नेभिगेशन
नेपाल

सरकारलाई सहयोग गर्न दलहरूलाई आग्रह

काठमाडौं (संवाददाता) – नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको विषम परिस्थितिमा राष्ट्रिय एकता कायम गरी सबैलाई संयमित भएर अघि बढ्न आह्वान गरेका छन् । संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा उनले लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्ने बताएका छन् । 

अहिले आन्दोलन गर्ने पुस्तासँगै सबैलाई वर्तमान चुनावी सरकारलाई साथ र सहयोग गर्न आग्रह गरे । उनले यो संविधान संस्थागत रुपमा विभिन्न राजनीतिक पार्टीहरूले २००७, २०४६ साल र २०६२-०६३ सालमा गरेका आन्दोलनको योगदानको प्रतिफल भएको बताएका छन् ।

‘त्योभन्दा पहिलेदेखि नागरिक स्वतन्त्रता र सर्वोच्चताका लागि नेपाली जनताले एक शताब्दी नै लड्यो । त्यसपछि यो संविधान पाएका हौं,’ उनले भनेका छन् । संविधान धेरै कष्ट, बलिदान र ठूलो संघर्षले ल्याएको बताउँदै सबै शक्तिले यसलाई स्वीकार गर्दै चुनावी प्रक्रियामा भाग लिँदै आएको स्मरण गराए । ‘संविधानलाई लागू गर्ने क्रममा केही त्रुटिहरू पनि भएका छन् । त्यसलाई समयक्रममा संशोधन गरेर लैजानुपर्छ’, उनले भनेका छन्, ‘वास्तवमा राजनीतिक दलहरू संविधान र लोकतन्त्रका खम्बा हुन् ।’

नयाँ पुस्ताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त देशको आकांक्षाासहित गरेको आन्दोलनले सुन्दर र स्वस्थ नेपाल बनाउने उनको आसा छ । रोजगार, शिक्षा र स्वास्थ्यलगायत सबै राम्रो गराउन आन्दोलन सही रहेको तर तत्कालीन सरकार र सुरक्षा प्रशासनले त्यसलाई ‘कमान्ड’ गर्न नसकेको टिप्पणी गरे ।

‘युवाहरूले शहादत दिए, प्रदर्शनमा नरसंहार भयो । त्यसको जति आलोचना गरे पनि कमै हुन्छ । आन्दोलनको दोस्रो दिन विध्वंशकारी एजेन्टहरू पसे,’ पूर्व राष्ट्रपति यादवले भने, ‘विध्वंशकारी गतिविधिले राष्ट्रिय सम्पत्तिदेखि लोकतन्त्रका तीनै अंग कार्यपालिका, न्यायपालिका र विधायिकादेखि राष्ट्रपतिको कार्यालयमाथि पनि आक्रमण भयो ।’ देशको सार्वजनिक सम्पत्ति ध्वस्त पारेर व्यावसायिक क्षेत्रका संस्थानमाथि पनि आक्रमण भएको बताएका छन् ।

अब ताजा जनादेश लिएर सदनबाट संविधानमा कहाँ कहाँ संशोधन गर्नुपर्ने हो, समयसापेक्ष रुपमा संशोधन गरेर अघि बढेर संविधान बचाउन आह्वान गरेका छन् । सबै नेपालीको भावनाबमोजिम संविधानसभाबाट ६०१ जना जनप्रतिनिधिले भौगोलिक, सांस्कृतिक र सामाजिक विविधतासहितको संविधान ल्याएको उनले स्मरण गरेका छन् । अब चुनावभन्दा दायाँबायाँ नजान पनि सुझाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्