नेभिगेशन
विश्व

द्वन्द्वको अँध्यारोमा घामको उज्यालो

ओमदुर्मान (सुडान) – हरेक दिन घाम झुल्किनुअघि नै सुरु हुन्छ रान्दा अल–मन्सुरको दिनचर्या । देश द्वन्द्वग्रस्त छ । उज्यालोको भरोसा अब बिजुलीका लाइनमा होइन, घरको छतमाथि जडान गरिएका सोलार प्यानलमा छ ।
३१ वर्षीया गृहिणी अल–मन्सुर करिब एक वर्षदेखि आफ्ना तीन सन्तानसँगै बारम्बार हुने विद्युत् कटौतीबीच सौर्य ऊर्जाकै सहारामा जीवन चलाइरहेकी छन् । ‘हामी अत्यन्तै ठूलो पीडा भोगिरहेका छौँ,’ राजधानी खार्तुमनजिकैको ओमदुर्मानमा बस्ने उनले भनिन् । ‘बिहान बच्चाहरू स्कुल पुग्दा त्यहाँ बिजुली हुँदैन । उनीहरू फर्किँदा घरमा पनि बिजुली हुँदैन । यति धेरै गर्मीमा उनीहरूलाई पढ्न निकै गाह्रो छ ।’
सन् २०२३ को अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच जारी युद्धले विद्युत् पूर्वाधारलाई पनि तहसनहस बनाएको छ । द्वन्द्वमा कम्तीमा ५९ हजार मानिसको मृत्यु भएको छ भने करिब एक करोड ३० लाख जनसंख्या विस्थापित भएको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका अनुसार विद्युत् सञ्जालमा मात्र करिब ३ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको छ । ‘यो परिस्थितिसँग जुध्न हामीले सौर्य ऊर्जाको सहारा लिएका हौं । तर सुडानमा सबैले यो समाधान किन्न सक्दैनन्,’ साउदी अरेबियामा काम गर्ने श्रीमानले पठाएको रकमबाट परिवार चलाइरहेकी अल–मन्सुरले भनिन् ।
द्वन्द्वले बिजुलीको भर नहुँदा खार्तुममा सौर्य प्यानल, ब्याट्री र इन्भर्टरका विज्ञापन बढेका छन् । तर एउटा सामान्य घरका लागि १० किलोवाटको सौर्य प्रणाली जडान गर्न करिब ५ हजार डलर लाग्ने व्यवसायी मोहय एद्दिन अबु–बार्क बताउँछन् ।
‘थोरै आम्दानी भएका परिवारका लागि घरमा सोलार सिस्टम जडान गर्नु सजिलो छैन । तर, यो अब नभइ पनि नहुने भइसकेको छ,’ उनले भने ।

तर ४३ वर्षीया मधुमेहपीडित सरकारी कर्मचारी मनाहेल मदानीसँग यस्तो विकल्प रोज्ने सामथ्र्य छैन । इन्सुलिन सुरक्षित राख्न फ्रिजमा निरन्तर बिजुली चाहिने भए पनि उनी विद्युत् अभावसँग संघर्ष गरिरहेकी छन् ।
‘हरेक तीन–चार दिनमा गर्मी र विद्युत् कटौतीका कारण बिग्रिएको मेरो इन्सुलिनको सबै मौज्दात फाल्न बाध्य हुन्छु,’ उनले भनिन् । उनका अनुसार धेरै औषधि पसलले समेत औषधि सुरक्षित राख्न सौर्य प्रणाली जडान गर्न सकेका छैनन् ।
युद्धअघि ४ हजार ४ सय मेगावाट रहेको सुडानको विद्युत् उत्पादन अहिले १ हजार १ सय मेगावाटमा झरेको अधिकारीहरू बताउँछन् । देशमा वार्षिक ४ हजार घण्टाभन्दा बढी घाम लाग्ने भएकाले सौर्य ऊर्जाको अपार सम्भावना छ । तर महँगा आयातित उपकरण र मुलुकको कमजोर बन्दै गएको मुद्राले धेरै सुडानीका लागि घामको उज्यालो अझै महँगो सपना बनाइदिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्