नेभिगेशन
विश्व

एएफडीको जितपछि ट्रम्प–मेर्ज टेलिफोन वार्ता रद्द

बर्लिन (एएफपी)– जर्मनीको अति–दक्षिणपन्थी दल एएफडीले क्षेत्रीय निर्वाचनमा हासिल गरेको जितको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा प्रशंसा गरेको केही घण्टापछि जर्मन चान्सलर फ्रेडरिक मेर्जले ट्रम्पसँग तय भएको टेलिफोन वार्ता रद्द गरेका छन् ।       
मेर्जका प्रवक्ताले वार्ता रद्द हुनुको कारण खुलाउन अस्वीकार गरे । यद्यपि, पत्रकारको प्रश्नको जवाफ दिँदै उनले यो समयतालिकासम्बन्धी समस्याका कारण नभएको बताए । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा एएफडीको जितको प्रशंसा गरेका थिए । ‘जर्मनीलाई नराम्ररी असर पार्ने अत्यन्तै खराब आप्रवासन नियम र कानुनबाट उनीहरू अन्ततः आजित भएका छन्,’ ट्रम्पले लेखेका थिए । 
मेर्जका प्रवक्ताले ट्रम्पको टिप्पणीबारे प्रत्यक्ष प्रतिक्रिया दिएनन् । तर उनले चान्सलर मेर्जले विशेषगरी निर्वाचनका सन्दर्भमा जर्मनीको आन्तरिक राजनीतिक अवस्थामा हस्तक्षेप गर्ने वा त्यसबारे टिप्पणी गर्ने कार्यको सामान्य रूपमा बारम्बार विरोध गर्दै आएको बताए । उनका अनुसार दुई नेताबीच फोनवार्ताका लागि नयाँ मिति भने अझै तय भइसकेको छैन । 
मेर्जले पटक–पटक जातिवादी र लोकतन्त्रका लागि खतरा भन्दै आलोचना गर्दै आएको एएफडीले आइतबार पूर्वीजर्मनीको स्याक्सोनी–एनहाल्ट राज्यमा भएको क्षेत्रीय निर्वाचनमा उल्लेखनीय जित हासिल गरेको थियो ।
ट्रम्पले आफ्नो सन्देशको अन्त्यमा ‘एमजिजिए’ भन्ने संक्षिप्त शब्द पनि प्रयोग गरेका थिए । यो उनको चर्चित ‘मेक अमेरिका ग्रेट अगेन’ नाराको शैलीमा एएफडीको समर्थनमा प्रयोग गरिएको देखिन्छ । ‘एमजिजिए’को अर्थ ‘मेक जर्मनी ग्रेट अगेन’ अर्थात् ