पृष्ठभूमि
नेपालको राजधानी काठमाडांै उपत्यकाले राष्ट्रको अर्थतन्त्रमा पु¥याएको योगदान र वैभवशाली संस्कृति सम्पदाका कारण राष्ट्रको समृद्धिमा अतुलनीय भूमिका रहेकोे छ । सहर विगतका केही दशकमा अस्तव्यस्त र कंक्रिट जङ्गलका रूपमा विकास भयो । यसै सन्दर्भमा प्रस्तावित बृहत् काठमाडांै उपत्यका मेट्रोरेल प्रवर्धन समूहले हालको ‘टुक्राटाक्री विकासे नीति’बाट हटेर दीर्घकालीन दृष्टिकोणअनुसार ‘मेट्रोरेलसहितको एकीकृत यातायात र काठमाडांै उपत्यकाको समष्टिगत विकास’ को रणनीतिक अवधारणा २०२५ अघि सारेको छ ।
रणनीतिक अवधारणा २०२५ ले छवटा विशिष्ट बुँदाहरू अगाडि सारेको छ । जस्तै ः १) काठमाडांै उपत्यकाको समष्टिगत सहरी विकास, प्राचीन गौरवको पुनर्जागरण, गतिशीलतामा अभिवृद्धि र सहज यातायातको प्रावधान, २) मेट्रोरेललाई केन्द्रमा राखी विभिन्न यातायातका साधनहरू र सहरी विकाससँग एकीकरण, ३) प्रत्येक नगरपालिकाहरूको मौलिकताअनुसार मेट्रोरेलका बिसौनीहरूलाई व्यापारिक केन्द्रका रूपमा स्थापना र सबै नगरपालिकाहरूलाई समान आर्थिक अवसरको सिर्जना, ४) स्वच्छ वातावरण, संस्कृति सम्पदाका मूल्यमान्यताको संरक्षण, पर्यटनको विकास, हराभरा र खुल्ला क्षेत्रको विकास, ५) स्थानीय समुदाय तथा सरोकारवालाहरूसँग समन्वय, छलफल र परामर्श, सर्वसमावेशी र सर्वसहमतिका लागि संस्कृति परिषद्को गठन, ६) मेट्रोरेल, एकीकृत यातायात, समष्टिगत सहरी विकासकोे जटिल कार्यक्रम र आयोजना व्यवस्थापन गर्न र संस्थागत सुदृढीकरणका लागि एकल द्वार कार्यदल वा टोली गठन ।
मेट्रोरेल लोककल्याण र समृद्धिको आयोजना
लन्डनमा मेट्रोरेल सञ्चालन भएको १६३ वर्ष भयो । मेट्रोरेलको आधारभूत संरचना सयौं वर्ष सेवारत रहने र आफ्नै निर्देशित आधिकारिक पथमा सीमित रहने हुनाले परम्परागत सहर बस्तीहरूको मौलिक स्वरूप सुरक्षित रहन्छ । सडक यातायात जस्तो प्रत्येक १० वर्षमा चौडा गर्नुपर्ने, सहरी बस्तीहरू विस्थापित गर्नुपर्ने बाध्यता हुँदैन । मेट्रोरेल सञ्चालनमा रहेका ६३ देशमा लोककल्याणकारी आयोजना हुनुका साथै ती सबै सहरहरूको विकास, संस्कार र समृद्धिको आधार बन्छन् ।
बृहत् काठमाडौँ उपत्यका मेट्रोरेल अवधारणा २०२५ मा प्रस्तावित आयोजनामा उल्लेखित लोककल्याणकारी केही तŒवहरू संक्षिप्तमा यहाँ प्रस्तुत गरिएका छन्:
सरकारलाई प्रत्यक्ष लाभः मेट्रोरेल निरन्तर रूपमा सञ्चालन रहने, सहरलाई एकीकृत गर्ने र सहरको गौरव संरक्षण गर्ने भएकाले सडक यातायात संरचना निर्माणमा बचत, थप कर, राजस्व, शुल्क, दस्तुरको असुली, पुँजीगत लगानी बचत, जग्गा अधिग्रहणमा बचत, बिसौनीहरू वरिपरि नयाँ व्यापारिक केन्द्र तथा आवासीय क्षेत्रको निर्माणले प्रत्यक्ष कर; मेट्रोरेलले साधारण ट्राफिकको करिब २४–३० प्रतिशत समाहित गर्ने भएकाले सडक विस्तार, सवारीसाधन र इन्धन आयातमा लगानीको बचत, एकीकृत यातायात र समष्टिगत सहरी विकास नभएका कारण काठमाडौं उपत्यकाले वार्षिक रूपमा बेहोरिरहेको हानी नोक्सानीमा बचत हुने देखिन्छ ।
