नेभिगेशन
शिक्षा

शो रनर एआई : मनोरञ्जन उद्योगमा नयाँ संकट

विश्वव्यापी मनोरञ्जन उद्योग अहिले कृत्रिम बौद्धिकता अर्थात् एआईको प्रभावले हल्लिएको छ । हालै सार्वजनिक गरिएको नयाँ प्लेटफर्म ‘शो रनर’ले दर्शकलाई आफैं कथा लेख्ने, संवाद तय गर्ने, पात्र छनोट गर्ने र केही मिनेटमै एनिमेटेड दृश्य बनाउन सक्ने सुविधा दिएको छ। यसलाई ल्याउने कम्पनी फेबल स्टुडियोले यसलाई ‘एआईको नेटफ्लिक्स’ भन्दै प्रचार गरिरहेको छ ।

शो रनरले कसरी काम गर्छ ?

शो रनरले प्रयोगकर्तालाई डिस्कोर्डजस्ता सामाजिक प्लेटफर्ममार्फत पहुँच दिन्छ । प्रयोगकर्ताले आफ्नो मनपर्ने पात्र छनोट गर्छन् । ती पात्र डोनाल्ड ट्रम्प, मार्क जुकरबर्ग, किम कार्दशियन, अर्नोल्ड श्वार्जनेगर, क्लिन्ट इस्टवुड वा यस्तै अन्य हुन सक्छन् । 

त्यसपछि प्रयोगकर्ताले केही प्रम्प्ट टाइप गरेर ‘रिक एन्ड मोर्टी’ शैलीको छोटो एनिमेसन बनाउन सक्छन् । यो प्रक्रिया केही मिनेटमै सकिन्छ । सामान्य प्रयोगकर्ताले रमाइलो वा व्यंग्यात्मक दृश्य बनाउन सक्छन् भने, सामग्री सिर्जनाकर्मीले परीक्षणका रूपमा आफ्ना कथा वा विचारलाई उपयोग गर्न सक्छन् ।

लगानी र उद्योगसँगको सम्बन्ध

शो रनरमा एमाजनको एलेक्सा फन्डले लगानी गरिसकेको छ । यसबाहेक, कम्पनीका संस्थापक एडवर्ड साची, डिज्नेलगायतका ठूला स्टुडियोहरूसँग बौद्धिक सम्पत्ति (इन्टेलेक्चुअल प्रोपर्टी) लाइसेन्सका विषयमा छलफल गरिरहेका छन् । यसको अर्थ, भविष्यमा प्रयोगकर्ताले आधिकारिकरूपमा लाइसेन्स प्राप्त पात्र वा कथा प्रयोग गररे आफ्नै दृश्य बनाउन सक्ने सम्भावना छ ।

साचीले भनेका छन्, ‘आजको अवस्थामा शो रनर, लेखक र निर्देशकहरूले एआईलाई नयाँ उपकरणका रूपमा लिनुपर्छ । यो कुनै खेलौना मात्र होइन, बरु दर्शकसँग प्रत्यक्ष संवाद गर्ने नयाँ माध्यम हो ।’ 

परीक्षण चरण 

यो सेवा अहिले अल्फा चरणमा छ, जहाँ करिब १०,००० प्रयोगकर्ताले परीक्षण गरिसकेका छन् । परीक्षणमा संलग्न धेरै प्रयोगकर्ताले यसलाई रमाइलो, छिटो र 'अनौठो अनुभव’ भनेका छन् । तर, केही प्रयोगकर्ताले संवादहरू प्रायः दोहोरिने, हास्यात्मक पञ्चलाइन कम हुने र पात्रहरूको भावनात्मक गहिराइ नदेखिने भनी आलोचना पनि गरेका छन् । 

व्यापार मोडेल 

शो रनरले सुरुवाती चरणमा प्रयोगकर्तालाई सीमित दृश्य निःशुल्क बनाउन दिनेछ । तर, भविष्यमा मासिक १०–२० डलर बराबरको शुल्क तिररे 'क्रेडिट’ प्रणालीमार्फत थप दृश्य बनाउन पाइने योजना छ । यसरी कम्पनीले सदस्यता र अतिरिक्त सेवामार्फत आम्दानी गर्न खोजेको छ ।

यससँगै, कम्पनीले आफ्नै कथा संसार पनि विकास गरेको छ । हाल ’एक्जिट भ्याली’ र ’एभ्रीथिब इज फाइन’ नामक दुई श्रृंखला प्रयोगकर्ताका लागि उपलब्ध छन् । यी शृंखलामा प्रयोगकर्ताले आफ्नै कथा वा पात्र जोडेर दृश्य बनाउन सक्छन् ।

सिर्जनात्मकता र एआई बीच विवाद

जो वास्तविक शो रनर र पटकथा लेखकहरू छन्, उनीहरू भने यस प्लेटफर्मप्रति उति खुसी छैनन् । ‘द नेबरहूड’का शो रनर माइक शिफ भन्छन्, ‘सबैभन्दा सफल कथा जीवनका अनुभवबाट आउँछन् । एआईले धेरै लेखहरू पढ्न सक्छ, तर जीवनको अनुभव
 लिन सक्दैन।’ त्यसैले उसले सिर्जना गरेका कथामा भावनात्मक पक्षको गहिराइ नहुने उनको भनाइ छ ।

