नेभिगेशन
विश्व

जर्मनीमा अति दक्षिणपन्थको ऐतिहासिक उभार

बर्लिन (एपी÷एजेन्सी)– दोस्रो विश्वयुद्धको भयावह इतिहाससँग जोडिएको जर्मनीमा सात दशकभन्दा बढी समयदेखि अकल्पनीय मानिँदै आएको राजनीतिक दृश्य अहिले वास्तविकताको निकै नजिक पुगेको छ । नाजी शासनको अन्त्यपछि आधुनिक जर्मनीमा कहिल्यै राज्य वा संघीय सरकारको नेतृत्व नगरेको अति दक्षिणपन्थी शक्ति अब पहिलोपटक राज्य सरकार बनाउने सम्भावनाको संघारमा पुगेको छ ।
पूर्वी जर्मनीको स्याक्सोनी–आनहाल्ट राज्यमा आइतबार भएको निर्वाचनमा आप्रवासनविरोधी तथा रूसप्रति नरम दृष्टिकोण राख्ने अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले ऐतिहासिक विजय हासिल गरेपछि जर्मन राजनीतिमा ठूलो हलचल मच्चिएको छ । प्रारम्भिक आधिकारिक परिणामअनुसार एएफडीले ४३.८ प्रतिशत मत प्राप्त गरेको छ । यो परिणाम उसका निकटतम प्रतिद्वन्द्वी चान्सलर फ्रेडरिक मर्जको क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) भन्दा दोब्बरभन्दा बढी हो ।
एएफडीले राज्य संसद्का ८३ मध्ये ३९ सिट जितेको छ । सरकार बनाउन आवश्यक पूर्ण बहुमतभन्दा ऊ केवल तीन सिटले पछाडि छ । यही अंकगणितले निर्वाचन परिणामलाई जर्मनीको युद्धपछिको राजनीतिक इतिहासकै सबैभन्दा संवेदनशील मोडमध्ये एक बनाइदिएको छ ।
जर्मनीमा दोस्रो विश्वयुद्धपछि नाजीवाद र अति दक्षिणपन्थी राजनीतिको पुनरुत्थान रोक्न विशेष संवैधानिक तथा राजनीतिक संरचना विकास गरिएको थियो । हिटलरको नाजी शासन, यहुदी नरसंहार र युद्धको विनाशले जर्मन समाजमा यस्तो राजनीतिक धारप्रति गहिरो अविश्वास पैदा गरेको थियो । त्यसैले आधुनिक जर्मनीका मुख्यधारका दलहरूले दशकौंसम्म अति दक्षिणपन्थी शक्तिसँग सहकार्य नगर्ने अलिखित राजनीतिक सहमति कायम राखे ।
यही नीतिलाई जर्मन राजनीतिमा ‘फायरवाल’ भनिन्छ, अर्थात् एएफडीलाई चुनावमा मत प्राप्त भए पनि सत्तासम्म पुग्न नदिने राजनीतिक पर्खाल ।
एएफडी सन् २०१३ मा सुरुमा युरो मुद्रा र युरोपेली संघप्रति संशय राख्ने राजनीतिक शक्तिका रूपमा स्थापित भएको थियो । तर समयसँगै पार्टी आप्रवासनविरोधी, राष्ट्रवादी र अझ कडा दक्षिणपन्थी धारतर्फ सर्दै गयो । सन् २०१५ को शरणार्थी संकटपछि जर्मनीमा ठूलो संख्यामा शरणार्थी र आप्रवासी प्रवेश गर्दा पार्टीले जनताको असन्तुष्टिलाई राजनीतिक समर्थनमा बदल्न सफल भयो । पछिल्ला वर्षमा महँगी, कमजोर अर्थतन्त्र, आप्रवासन, युक्रेन युद्ध र परम्परागत दलहरूप्रतिको निराशाले एएफडीको समर्थनलाई झन् बलियो बनाएको विश्लेषकहरूले बताएका छन् ।
विशेषगरी पूर्वी जर्मनीका राज्यहरूमा एएफडीको प्रभाव बढी देखिएको छ । पूर्व र पश्चिम जर्मनीबीचको आर्थिक तथा सामाजिक असमानताको अनुभूति, पुराना राजनीतिक दलहरूप्रतिको असन्तोष र आप्रवासनसम्बन्धी चिन्तालाई पार्टीले प्रभावकारी रूपमा आफ्नो पक्षमा प्रयोग गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण छ ।