जनसमुदायलाई प्रत्यक्ष लाभः नयाँ रोजगारी सिर्जना, यात्रा समयको बचत, थप कार्य समयको उत्सर्जन, विभिन्न निर्माणबाट लगानी र सुविधा उपयोगको अवसर प्राप्त हुन्छ । निजी क्षेत्रलाई उद्योग व्यापारमा लगानीको अवसर प्राप्त हुने देखिन्छ ।
प्रस्तावित मेट्रोरेलको सञ्जाल
प्रस्तावित मेट्रोरेल रणनीतिक अवधारणा २०२५ का अनुसार हालको अवस्थामा काठमाडौंका फेदीदेखि ऐतिहासिक पुरानो बस्तीसम्म सहर फैलिसकेका कारण एकीकृत यातायातको व्यवस्था पनि उपत्यकाभर विस्तार गर्नु पर्ने देखिन्छ । यसै आवश्यकतालाई ध्यानमा राखी सातवटा रेखा वा पथहरू रहेको मेट्रोरेलको सञ्जाल प्रस्ताव गरिएको छ । यस सञ्जालमा कूल लम्बाईको १९२.५ किमि, मुख्य बिसौनी नौवटा र सहायक बिसौनी १२१ वटा हुनेछ ।
राष्ट्रिय गौरवका आयोजनाः काठमाडौँ मेट्रोरेलको भ्रम
काठमाडांै मेट्रोरेलसम्बधी सन् २०१२ मा मेट्रोरेल विभागले सम्भाव्यता अध्ययन सुरु गरेको थियो । काठमाडौं रिङरोडभित्र सीमित रहेको उक्त मेट्रोरेलको संरचनामा जम्मा ७८ किमि लम्बाई थियो । राष्ट्रिय गौरव आयोजनाका रूपमा समावेश गरिएको यस आयोजनाले १४ वर्षको समयावधि र ३० करोड खर्चपछि पनि कुनै सकारात्मक नतिजा दिन सकेन । हालै २०८३ सालमा पुरानै ढंगले फेरि डिपिआरका लागि प्रकाशित गरिएको सूचना पनि रद्द ग¥यो ।
प्राचीन सभ्यता
परापूर्वकालमा काठमाडौँ उपत्यकामा एक विशाल ताल थियो । यस तालको अद्भूत सौन्दर्यको आकर्षणले ठूला ऋषिमुनिहरू ज्ञानको खोजीमा आउँथे र वर्षांै तपस्या गर्थे । त्यसकारण काठमाडांै उपत्यका ज्ञानभूमि, तपोभूमि, पुण्यभूमि, शान्तिभूमिको नामले आज पनि प्रख्यात छ । यस तालमा फुलेको कमलको फूलबाट उत्पत्ति भएको दिव्य ज्योतिको दर्शन गर्न आएका दिव्य पुरुषहरूमध्ये महामञ्जुश्रीको विशेष महŒव छ । मञ्जुश्री, खड्गयोगिनी(वज्रयोगिनी), जलविनायक तथा आदिनाथ चारै जनाको सल्लाहले यस तपोभूमिमा मानवीय बसोबास गर्न उपयुक्त स्थानको सिर्जनाका लागि यस तालबाट पानी निकालियो र एउटा नयाँ सभ्यताको प्रारम्भ भयो । त्यो सभ्यता सहअस्तित्व, सहमति, समावेशीकरण, सर्वसहमति र सर्वसम्मतिको युग थियो । सन् १९७९ मा काठमाडौं उपत्यकाले विश्व सम्पदा क्षेत्रको उपाधि प्राप्त ग¥यो ।
अस्तव्यस्त सहर र अनियन्त्रित यातायात
महामञ्जुश्रीको त्यो प्राचीन सभ्यता ‘बृहत् काठमाडांै उपत्यका क्षेत्र’ मा केही दशकदेखि अनियन्त्रित बसोबास भएको छ । सहरी विकास तथा आधुनिक पूर्वाधार निर्माणले ल्याएको वायु प्रदूषण, प्राकृतिक वातावरणीय विनाश, अनियन्त्रित यातायात, सडक दुर्घटना, प्राचीन बस्ती, संस्कृति र सम्पदामा अतिक्रमण, सार्वजनिक स्वास्थ्यमा दुष्प्रभाव जस्ता चुनौतीहरूका कारण यहाँको जनजीवन दुष्कर र अस्तव्यस्त हुँदै गरेको तथ्य सर्वविदितै छ ।
विगत ७० वर्षमा ५ वटाभन्दा बढी सहरी विकास गुरुयोजनाहरू र १४ वटाभन्दा बढी यातायात सुधार आयोजनाबाट ‘टुक्राटाक्री उपलब्धि’ मात्रै हात लाग्यो । अस्तव्यस्त सहर तथा अनियन्त्रित यातायातमा मात्र सीमित रह्यो । सातवटा स्मारक क्षेत्रले सुसज्जित विश्व सम्पदा क्षेत्र काठमाडौं उपत्यका टुक्राटाक्री आयोजनाका कारण र युनेस्कोको मापदण्ड पालना नहुँदा असीम उपहासका कारण भएको छ । हाल निर्माण गरिएका तथा प्रस्तावित फ्लाइओभर र अन्डरपासहरू पनि टुक्राटाक्री आयोजनाको रूप भएको कारण दीर्घकालमा उपहास नहोस् ।
सवारीसाधनको अनियन्त्रित आयात
यस विषम परिस्थितिबाट मुक्तिका लागि नगरपालिकाहरूले गरेका प्रयासहरू प्रशंसनीय रहेका छन् । मोनोरेल, फ्लाइओभर, केवलकार, सडक चौडा गर्ने आयोजनाहरूले साधन स्रोत तथा समयको दुरुपयोगबाहेक अन्य सकारात्मक प्रगति हात लाग्न सकेन । काठमाडौँ उपत्यकाभित्र सार्वजनिक यातायातको एकीकृत सेवा विस्तार हुन नसक्नुको कारण निजी सवारीसाधनको घनत्व तथा स्वामित्वमा अभिवृद्धि हो । यसले गर्दा सडक चौडा गर्नुको अर्थ रहेन । प्रत्येक पूर्वाधार आयोजनाले जनतामाझ त्रास फैलाउनु र रैथाने बस्ती विस्थापित गर्नु बाहेक अन्य कुनै लक्ष्य देखिएन ।
दीर्घकालीन अवधारणा अभाव
दूरदृष्टि, पौराणिक इतिहास, संस्कृति, सम्पदा र प्रकृतिप्रतिको समझदारी तथा सम्मानका साथै एकीकृत सहरी विकास तथा यातायात व्यवस्थाको अभावको नतिजा प्रष्ट महसुस भएको छ । साथै संस्थागत रूपमा एकद्वार संस्था तथा स्वामित्व, काठमाडौं उपत्यका सहरी विकासकोे दूरगामी दृष्टिकोण तथा दीर्घकालीन अवधारणाको अभाव स्पष्ट देखिन्छ । विभिन्न सरकारी निकायहरूबीच समन्वयको अभाव पनि उत्तिकै देखियो ।
एकीकृत यातायात व्यवस्थापन तथा सहरी विकासको आवश्यकता
यस अस्तव्यस्त परिस्थितिबाट मुक्ति तथा दीर्घकालीन समाधानका रूपमा वि.सं. २०६८ देखि बृहत् काठमाडांै उपत्यका क्षेत्रमा मेट्रोरेल प्रणालीका आधारमा एकीकृत यातायात व्यवस्थापनका साथै एकीकृत सहरी विकासको आवश्यकता महसुस गरी समय–समयमा आयोजना गरिएका गोष्ठीहरूमा सशक्त आवाज उठाउँदै आएको छ ।
प्रस्तावित मेट्रोरेलको प्रारूप
काठमाडौं उपत्यकाको भूउपयोगको तथ्यांकअनुसार धेरैजसो साना घडेरी र भवनहरूको बाहुल्य रहेको अस्तव्यस्त सहरको विकासको एउटा कारण हुन सक्छ । दीर्घकालमा ‘काठमाडौं उपत्यकालाई समष्टिगत रूपमा एकीकृत विकसित सहर’मा परिवर्तन गर्न घरजग्गा बजारलाई प्रोत्साहन गर्नुका साथै यातायातलाई एकीकृत गर्नु आवश्यक छ ।