यसैगरी ‘कर्सेस’ का शो रनर डिक्सन र कूपर ले यसलाई ‘क्यासियो कीबोर्डमा बटन थिच्दा आउने सामान्य बीटजस्तो’ हो भनी प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार, उत्पादन छिटो आउँछ तर मौलिकता र आत्माको अभाव त्यहाँ पक्कै देखिन्छ । ‘एरो’का शो रनर मार्क गुगेनहेम भन्छन्, ‘शो रनर नाम नै भ्रामक छ । वास्तविक शो रनरले कलाकार, निर्देशक र सम्पूर्ण टिमलाई व्यवस्थापन गर्छ । यो नेतृत्वात्मक भूमिका हो, एआईले त्यस्तो कहिल्यै गर्न सक्दैन ।’

कानूनी चुनौती पनि उस्तै

शो रनरमा प्रयोग भएका पात्र वा कथा संसारले कपीराइट विवाद निम्त्याउन सक्छ । उदाहरणका लागि, डोनाल्ड ट्रम्प वा मार्क जुकरबर्गलाई प्रयोग गरेर व्यंग्यात्मक दृश्य बनाउन पाइन्छ भने, यसले कानूनी प्रश्न उठाउन सक्छ । कम्पनीले यसको समाधानका लागि 'गाइडलाइन’ र 'गार्डरेल’ राखेको दाबी गरेको छ । तर, विशेषज्ञहरूका अनुसार, यो विषय अझै संवेदनशील छ । बौद्धिक सम्पत्ति अधिकारको सम्मान नगरेसम्म यस प्रकारका सेवाले ठूलो विवाद निम्त्याउन सक्छ ।

अवसर र खतरा दुवै

शो रनरजस्ता प्लेटफर्मले मनोरञ्जन उद्योगलाई दुवैतिर धकेल्ने सम्भावना छ । यसले अवसरहरू पनि उत्तिकै ल्याउने छ भने खतरा पनि उत्तिकै देखाइरहेको छ । विश्लेषकहरूले अवसरका रूपमा दर्शकलाई कथा निर्माणमा प्रत्यक्ष सहभागी गराउने भएकाले दर्शक अझ बढी रोमाञ्चित हुन्छन् र अझ बढी संलग्न हुनेछन् ।

त्यस्तै नयाँ लेखक, विद्यार्थी वा सिर्जनाकर्मीलाई सिकाइ र अभ्यासको मौका दिनेछ । स्टुडियो र इन्टेलेक्चुअल प्रोपर्टीका मालिकलाई नयाँ आम्दानी स्रोत प्रदान गर्नेछ । यस्तै यसका खतरा पनि उत्तिकै रहेको विश्लेषकहरू बताउँछन् । उनीहरूको नजरमा पेशागत पटकथा लेखक, शो रनर र निर्देशकहरूको भूमिकामा भारी कटौती हुनेछ । 

मौलिकता भन्दा पनि 'एआईले छिटो बनाएको सामग्री’ बढ्ने जोखिम हुनेछ । दर्शकले सतही र दोहोरिने सामग्रीबाट थकान महसुस गर्ने सम्भावना बढी छ भन्ने केहीले धारणा राखिरहेका छन् । 

भविष्यतर्फ दृष्टि 

प्रविधिमा निरन्तर सुधार भइरहेको छ । भविष्यमा एआईले अझै गहिरो भावनात्मक संवाद, यथार्थपरक अभिनय र कथाको संरचना बनाउन सक्ने सम्भावना छ । तर, प्राविधिक उन्नतिले मात्र समस्या समाधान हुँदैन । कानूनी संरचना, बौद्धिक सम्पत्तिको सम्मान, कलाकार र लेखकहरूको श्रम मूल्य सुरक्षित गर्ने प्रणाली पनि आवश्यक छ ।

शो रनर अहिले रमाइलो र आकर्षक प्रयोग हो । यसले मनोरञ्जन उद्योगलाई नयाँ दिशा देखाएको छ तर यसले पूर्णरूपमा मानव सृजनशीलतालाई प्रतिस्थापन गर्ने अवस्था अझै आएको छैन। वास्तविक शो रनर र लेखकहरूले ल्याउने जीवनानुभूति, मौलिकता र सामाजिक चेतना एआईबाट सजिलै आउन नसक्ने विश्लेषकहरू बताउँछन् । 

त्यसैले आगामी वर्षहरूमा शो रनरजस्ता प्रविधि र मानव सृजनशीलताबीच सहकार्य हुने कि प्रतिस्पर्धा, त्यो हेर्न बाँकी छ । तर के कुरा निश्चित देखिन्छ भने मनोरञ्जन उद्योग अब पुरानै ढाँचामा चल्ने सम्भावना भने छैन ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्