्य खोज्न बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । ‘यस्तो मानवीय संकटको घडीमा अधिवेशनमा जुट्न सम्भव छैन,’ उनको भनाइ छ । १५औं केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुसार नै अघि बढ्ने स्पष्ट पारे पनि बाढी प्रभावित क्षेत्रका तल्ला तहका अधिवेशनको मिति भने कार्यसम्पादन समितिमा छलफल गरी परिमार्जन हुने देखिएको छ । 
शेखर–गगन भेट 
कांग्रेसभित्र नेतृत्व र १५औं महाधिवेशनलाई लिएर रस्साकस्सी चलिरहँदा सभापति गगन थापाले आइतबार नेता डा. शेखर कोइरालासँग भेट गरेका छन् । पार्टीभित्र गुटगत असन्तुष्टि बढिरहेका बेला आन्तरिक समीकरण मिलाउन सभापति थापाले कोइरालासँग भेट गरेका हुन् । शनिबार उनले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेका थिए । 
आइतबार दिउँसो भएको भेटमा कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस विभाजित भएर अघि बढ्न नसक्ने भन्दै पार्टी एकताका लागि आफू आवश्यक त्याग गर्न तयार रहेको बताएका छन् । जवाफमा सभापति थापाले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताएको कोइरालाको सचिवालयले जनाएको छ । 
संस्थापन र इतरपक्षले महाधिवेशनको अलग–अलग कार्यतालिका सार्वजनिक गरेका छन् ।  विशेषगरी १५औं महाधिवेशनको कार्यतालिका, पार्टी संरचनाको पुनर्संरचना र नेतृत्व चयनको प्रक्रियालाई लिएर कांग्रेसभित्र शक्ति संघर्ष कायम छ ।
केसीको विशेष प्रस्ताव
कांग्रेसका पुराना नेता अर्जुननरसिंह केसीले समयमै महाधिवेशन सुनिश्चित गर्न भन्दै नेतृत्वमाथि दबाब बढाउने गरी पाँचबुँदे प्रस्ताव अघि सारेका छन् । उनले पार्टीभित्रको विवाद समाधन गर्दै महाधिवेशन सुनिश्चित गर्न ५ बुँदे विशेष प्रस्ताव राखेका छन् । आइतबार सानेपामा बसेको पार्टीको कार्यसमपादन समितिको बैठकमा नेता केसीले पुरानो र हालको कार्यसम्पादन समितिलाई सभापतिको नेतृत्वमा एकीकृत गर्नेदेखि केन्द्रीय कार्यसमितिको आकार विस्तार गर्ने प्रस्ताव गरेका छन् । महाधिवेशन निष्पक्ष बनाउन निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिको पुनर्गठन गर्नुपर्ने उनको माग छ । सबैभन्दा महŒवपूर्ण रूपमा उनले आगामी कात्तिक १७–१९ गतेभित्र १५औं महाधिवेशन सम्पन्न गर्ने मिति कुनै पनि बहानामा नसार्ने प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । 
‘सर्वोच्चको निर्णय पर्खिनुपर्छ’ 
कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले पार्टीको महाधिवेशन गर्न सर्वोच्च अदालतमा रहेको मुद्दाको निर्णय पर्खिनुपर्ने बताएका छन् । पार्टी मिलाउन दुवै पक्षले आ–आफ्ना महाधिवेशन स्थगन गर्नुपर्नेमा उनले जोड दिएका छन् । पार्टीको भीमदत्त नगर समितिले आइतबार महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता लेखकले भने, ‘पार्टी मिलाउने हो भने दुवै पक्षले आ–आफ्ना महाधिवेशन स्थगन गरौं र पार्टी मिलाउने बैठकमा छलफल गरौं ।’ 
१४औं महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले पार्टीमा विवाद सिर्जना भई समस्या सुरु भएको उनले बताए । दुवै पक्षले एकापसमा छलफल गरेर पार्टी विभाजन रोक्नुपर्ने उनको भनाइ थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्