नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

जेनजी आन्दोलनको मर्म र अपेक्षा

जेनजी आन्दोलनको एक वर्ष भएको छ । पुराना शासक तथा राजनीतिक नेतृत्वले मुलुकमा व्यापक भ्रष्टाचार, अनियमितता, शासन सत्तामा दलीयकरण र राजनीतिक भागबण्डाको विद्रोहमा युवा तथा विद्यार्थीवर्ग सडकमा उत्रियो । तत्कालीन शासन सत्ताले गत भदौ २३ गते गरेको विद्रोहको मर्म र भावलाई बुझ्न सकेन । उनीहरूको विद्रोहलाई झन् दबाउने नीति लियो । 
मुलुक लामो समयदेखि राजनीतिक भागबण्डा, दलगत सिण्डीकेट, आलोपालो प्रथाबाट चलेको थियो । कर्मचारीतन्त्र बिचौलियका र पार्टीका एजेण्टजस्ता भइसकेका थिए । सामान्य जनताको काम गर्ने सरकारी कार्यालयहरू भ्रष्टाचार र बेथितिका अखडा भइसकेका थिए । जनतामा चरम असन्तुष्टि र निराशा पनि जेनजी आन्दोलनको एउटा पक्ष बन्न पुग्यो । जसले गर्दा भदौ २३ र २४ गतेको आन्दोलनमा भएको दुई फरक घटनाहरूलाई गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने हुन्छ । 
सुशासन र भ्रष्टाचारविरुद्धको चेतनाः दण्डहीनता, राजनीतिक नातावाद (नेपोबेबी संस्कृति) र प्रशासनिक ढिलासुस्तीविरुद्ध युवापुस्ताले सडकमा नारा लगाए । नेताका छोराछोरी, कार्यकर्ता र ठूला मान्छेको मात्र काम हुने तर निमुखा जनता शासनसत्ताभन्दा बाहिर रहे । गठबन्धन सस्कृतिमा ठूला तीन दल र केही साना पार्टीहरू पालैपालो मन्त्रिमण्डलमा सहभागी भए । जसले नागरिकको तहमा विद्रोह जन्मियो ।  
तत्कालीन केपी ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालको प्रयोगमा गरको निषेधले युवापुस्तामा थप विद्रोह पैदा भयो । 
डिजिटल अधिकार र अभिव्यक्ति स्वतन्त्रताको नारा र मागलाई सरकारले बेवास्ता गर्दा आन्दोलन थप चर्कियो । भदौ २३ गतेको विद्रोहको भाषालाई सरकारले बुझ्न सकेन । त्यो आन्दोलनमा भएको राज्यको दमनबाट अनाहकमा बालबालिका मारिए र सयौंको संख्यामा घाइते भए । युवाको आन्दोलन गम्भीर मोडमा पुग्यो । 
भदौ २४ गते मुलुकमा नेता, सरकारी कार्यालय, सिंहदरबार, अदालत र प्रहरीका सयौं चौकी र कार्यालयहरू जले । मुलुक विध्वंसको बाटोमा पुग्यो । त्यो विध्वंस जो जसले जसरी गरेको भए पनि नेपालको इतिहासमा पक्कै पनि त्यसको समीक्षा र मूल्यांकन हुने छ । सर्वोच्च अदालत, सिंहदरबार र ठूलो संख्यामा निजी सम्पत्तिहरू जले । पक्कै पनि जेनजी आन्दोलनको मर्म र भावना र भदौ २४ गतेको विध्वंसलाई गम्भीर रूपमा विश्लेषण गर्नुपर्छ । 
जेनजी आन्दोलन पछि मुलुक नयाँ कोर्षमा अगाडि बढेको छ । नागरिकको तहमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । जुन सरकारले निर्धारित समयभित्रै निर्वाचन गर्न सफल भयो । निर्वाचनबाट मुलुकले लामो समयपछि झण्डै दुई तिहाइको बहुमत प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)को नेतृत्वको सरकार बनेको छ । यो सरकार गठन भएसँगै जनतालाई सुशासन र  सरकारी सेवालाई सर्वसुलभ र जनताप्रति जिम्मेवार प्रशासनको प्रतिबद्धता व्यक्त गरेको छ । 
आज नागरिकको अपेक्षा चुलिएको छ ।  सरकार गठन भएलगत्तै प्रशासनिक सुधार गर्ने, नेपोबेबीको संस्कृति तोड्ने र सरकारलाई नागरिक प्रति जवाहदेही बनाउने घोषणा गरिएका थियो । 
रास्वपा सरकारले हिजो जेनजी आन्दोलनको मर्म र भावनालाई बुझ्न नसकेको गुनासो बढेको छ । आज पनि एकथरी युवा बेरोजगार र गरिबीको कारण देश छाड्न बाध्य छन् । मुलुकको अर्थतन्त्र युवाले विदेशबाट दुःख गरेर कमाएको रेमिट्यान्समा निर्भर छ । कर्मचारीन्त्रलाई जनताको सेवाप्रति जिम्मेवार बनाउन सरकार कति सफल  भएको छ ? प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारलाई पक्कै पनि अवसर र चुनौती दुवै छ । यो वर्ष पनि भदौ महिना विपत्ति र विनाशको महिनाका रूपमा परिणत भयो । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले निम्ताएको महाविपत्तिमा अहिले सरकार छ । बाढी र विपत्तिमा परेको नागरिकको उद्धार र विपद् व्यवस्थापनमा सरकारको बलियो उपस्थिति र सुरक्षा निकायले गरेको उद्धार र विपद् व्यवस्थापनमा गरेको प्रयासबाट पनि सरकारको प्रयासलाई नागरिकको तहमा प्रशंसा बटुलिएको छ ।   
राजनीतिक जवाफदेहिताः सत्ता र पहुँचमा भएका नेता तथा अधिकारीहरूलाई जनताप्रति प्रत्यक्ष उत्तरदायी बनाउन सरकारले बलियो प्रयास गर्न अझै धेरै गर्नु पर्ने हुन्छ । जनता आज पनि महँगी, गरिबी र बेरोजगारीको चर्को मारमा छन् । राज्यले नागरिकको सरकारको प्रत्याभूति दिन सक्नुपर्छ । विपन्न र कमजोर वर्ग आज पनि समस्यामा छन् । राज्य सत्तामा बेथिति र भ्रष्टाचार आज पनि रोकिएको छैन । राजनीतिक परिवर्तनपछि परम्परागत सत्ता संरचनामा हलचल आएको छ ।  नयाँ नेतृत्वले पनि जनताको आशा विश्वासलाई कायम गर्न सक्नुपर्छ । जेनजी आन्दोलनको मर्म र भावनालाई बुझ्न वर्तमान सरकारले आफैंभित्र पनि सुधार र बलियो इमानदारिता र लोकतान्त्रिक चरित्र र शैलीलाई कायम राख्न सक्नुपर्छ । नागरिकको आवाज र उनीहरूको अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि किसिमले अवरोध नगरी वर्तमान सरकारले आपसी भागबण्डा, नातावाद तथा दलगत स्वार्थ भन्दा माथि उठेर जनता र मुलुकको हितमा काम गर्न सकेको अवस्थामा जेनजीको भावना र उनीहरूको त्यागलाई सम्मान हुने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्