स्याक्सोनी–आनहाल्टको एएफडी शाखालाई त्यहाँको घरेलु गुप्तचर निकायले सन् २०२३ देखि ‘प्रमाणित दक्षिणपन्थी अतिवादी’ संगठनका रूपमा वर्गीकृत गर्दै आएको छ । एएफडीले भने यस्तो वर्गीकरणलाई राजनीतिक रूपमा प्रेरित आरोप भन्दै अस्वीकार गरेको छ ।
यही पृष्ठभूमिमा आइतबारको परिणाम जर्मनीका लागि सामान्य क्षेत्रीय निर्वाचन मात्र रहेन । यो ‘फायरवाल’ को अहिलेसम्मकै सबैभन्दा ठूलो परीक्षा बनेको छ ।
एएफडीका राज्यस्तरीय नेता तथा मुख्यमन्त्रीका उम्मेदवार उलरिख सिग्मुन्डले चुनावअघि आफ्नो पार्टीले पूर्ण बहुमत ल्याएर अरू दलको सहयोगबिना सरकार बनाउने लक्ष्य राखेका थिए । त्यो लक्ष्य पूरा नभए पनि उनले परिणामलाई सरकार बनाउने स्पष्ट जनादेशका रूपमा व्याख्या गरेका छन् ।
उनले अन्य दल तथा व्यक्तिगत सांसदहरूसँग सम्पर्क गर्ने संकेत दिएका छन् । एएफडीलाई सरकार बनाउन तीन जना सांसदको समर्थन वा अन्य कुनै राजनीतिक संयोजन आवश्यक पर्नेछ । रूसप्रति नरम दृष्टिकोण र आप्रवासनविरोधी नीतिमा केही समानता रहेको बीएसडब्ल्यू पार्टीले निश्चित परिस्थितिमा सहयोग गर्न सक्ने संकेत दिएपछि राजनीतिक गणित झन् रोचक बनेको छ ।
तर सबैभन्दा ठूलो प्रश्न अझै उही छ – के जर्मनीको दशकौं पुरानो ‘फायरवाल’ टिक्न सक्छ ?
मुख्यधारका सीडीयू, एसपीडी, ग्रीन र वामपन्थी दलहरूले एएफडीसँग सहकार्य नगर्ने अडान दोहो¥याएका छन् । एएफडीबाहेकका सबै दल मिलेर सरकार बनाउन सक्ने सैद्धान्तिक सम्भावना भए पनि त्यस्तो गठबन्धन राजनीतिक रूपमा कठिन र अस्थिर हुन सक्ने देखिएको छ ।
निर्वाचन परिणाम चान्सलर फ्रेडरिक मर्जका लागि व्यक्तिगत र राजनीतिक दुवै हिसाबले ठूलो धक्का बनेको छ । उनको सीडीयूले दशकौंयताकै गम्भीर निर्वाचन पराजय भोगेको छ ।
मर्जले आफ्नो पार्टी परिणामबाट ‘गहिरो रूपमा स्तब्ध’ भएको स्वीकार गरे । तर उनले नेतृत्व छाड्ने कुनै संकेत दिएनन् । उनले भने, ‘हार मानेर बस्नु मेरा लागि विकल्प होइन ।’
गत वर्ष सत्तामा आउनुअघि मर्जले एएफडीको प्रभाव कमजोर पार्ने वाचा गरेका थिए । तर उनको नेतृत्वमा रहेको सीडीयू–सोसल डेमोक्रेट गठबन्धन सरकार झन् अलोकप्रिय बन्दै जाँदा एएफडीको समर्थन बढेको छ ।
युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी लामो समयदेखि सुस्त आर्थिक वृद्धिसँग जुधिरहेको छ । मर्ज सरकारले पेन्सनलगायत क्षेत्रमा कठिन र अलोकप्रिय सुधार अघि बढाउन खोजिरहेको छ । तर जनतालाई ती सुधार किन आवश्यक छन् भन्ने विश्वास दिलाउन सरकार संघर्षरत छ ।
सोमबार मर्जले भने, ‘जर्मनीलाई आधारभूत सुधार आवश्यक छ । यो हाम्रो देशको भविष्य र हाम्रा छोराछोरी तथा नातिनातिनाका अवसरको प्रश्न हो ।’
उनले सुधारको बाटोबाट पछि नहट्ने स्पष्ट गर्दै आफ्नो दृढता अटुट रहेको बताए । तर उनले सुधारलाई केवल तर्कले नभई जनताको भावना बुझ्नेगरी पनि व्याख्या गर्नुपर्ने स्वीकार गरे ।
