नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

प्राकृतिक विपत्ति र सुस्ताउँदो सेयरबजार

अर्थतन्त्रको मेरुदण्ड मानिने सेयरबजार सधैं नीतिगत अस्थिरताको मारमा पर्ने गरेको छ । यसका साथै प्राकृतिक प्रकोपको उच्च जोखिमसँग पनि समानान्तर रूपमा लडिरहेको छ । सेयरबजार पछिल्लो समय लगातारको गिरावट, उतारचढाव र लगानीकर्तामा छाएको निराशाले झन् थलिएको छ । सेयरबजार केवल केही प्राविधिक सूचक, ब्याजदरको अंकगणित वा नीतिगत लचकताको जगमा मात्र बलियो हुन सक्दैन, उत्पादनमूलक भौतिक पूर्वाधारको सुरक्षा र प्राकृतिक सन्तुलन हुनु पनि उत्तिकै आवश्यक छ । 
जब देशको उत्पादनमूलक क्षेत्र, विशेषगरी जलविद्युत् पूर्वाधार, प्राकृतिक विपत्तिको चपेटामा पर्छ, त्यसको प्रत्यक्ष असर सेयरबजारको वित्तीय अवस्थामा तत्कालै पर्ने गरेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुनु, ब्याजदर इतिहासकै न्यून बिन्दुमा पुग्नु र केन्द्रीय बैंकले केही नीतिगत सहजीकरण गर्दा पनि सेयरबजार मापक नेप्से परिसूचक २६ सय अंकभन्दा माथि जान सकेको छैन । लगानीकर्ताहरू आगामी दिनमा आउन सक्ने ठूला नीतिगत परिवर्तन र राष्ट्रिय अर्थतन्त्रको वास्तविक सुधारको ‘पर्ख र हेर’को रणनीतिमा छन् । बजारको यो आन्तरिक शिथिलताका बीच लगानीकर्ताका छनोटका क्षेत्रहरूमा भोटेकोशीको बाढीले पु¥याएको भौतिक क्षतिले समग्र बजारको मनोबललाई थप कमजोर बनाएको छ । त्यस समयमा आएको आकस्मिक बाढी र पहिरोको खबर सार्वजनिक हुनासाथ नेप्से परिसूचकमा ठूलो पहिरो गयो । बाढीले नेप्सेमा सूचीकृत र आमसर्वसाधारणको ठूलो लगानी रहेका राष्ट्रिय गौरवका जलविद्युत् आयोजनाहरूमा अभूतपूर्व भौतिक क्षति पुगेपछि लगानीकर्ताहरू रक्षात्मक अवस्थामा देखिए । यसले ती कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ ।  
जलविद्युत् आयोजनामा आउने प्राकृतिक महाविपत्तिको दोस्रो ठूलो र गम्भीर असर निर्जीवन बिमा क्षेत्रमा पर्ने गर्दछ । त्यस्तै अर्बौं रुपैयाँ लगानीका जलविद्युत् आयोजनाहरू, सीमा क्षेत्रका सुख्खा बन्दरगाह र त्यहाँ रोकिएका सयौं महँगा सवारीसाधन एवं मालवाहक कन्टेनरहरू बाढी र पहिरोले बगाएपछि बिमा कम्पनीहरूमाथि दाबी भुक्तानीको वित्तीय दायित्व सिर्जना हुन्छ । पुनर्बिमाको व्यवस्था हुँदाहुँदै पनि बिमा कम्पनीहरूको आन्तरिक सञ्चित कोष, नाफा र दाबी व्यवस्थापन क्षमतामा यसले ठूलो दबाब सिर्जना गर्दछ । यही वित्तीय जोखिमका कारण बिमा क्षेत्रको उपसूचकमा पनि ठूलो गिरावट आएको देखिन्छ । 
जलविद्युत् क्षेत्रको भौतिक जोखिमले बिमा क्षेत्रलाई र बिमा क्षेत्रको वित्तीय शिथिलताले समग्र अर्थतन्त्रलाई गम्भीर असर पु¥याउने गर्दछ । नेपालजस्तो भौगोलिक रूपमा जोखिमपूर्ण देशका लागि यो स्थायी चुनौती हो । प्राकृतिक प्रकोप र वातावरणीय संकटलाई पूर्ण रूपमा रोक्न असम्भव भए पनि यसले पुँजी बजार, वित्तीय स्थायित्व र समग्र अर्थतन्त्रमा पार्ने दीर्घकालीन नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न राज्य, नियमनकारी निकाय र स्वयं कम्पनीहरूले बेलैमा आवश्यक कदम चाल्नु जरुरी छ । त्यसैले जलविद्युत् क्षेत्रमा देखिने यस्ता जोखिमका कारण नेपालको ऊर्जा क्षेत्रको प्राविधिक डिजाइन, इन्जिनियरिङ मापदण्ड र बिमा नीतिमा आमूल परिवर्तन गर्न अब ढिला गर्नुहुँदैन । अबका आयोजनाहरू केवल आर्थिक रूपमा मात्र नभई वातावरणीय र जलवायु परिवर्तनका जोखिमका दृष्टिकोणले पनि उत्तिकै सुरक्षित हुनुपर्दछ । जलविद्युत् र बिमा कम्पनीहरूलाई यस्ता आकस्मिक संकटबाट टाट पल्टिनबाट जोगाउन र आमसर्वसाधारण लगानीकर्ताको सम्पत्ति रक्षा गर्न सरकारले एउटा स्थायी राहत, पुनर्निर्माण तथा विशेष आर्थिक कोषको व्यवस्था गर्नु जरुरी छ । साथै, नेपाल धितोपत्र बोर्ड र नेप्सेले यस्तो संकटको घडीमा बजारमा फैलाइने नकारात्मक हल्ला र भ्रामक सूचनालाई निरुत्साहित गर्न तत्कालै आधिकारिक र यथार्थपरक विवरण सार्वजनिक गर्ने स्वचालित संयन्त्र निर्माण गर्नुपर्छ । प्राकृतिक विपत्तिले बजारलाई अल्पकालीन रूपमा तल्लो बिन्दुमा पु¥याए पनि पुनर्निर्माणको प्रक्रिया र उत्पादन पुनः सुरु भएसँगै बजारले विस्तारै स्वाभाविक गति लिन्छ । 
विपत्तिका समयमा लगानीकर्ताहरूले पनि हल्लाको भरमा लागेर डर र त्रासका कारण हतारमा सस्तो मूल्यमा सेयर बेच्ने आत्मघाती कदम चाल्नुहुँदैन । कम्पनीहरूको वास्तविक भौतिक क्षति, बिमा कभरको अवस्था र दीर्घकालीन वित्तीय अवस्थाको गहन विश्लेषण गरेरमात्र परिपक्व निर्णय लिनु बुद्धिमानी हुन्छ । सरकार, नियामक निकायले बजारमा व्याप्त नीतिगत तथा भौतिक अनिश्चितता हटाउन यथार्थ सूचना प्रवाह र नीतिगत स्थिरता कायम गर्नुपर्छ । यसो गर्दा प्राकृतिक वा कृत्रिम कुनै पनि बहानामा देशको पुँजी बजार लामो समयसम्म सुस्ताउन पाउँदैन र आमलगानीकर्ताको विश्वास र भरोसा कायम रहन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्