एकीकृत यातायात तथा समष्टिगत एकीकृत सहर विकासलाई अवसरका रूपमा उपयोग गर्न मेट्रोरेलका स्टेसनहरू उपयुक्त हुन सक्छ र त्यस ठाउँको मौलिकताले विशेष महŒव दिनेछ । दीर्घकालमा यो आफंैमा एक महŒवपूर्ण उपलब्धि साबित हुनेछ ।
सहरी विकासबिना आर्थिक हानी नोक्सानी
एक प्रारम्भिक अध्ययनअनुसार, व्यवस्थित यातायातको अभावको कारण भिडभाड, ढिलागति, दुर्घटना, वायु प्रदूषण, सडक चौडा गर्ने र बसोबास विस्थापन, सम्पदामाथि अतिक्रमण, अव्यवस्थित सहरीकरण, सवारीसाधन आयात, इन्धन खपत, कार्बन उत्सर्जन, सवारीसाधन मूल्य ह्रास, जामले बिरामी खर्च इत्यादि अनावश्यक खर्च मात्रै पनि वार्षिक यूएसडी १.२१ अर्बभन्दा बढी क्षति भएको अनुमान छ । यो क्षति ५० प्रतिशतमा घटाउन सक्यो भने पनि लाभ र खर्चको अनुपात सकारात्मक हुने देखिन्छ ।
साथै प्रत्यक्ष रोजगारी सिर्जना, घरजग्गा, बजार, पर्यटन र उद्योग विकासबाट थप आर्थिक उन्नतिको सम्भावना बढी हुनेछ । प्रत्यक्ष लाभबाट सञ्चालन खर्च बेहोर्ने र अप्रत्यक्ष लाभबाट लगानीमा अनुदान दिने नीति अवलम्बनले आर्थिक दिगोपनको सम्भाव्यता वृद्धि हुने देखिन्छ । मेट्रोरेलको प्रस्तावित सञ्जालको प्रारूपले काठमाडौं उपत्यकाको दीर्घकालीन विकासलाई निर्देश गर्दछ तथा हराभरा स्वच्छ, मनमोहक, बाँच्न योग्य सहरका रूपमा विकसित गर्न एक यन्त्र साबित हुनेछ ।
कार्यान्वयन अवधि
काठमाडौं उपत्यका मेट्रोरेल कार्यान्वयनका लागि प्रारम्भिक अध्ययन दुई वर्ष, विस्तृत अध्ययन र डिजाइन तीन वर्ष र पहिलो रेखाको निर्माण अवधि पाँच वर्ष समेत जोड्दा कम्तीमा १०–२० वर्ष लाग्ने देखिन्छ ।
एकलद्वार संस्था र सबल नेतृत्वको आवश्यकता
काठमाडौं उपत्यकाको विकास अस्तव्यस्त रहेको विषयमा माथि धेरै चर्चा भइसक्यो । प्रत्येक पूर्वाधारको प्रारम्भले स्थानीय जनसमुदाय तथा योजनाकारहरूबीच अविश्वास, त्रास तथा संघर्षको वातावरण सिर्जना गरेको थुप्रै अनुभव छ । जनकल्याणको आयोजनामा पनि सामूहिक सहमतिको खोजी हुँदैन । मेट्रोरेलको अध्ययन पनि विभिन्न संस्थाहरूमा भागबन्डाका कारण उपलब्धिमूलक हुन सकेन । यातायात तथा सहरी विकाससम्बन्धी संस्थाहरूको एकआपसमा समन्वय र सर्वसम्मत निर्णय गर्ने क्षमताको विकासका लागि एकलद्वार नेतृत्वकोे परिकल्पना गरिएको छ ।
