नेपालको वर्तमान राजनीतिक परिवेशमा एउटा असाधारण आशा जन्मिएको छ । लामो समयदेखि परम्परागत राजनीतिक शक्तिको शासन, अस्थिरता, भ्रष्टाचार, सुशासनको कमजोरी र राज्य संयन्त्रप्रतिको बढ्दो अविश्वासबाट निराश बनेका नेपाली नागरिकले परिवर्तनको खोजी गरेका थिए । यही असन्तुष्टिको पृष्ठभूमिमा युवाको नेतृत्वमा भएको आन्दोलनले पुरानो राजनीतिक समीकरणलाई विस्थापित ग¥यो र नयाँ राजनीतिक शक्तिलाई अत्यन्त बलियो जनादेशसहित सरकार सञ्चालन गर्ने अवसर प्राप्त भयो ।
वर्तमान सरकारका प्रधानमन्त्री बालन्द्र शाह स्वयं ३६ वर्षको उमेरमा नेपालको सबैभन्दा कम उमेरका प्रधानमन्त्री बन्नुभएको छ । २०८२ सालको निर्वाचनपछि करिब दुई तिहाई बहुमतको शक्ति प्राप्त गरेको छ । मन्त्रिपरिषद्को ठूलो हिस्सा पनि ४० वर्षभन्दा कम उमेरका व्यक्तिहरूको छ । यो परिवर्तन सामान्य राजनीतिक घटना होइन, नेपाली समाजले पुरानो राजनीतिक संस्कारप्रति दिएको गम्भीर सन्देश हो । त्यसैले वर्तमान सरकारप्रति नागरिकको अपेक्षा पनि सामान्य सरकारप्रतिको भन्दा धेरै ठूलो छ ।
प्रधानमन्त्रीमा देशका लागि केही गरौं भन्ने हुटहुटी देखिन्छ । अधिकांश मन्त्री तथा सत्तारूढ राजनीतिक नेतृत्वमा पनि नयाँपन, ऊर्जा र परिवर्तनको आकांक्षा देखिन्छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ तर शासन केवल इच्छा, उत्साह र लोकप्रियताबाट सञ्चालन हुँदैन ।
अन्तर्राष्ट्रिय अनुभव
न्युजिल्यान्डकी जाकिन्दा आर्डेन ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनिन् । उनले सङ्कटको समयमा सहानुभूति, संवाद र संस्थागत संयमलाई नेतृत्वको महŒवपूर्ण आधार बनाइन् । क्राइस्टचर्चमा भएको आतङ्कवादी हमलापछि उनको मानवीय प्रतिक्रिया विश्वभर उदाहरण बन्यो । उनी युवा थिइन् तर उनले विशेषज्ञता, प्रशासनिक संयन्त्र र संस्थागत प्रक्रियालाई नेतृत्वसँग जोडिन् ।
फ्रान्सका इमानुएल म्याक्रों ३९ वर्षको उमेरमा राष्ट्रपति बने । युवा उमेरले उनलाई नयाँ राजनीतिक दृष्टिकोण अघि सार्न सहयोग ग¥यो तर फ्रान्सजस्तो जटिल राज्य सञ्चालन गर्न उनले अनुभवी प्रशासनिक तथा कूटनीतिक संयन्त्रलाई प्रयोग गरे । यसबाट सिक्नुपर्ने पहिलो पाठ हो–युवाले नेतृत्व गर्न सक्छन्, तर युवाहरू अनुभवको विकल्प बन्न सक्दैनन् ।