एएफडीको विजयले मर्जमाथि घरेलु दबाब मात्र बढाएको छैन, युरोपेली राजनीतिमा पनि चिन्ता पैदा गरेको छ । जर्मनी अहिले युक्रेनमाथि रूसको आक्रमण, युरोपेली सुरक्षासम्बन्धी चुनौती र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको जटिल सम्बन्धका बीचमा छ ।
एएफडी भने रूससँग सम्बन्ध सुधार्ने र युक्रेनलाई जर्मनीले दिँदै आएको समर्थनप्रति आलोचनात्मक धार राख्छ ।
यसैकारण मर्जले जर्मनीका अन्तर्राष्ट्रिय साझेदारलाई आश्वस्त पार्ने प्रयास गरे । उनले भने, ‘हाम्रा संस्थाहरू बलिया र स्थिर छन् ।’ उनले जर्मनी आफ्नो संविधान र मूल्यमान्यतामा अडिग रहने तथा रूसविरुद्ध स्वतन्त्रताको रक्षा गर्ने आफ्नो धारणाबाट ‘एक मिलिमिटर पनि पछि नहट्ने’ बताए ।
जर्मनी युक्रेनका प्रमुख युरोपेली समर्थकमध्ये एक हो । एएफडीको जितलाई भने युरोपका विभिन्न दक्षिणपन्थी तथा राष्ट्रवादी नेताहरूले उत्सवका रूपमा लिएका छन् । अर्बपति इलन मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत पार्टीलाई ‘वेल डन !’ भन्दै बधाई दिएका छन् । सिग्मुन्डले तत्कालै उनलाई समर्थनका लागि धन्यवाद दिएका थिए ।
रुसी राष्ट्रपति कार्यालयका विशेष प्रतिनिधि किरिल दिमित्रिएभले यसलाई ‘व्यावहारिक एएफडीको ऐतिहासिक विजय’ भनेका छन् । स्पेन र पोर्चुगलका दक्षिणपन्थी दलका नेताहरूले पनि पार्टीलाई बधाई दिएका छन् ।

तर युरोपका अन्य नेताहरूले यसलाई चेतावनीको घण्टीका रूपमा हेरेका छन् । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले एएफडीको विजयमा खुसी हुनेहरूमाथि कडा टिप्पणी गरेका छन् । फ्रान्सका विदेशमन्त्री जाँ–नोएल बारोले एएफडीको राजनीतिक कार्यक्रमलाई ‘युरोपेली भावनाप्रतिको विश्वासघात’ भन्दै अति दक्षिणपन्थी विचारको सामान्यीकरण रोक्नुपर्ने बताएका छन् ।
फ्रान्समा अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनमा पनि अति दक्षिणपन्थी शक्ति बलियो दाबेदार मानिएकाले जर्मनीको परिणामलाई युरोपव्यापी राजनीतिक परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।
स्याक्सोनी–आनहाल्टको चुनावले यसरी जर्मनीको एउटा राज्यको राजनीतिक शक्ति सन्तुलन मात्र बदलेको छैन । दोस्रो विश्वयुद्धपछि निर्माण गरिएको जर्मनीको राजनीतिक सुरक्षा संरचना, नाजी अतीतबाट सिकिएको ऐतिहासिक चेतना र लोकतान्त्रिक दलहरूबीचको दशकौं पुरानो सहमतिमाथि समेत प्रश्न उठाइदिएको छ ।
अब प्रश्न एएफडीले सबैभन्दा धेरै मत पायो कि पाएन भन्ने मात्र रहेन । मुख्य प्रश्न हो – जर्मनीले अति दक्षिणपन्थलाई सत्ताबाट टाढा राख्न बनाएको राजनीतिक पर्खाल अझै कति बलियो छ ? उत्तर स्याक्सोनी–आनहाल्टमा बन्ने सरकारसँगै जर्मनीको आगामी राष्ट्रिय राजनीतिक दिशाले पनि दिनेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्