एकलद्वार संस्थाका रूपमा एक सशक्त कार्यदल टोली गठन गर्नुपर्ने देखिन्छ जसले सबै सरोकारवाला विभाग, मन्त्रालय तथा सामुदायिक संस्थाहरूसंग समन्वय गर्दछ र नियम कानूनको परिमार्जनका साथै नयाँ नियम कानूनको व्यवस्था गर्दछ । नेपालमा नयाँ नियम कानूनको व्यवस्था गर्नु एक असाध्यै जटिल कार्य भएकाले यस कमिटीको विशेष महŒव देखिएको छ । काठमाडौं उपत्यका आफंैमा एक भौगोलिक एकाई भएका कारण यस उपत्यकालाई १८ नगरपलिकामा विभाजनले समन्वयको अभाव भयो र धेरै विकृति ल्यायो । यसलाई एक संघीय प्रदेश या एक बृहत् महानगरपालिकाका रूपमा अथवा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई उपत्यका मेयर्स फोरमसँग एकीकृत गरी एक सशक्त एकलद्वार संस्थामा परिमार्जन गरी एकल दीर्घकालीन दृष्टिकोण तथा लक्ष्यअन्तर्गत सञ्चालन गर्न उपयुक्त देखिएको छ ।
एकीकृत यातायात र मेट्रोरेलको अध्ययन, अनुसन्धान तथा सञ्चालन अति जटिल कार्य भएकाले विशेष विज्ञता र क्षमता भएको संस्थाको आवश्यकता रहेकाले ‘बृहत् काठमाडौं उपत्यका मेट्रोरेल प्राधिकरण’को परिकल्पना गरिएको छ ।
एकलद्वार संस्थागत निर्णयहरूमा स्थानीय समुदाय र सरोकारवालाहरूको सहभागिता तथा समावेशीकरणका आधारमा एकीकृत सर्वसम्मत सहमतिलाई प्रोत्साहन गर्न राष्ट्रिय संस्कृति परिषद्को गठन हुनु आवश्यक देखिन्छ । प्रस्तावित नयाँ प्राधिकरणहरू संसद्बाट स्वीकृत हुन समय लाग्ने भएकाले समयको बचत गर्ने हेतुले टास्क फोर्सलाई परिचालन गर्न उपयुक्त देखिन्छ ।
काठमाडौं उपत्यका विकासको दीर्घकालीन दृष्टिकोण
मेट्रोरेल आफंैमा दिगोपनको एक जीवन्त सामुदायिक यातायात प्रणाली हो । यसको सञ्चालन कम्तीमा पनि सयौं वर्ष निर्बाध रूपमा सञ्चालन हुनेछ । यही कारण काठमाडौं उपत्यकाको सहरी विकासको दीर्घकालीन दृष्टिकोण २१०० को अवधारणा प्रस्तुत गरिएको छ । यस अवधारणाले काठमाडौं उपत्यका विकासको समष्टिगत गुरुयोजना तयार गर्न मद्दत गर्नेछ ।
मेट्रोरेल विकासको अवधि १०– २० वर्ष लाग्ने भएकाले मेट्रोरेलको प्रस्तावित स्वरूपलाई निर्देशक यन्त्रका रूपमा अपनाउन सकिएमा एकीकृत यातायात र समष्टिगत सहरी विकास पनि सुनिश्चित गर्न सकिनेछ र टुक्राटाक्री आयोजनाको आवश्यकता पर्ने छैन । अन्य समस्त यातायातका साधनहरू मेट्रोरेलका साथै एकअर्काको सेवा प्रदायकका रूपमा परिणत हुनेछ ।
कचौरा आकारको काठमाडौं उपत्यकाको तुवाँलो नियन्त्रण गर्न राजस्थानबाट आउने धुलोको प्रकोप, हिमालय क्षेत्रका जंगली आगलागीको धुँवाको प्रकोप, हेटौंडा तथा धाडिङ करिडोरबाट आउने वायु प्रदूषणको नियन्त्रणका लागि वातावरण प्रदूषित हुने उद्योगहरूको स्थानान्तरण गर्ने इत्यादि कार्यहरू गर्न दीर्घकालीन योजनाको आवश्यकता पर्दछ ।
काठमाडौं उपत्यकाका अस्तव्यस्त बस्तीहरूमा बाहुल्य रहेका साना घडेरी र न्यून तल्लाका भवनहरूको साटो बहु तल्ले र व्यवस्थित आवासलाई प्रोत्साहन गर्न नीतिगत परिवर्तनको नतिजा आउन र प्रायः विनाश भइसकेको खुल्ला हराभरा, स्वच्छ क्षेत्रको पुनः विस्तारका लागि दीर्घकालीन योजनाको आवश्यकता पर्दछ ।