विश्व इतिहासमा आन्दोलन वा क्रान्तिबाट युवा उमेरमै सत्तामा पुगेका नेताहरू पनि छन् तर उनीहरूको अनुभव एकै प्रकारको छैन । बुर्किनाफासोका थोमस सांकारा यसको महŒवपूर्ण उदाहरण हुन् । उनी ३३ वर्षको उमेरमा सन् १९८३ मा क्रान्तिमार्फत सत्तामा पुगे । उनले देशको नाम नै परिवर्तन गरेर बुर्किनाफासो राखे । भ्रष्टाचार नियन्त्रण, शिक्षा, स्वास्थ्य, महिला सहभागिता तथा आत्मनिर्भरतालाई प्राथमिकता दिए । उनको शासनकाल छोटो भए पनि उनको राजनीतिक आदर्श आजसम्म प्रभावशाली छ । बुर्किनाफासोको राष्ट्रपतिको आधिकारिक विवरणले पनि ४ अगस्ट १९८३ देखि १५ अक्टोबर १९८७ सम्म उनको नेतृत्व र क्रान्तिकारी कार्यक्रमको उल्लेख गर्छ तर सांकाराको अनुभवको अर्को पक्ष पनि उत्तिकै महŒवपूर्ण छ । सन् १९८७ मा आफ्नै सहकर्मी ब्लेज कम्पाओरेको नेतृत्वमा भएको ‘कू’ मा परी उनको अवसान भएको इतिहास छ ।
दुई तिहाइको बहुमत अवसर हो
नेपालमा वर्तमान सरकार आन्दोलनको राजनीतिक ऊर्जा र जनताको मतबाट बनेको हो । त्यसैले यसले क्रान्तिकारी आवेगलाई लोकतान्त्रिक संस्थागत रूपान्तरणमा बदल्नुपर्छ, क्रान्तिको नाममा संस्था कमजोर बनाउने दिशामा जानु हुँदैन । वर्तमान सरकारसँग एउटा असाधारण राजनीतिक शक्ति छ । झन्डै दुई तिहाइको जनादेश छ । यस्तो शक्ति धेरै सरकारलाई प्राप्त हुँदैन तर ठूलो बहुमतसँग ठूलो जिम्मेवारी पनि आउँछ । जनताले सरकारलाई अझ बढी जिम्मेवार भएर काम गर्ने अवसर दिएका हुन् ।
नेपालमा पुराना राजनीतिक नेतृत्वहरूप्रति नागरिकहरूको आक्रोश छ । भ्रष्टाचार, ढिलासुस्ती, राजनीतिक संरक्षण, दण्डहीनता र प्रशासनिक कमजोरी हटाउन कठोर कदम चाल्न आवश्यक छ, तर कठोर कदम विद्यमान कानुन, प्रक्रिया, विधिसम्मत हुनुपर्दछ । लोकतन्त्रमा सरकारले गलत काम गर्ने व्यक्तिमाथि कारबाही गर्नसक्छ तर कारबाहीको पनि विधि हुन्छ, प्रक्रिया हुन्छ, प्रमाण चाहिन्छ । सम्बन्धित व्यक्तिलाई आफ्नो कुरा राख्ने अवसर हुन्छ ।
नेपालको प्रशासनिक संयन्त्रमा दशकौं काम गरेका कर्मचारी, न्यायाधीश, कूटनीतिज्ञ, प्राध्यापक, अर्थशास्त्री, प्राविधिक र सुरक्षा अधिकारीहरू छन् । उनीहरूसँग सबै उत्तर नहुन सक्छन् तर राज्य सञ्चालनका अनेक अनुभव छन् । नयाँ सरकारले उनीहरूलाई पुरानो व्यवस्था बोकेका व्यक्ति भनेर मात्र हेर्नु हुँदैन । स्मरण रहोस्, यी गुणस्तरयुक्त अनुभवी व्यक्तित्वहरू सरकारका नजिक पुगेर आत्मप्रशंसा गर्न चाहँदैन, उनीहरू स्वाभिमानी हुन्छन् । पुरानो पुस्ताको कमजोरी र अनुभवबाट पनि नयाँ पुस्ताले सिक्नुपर्छ । युवाको ऊर्जा र अनुभवी पुस्ताको ज्ञानबीच सम्बन्ध स्थापित गर्नसके मात्र राज्यसंयन्त्र प्रभावकारी हुन्छ ।
सरकारका लागि केही सुझावहरू
वर्तमान सरकार देशको अवस्था परिवर्तन गर्न जिम्मेवारीका साथ सत्तामा पुगेको छ । गल्ती गर्ने छुट वर्तमान सरकारलाई छैन । तसर्थ, केही विषयहरूलाई प्राथमिकतामा राखी शासन सञ्चालन गर्नु उपयुक्त हुन्छ । पहिलो हो, उत्साहलाई प्रणालीमा रूपान्तरण गर्नुपर्छ । प्रधानमन्त्रीको हुटहुटी सकारात्मक शक्ति हो तर प्रधानमन्त्रीको व्यक्तिगत ऊर्जा सम्पूर्ण राज्य संयन्त्रको कार्यक्षमतामा परिणत हुनुपर्छ । आफ्नो स्थायी संयन्त्रमाथि पूर्णविश्वास गर्नुपर्छ र त्यसलाई सक्षम बनाउनुपर्छ ।
