नेभिगेशन
प्रदेश

पहिरोले थुनियो मुगु, ट्रकमै कुहिन थाले स्याउ

मुगु । अविरल वर्षासँगै गएको पहिरोका कारण कर्णाली राजमार्गअन्तर्गत झ्यारी–गमगढी र नाग्म–गमगढी सडकखण्ड २० दिनदेखि अवरुद्ध छ । यसले  हिमाली जिल्ला मुगुको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षा, भौगोलिक विकटता र पहिरो पन्छाउन ढिलाइ हुँदा मुगुको राष्ट्रिय सडक सञ्जालसँगको सम्पर्क विच्छेद भएको हो ।
यातायात ठप्पले सदरमुकाम गमगढीसहित ग्रामीण क्षेत्रमा खाद्यान्न, खाना पकाउने एलपी ग्यास, निर्माण सामग्री र औषधिजस्ता अत्यावश्यक वस्तुको अभाव चुलिएको छ । सुर्खेत र नेपालगञ्जबाट दैनिक उपभोग्य तथा निर्माण सामग्री बोकेर मुगुतर्फ आएका दर्जनौं मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन् ।
राजापुरबाट खाद्य संस्थानको चामल बोकेर आएका नौवटा गाडीसहित स्थानीय व्यापारीका सवारीसाधन झ्यारी खोला र ताल्चाबीच अलपत्र छन् । हप्तौंदेखि सडक खुल्ने प्रतीक्षामा रहेका चालक र सहचालक छाप्रो तथा सडकमै रात बिताउन बाध्य छन् । खाद्यान्न ढुवानी रोकिएपछि गमगढीका अधिकांश पसल र होटलमा ग्यास तथा खाद्यान्नको मौज्दात सकिँदै गएको स्थानीयले बताएका छन् ।
स्थानीयवासीले सडक निर्माण तथा स्तरोन्नतिका क्रममा ठेकेदारले जथाभावी ‘डबल कटिङ’ गर्दा पहाड कमजोर बनेर पहिरो गएको आरोप लगाएका छन् । अनियन्त्रित रूपमा डोजर चलाउँदा सडकसँगै आसपासका घरजग्गा र बस्तीसमेत जोखिममा परेको उनीहरूको भनाइ छ ।

झ्यारीका स्थानीय नरेन्द्रबहादुर शाहीको घरजग्गा पहिरोले बगाएपछि उनको ६ जनाको परिवार बिचल्लीमा परेको छ । सडक अवरुद्ध हुँदा स्थानीयले घरबार गुमाउने अवस्था आउँदासमेत सडक डिभिजन र प्रशासनले पर्याप्त मेसिन तथा जनशक्ति परिचालन नगरेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।
यो बेला मुगुबाट स्याउ जिल्ला बाहिर पठाउने थियो । स्याउ लोड गरेका थुप्रै गाडी बाटामा रोकिएका छन् । सडक अवरुद्ध हुँदा किसान र व्यापारीले स्याउमा ठूलो क्षति बेहोर्नु परेको छ । जिल्लाबाट बाहिर पठाउन तयारी अवस्थामा रहेको करिब २५ लाख रुपैयाँ बराबरको स्याउ सडकमा रोकिएर कुहिन थालेको व्यापारी कर्णबहादुर बुढाले बताए । ‘स्याउ गाडीमै कुहिएर गन्हाउन थाल्यो ।  व्यापारीलाई लाखौंको घाटा भइसक्यो,’ उनले भने, ‘यस्तोमा किसानलाई कहाँबाट ल्याएर पैसा दिने ?’
नाग्म–गमगढी–नाक्चेलाग्ना सडक आयोजनाका प्रमुख नन्दराज गिरीले निरन्तरको वर्षा, जटिल भू–बनोट र ठेकेदारको ढिलासुस्तीका कारण सडक खुलाउन केही ढिलाइ भएको बताए । ‘जोखिमयुक्त ठाउँमा हेभी इक्विपमेन्ट लगाएर भए पनि पहिरो हटाउने काम भइरहेको छ । मौसमले साथ दिए आगामी केही दिनभित्रै सडक सञ्चालनमा ल्याउने प्रयास जारी छ,’ उनले भने ।
स्थानीयवासी तथा चालकले सडक डिभिजन, स्थानीय प्रशासन र प्रदेश सरकारले तत्काल समन्वय गरी पर्याप्त भारी उपकरण परिचालन गरेर सडक खुलाउन माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्