बृहत् काठमाडांै उपत्यका क्षेत्रलाई एकीकृत यातायात र समष्टिगत सहरी विकासका आधारमा एक महŒवपूर्ण आर्थिक तथा व्यापारिक केन्द्र, स्वच्छ, हराभरा, खुल्ला क्षेत्र, संरक्षित वातावरण, संस्कृति तथा सम्पदा, गुणस्तरीय जीवनसहितको मनमोहक सहरका रूपमा पुनर्जागरण गर्नुपर्छ ।
बृहत काठमाडौँ उपत्यकाका लागि मेट्रोरेलसहितको सुरक्षित, दिगो एकीकृत सार्वजनिक यातायातको प्रवर्धन गर्न आवश्यक छ ।
लेखाजोखा अभ्यासको आवश्यकता
नेपालका आयोजनाहरूको कार्यान्वयनमा थुप्रै कमजोरी रहेको हालैका प्रगति विवरणहरूबाट प्रष्ट हुन्छ । २०७८ सालको फागुन महिनासम्म पुँजीगत खर्च २१ प्रतिशतमात्र हुनु कार्यान्वयनमा कमजोरी पक्षको सूचक हो । आयोजनाहरूमा सुरुदेखि नै थुप्रै कमजोरीहरू, अस्पष्ट अवधारणा र दृष्टिकोण, अपूर्ण अध्ययन र नापनक्सा, अपूर्ण प्रतिवेदन, विभिन्न जोखिमसम्बन्धी अध्ययन, स्रोतसाधन र समयको कमी हुन सक्छ । यी कमीकमजोरीहरूको लेखाजोखामार्फत बेलैमा पहिचान गर्नु र निर्मूल पार्नु आवश्यक हुन्छ । तर, विगत केही वर्षयता ‘लेखाजोखा’को अभ्यास हराइसकेको छ । लेखाजोखा अभ्यासले आयोजनाहरूको पूर्वतयारीलाई पूर्णता दिन्छ तथा जोखिमहरू घटाउँछ, दिगोपन र कार्यान्वयन पक्ष सबल बनाउँछ ।
मेट्रोरेल विकासका लाभ
प्रस्तावित मेट्रोरेलको विकासले बृहत् काठमाडांै उपत्यका क्षेत्रका समस्त निवासीहरूलाई विभिन्न चुनौतीबाट राहतको अनुभूति हुनेछ तथा सफल कार्यान्वयनबाट आर्थिक, सामाजिक आदि लाभ हुनेछ । यसले काठमाडांै उपत्यकाको सुस्त जीवनले एउटा गतिशीलता पाउनेछ र आर्थिक असीमित अवसरहरू सिर्जना हुनेछ । गतिशील युवावर्ग, व्यवसायीहरू र विज्ञहरूको भेटघाटको नयाँ अवसरले सिर्जनाका नयाँ ढोकाहरू खुल्नेछन् । काठमाडांै उपत्यकाका प्रत्येक नगरपालिकाहरूले समानरूपमा आर्थिक उन्नतिका अवसर पाउनेछन् तथा प्रत्येक मेट्रोरेल बिसौनीहरू आर्थिक व्यापारिक केन्द्रका रूपमा विकसित हुनेछन् ।
मेट्रोरेल प्रयोगकर्ता र अप्रयोगकर्ता दुवैले यातायातकोे भिडभाड, ढिलायात्रा, समयको बचत, सडक दुर्घटना, तेलको बचत, वायु, धुवाँ, धुलो प्रदूषणबाट मुक्ति पाउनेछन् । काठमाडौँ उपत्यकाले विश्व सम्पदाको आफ्नो छवि पुनस्र्थापना गर्ने अवसर पाउनुका साथै धार्मिक यात्रा तथा पर्यटनको विकासमा योगदान पु-याउनेछ । उपत्यका राष्ट्रको एक महŒवपूर्ण आर्थिक स्थलको रूपमा पुनरुत्थान हुन सफल हुनेछ । यो प्रयास कालान्तरमा नेपाल र समस्त विश्वका लागि एक अमूल्य उपहार साबित हुनेछ । अतः मञ्जुश्रीले विशाल तालबाट नयाँ सभ्यता निर्माण गरे जस्तै स्वच्छ, हराभरा, मनमोहक सहर पुनर्जागरण गर्ने सुवर्ण मौका सिर्जना भएको छ ।
लेखक इन्जिनियर न्याछ्यो मेट्रोरेल प्रवर्धन समूहका नेपाल निर्देशक हुन् ।