नेभिगेशन
राजनीति

‘मलाई थाहै नदिई विशेष महाधिवेशन बोलाइयो’

सर्वोच्चले रुख र चारतारे झण्डा आफूहरूलाई दिने भन्दै देउवा ढुक्क

काठमाडौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू पार्टी सभापति रहेकै अवस्थामा आफूलाई जानकारी नै नदिई विशेष अधिवेशन बोलाइएको दाबी गरेका छन् । बीपी जयन्तीका अवसरमा पार्टीको भक्तपुर जिल्ला कार्यसमितिले बुधबार आयोजना गरेको कार्यक्रममा उनले आफ्नो जानकारीविनै विशेष अधिवेशन बोलाइएको दाबी गरे ।
‘विशेष अधिवेशनमा बोलाइएको व्यक्तिहरूको सनाखत हुनुपर्छ । अहिले पार्टी सभापति म छु, मलाई थाहै छैन । विशेष अधिवेशन बोलाइदिने भन्दाखेरी हुन्छ दाइ, विचार गर्छु भन्दाभन्दै बोलाइदिए,’ उनले भने, ‘अदालतले पुनरावलोकनले निस्सा दियो हामीलाई । निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो । अब अहिले पनि के गरेर हुन्छ ? कसलाई भनेर हुन्छ ? कुनै हालतमा पुनरावलोकनबाट आधिकारिकता हामीले पाउनबाट रोक्न खोजिँदैछ ।’ पूर्वसभापति देउवाले  सर्वोच्च अदालतबाट आफूहरूले निष्पक्ष रूपमा न्याय पाउने भन्दै रुख र चारतारे झण्डा आफूहरूले पाउने विश्वास रहेको बताए ।
त्यस्तै, देउवाले तल्लो तहसम्ममा पनि अलमलमा परेका नेता कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउनका लागि लाग्न पनि निर्देशन दिए । ‘म छिट्टै नै देशभरि घुम्छु, म काठमाडौं आउँदा नेपाली जनताको माया र समर्थन पाएँ, त्यो मैले पाएको होइन । सबै साथीहरूले पाउनुभएको हो । कांग्रेसका सच्चा कार्यकर्ताले पाउनुभएको हो,’ देउवाले भने । 
त्यस्तै, कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना देखिएको बताए । कार्यक्रममा बोल्दै उनले सबैलाई एकजुट बनाएर लैजाने प्रयास भइरहेको पनि बताए ।
‘पार्टी टुक्रिने हो कि भन्ने सम्भावना देखिरहेको छु, तर हाम्रो प्रयास उनीहरूलाई पनि एकजुट बनाएर जाऔं भन्नेमा छ । आउँदो १५औं महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ, सबैलाई एकजुट पारौं, महाधिवेशनलाई सफल गरौं,’ कोइरालाले भने । 
विशेष महाधिवेशनपछि कांग्रेसभित्र चर्किएको विवाद जारी छ । संस्थापनपक्षले महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ भने देउवापक्ष अलग महाधिवेशनको गृहकार्यमा देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्