नेभिगेशन
प्रदेश

झण्डै चार हजार जनाको हवाई उद्धार

काठमाडौं । विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, राहत तथा पूर्वाधार पुनःसञ्चालनको कार्यलाई निरन्तरता दिएको छ । शनिबार साँझ ७ बजेसम्म सेनाले हवाई साधनमार्फत मात्रै ३ हजार ९७५ जनाको उद्धार गरेको जनाएको छ ।
जारी प्रेस नोटअनुसार शनिबार विभिन्न प्रभावित क्षेत्रबाट १३ जनाको हवाई उद्धार गरिएको छ । हालसम्म उद्धार गरिएकामध्ये ३ हजार ६९८ जना नेपाली र २७७ जना विदेशी नागरिक छन् ।
रसुवागढी जलविद्युत् आयोजना, त्रिशूली–३ ए, त्रिशूली–३ बी, चिलिमे हाइड्रो तथा माथिल्लो त्रिशूली–१ का पावरहाउस र टनेल क्षेत्रमा पनि विशेष खोज तथा उद्धार टोली परिचालित छन् । माथिल्लो त्रिशूली–१ को टनेलभित्र थर्मल क्यामेराको सहायताले खोजी भइरहेको सेनाले जनाएको छ ।
त्रिशूली–३ बीको टनेलमा प्रवेशमार्ग सफा गरी एक्स्काभेटर लैजाने तयारी भइरहेको छ भने चिलिमे क्षेत्रमा मिनी एक्स्काभेटर र मड पम्पको सहायताले लेदो हटाउने काम भइरहेको छ ।
यसैबीच, नुवाकोटको विदुर–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जना सैनिकले पुल निर्माण कार्यलाई तीव्रता दिएका छन् ।
प्रभावित मैलुङदेखि स्याफ्रुबेंसीसम्म पैदल गस्तीमार्फत खोज तथा उद्धार जारी छ । त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म ३ हजार २९८ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका नौ हजार तीन सयभन्दा बढी फौज खटिएका छन् । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, राहत ढुवानी, अवरुद्ध सडक र पुल सञ्चालन तथा आपत्कालीन उपचारमा सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्