दोस्रो हो, कानुनी प्रक्रिया र संस्थागत मर्यादा कहिल्यै नाघ्नु हुँदैन । भ्रष्टाचारविरुद्ध कठोरता आवश्यक छ तर कठोरता कानूनसम्मत हुनुपर्छ । सरकारले आफ्नो लोकप्रियता वा बहुमतको बलमा संवैधानिक संस्था, संसद्, न्यायपालिका, प्रशासन वा स्वतन्त्र नियामक निकायहरूलाई अझ बलियो बनाउनुपर्छ । तेस्रो हो, छोटो समयको लोकप्रियतालाई भन्दा दीर्घकालीन सुधार रोज्नुपर्छ । नयाँ सरकारसँग जनताको आशा धेरै हुँदा पनि सबै कुरा एकै वर्षमा परिवर्तन गर्न खोज्दा प्रशासनिक अव्यवस्था उत्पन्न हुन सक्छ । सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, कृषि, पूर्वाधार, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण र न्याय प्रणालीका क्षेत्रमा स्पष्ट प्राथमिकता निर्धारण गरेर चरणबद्ध रूपमा काम गर्नुपर्छ । चौथो हो, आलोचनालाई स्वागत गर्ने संस्कारको विकास हुनुपर्छ । लोकतन्त्रमा आलोचना सरकारको कमजोरी होइन, सरकारलाई सुधार्ने माध्यम हो । सञ्चारमाध्यम, विपक्षी दल, नागरिक समाज, प्राज्ञिक क्षेत्र र नागरिकले उठाएका प्रश्नलाई पुरानो सोच वा परिवर्तनविरोधीको संज्ञा दिँदै खारेज गर्नु हुँदैन ।
नयाँ नेतृत्वका लागि विश्वको सन्देश
दक्षिण एसियाली मुलुकमा भएका ‘जेन्जी’ पुस्ताको आन्दोलनले एउटा नयाँ राजनीतिक युग सुरु गरेको देखिन्छ । नेपालमा २०८२ सालको जेन्जी आन्दोलनले तत्कालीन सरकार ढालेपछि २०८२ सालको निर्वाचनमा ठूलो राजनीतिक परिवर्तन भयो । बंगलादेश र श्रीलंकामा पनि युवा तथा जनआन्दोलनले स्थापित राजनीतिक शक्तिलाई चुनौती दिए तर ‘च्याथम हाउस’ले हालै गरेको विश्लेषणमा यी नयाँ सरकारहरूले ठूलो जनादेश पाए पनि शासन सञ्चालनको जटिलता र अनुभवको कमीका कारण चुनौती सामना गरिरहेको उल्लेख छ । यसको अर्थ आन्दोलन जित्नु र राज्य चलाउनु फरक कुरा हो भन्ने पुष्टि हुन्छ ।
अन्त्यमा, पुराना राजनीतिक शक्तिप्रतिको निराशा, युवाको ऊर्जा, जनताको परिवर्तनको चाहना र झन्डै दुई तिहाइको संसदीय शक्ति, अहिले यी चारवटै कुरा एउटै सरकारको हातमा आएको अवस्था छ । वर्तमान सरकारका लागि आजको सबैभन्दा महŒवपूर्ण अस्त्र भनेकै ऊर्जाले भरिएका शिक्षित युवाहरू शासनमा हुनु हो । अपार जनताको समर्थनसहित युवाले नेतृत्व गरेको वर्तमान सरकारका बीच मुलुकमा व्यप्त भ्रष्टाचार, विकृति–विसंगति र ढिलासुस्तीको अन्त्य गर्दै सुशासन, समृद्धि, दिगो विकास गर्ने चुनौती रहेको देखिन्छ । (रासस)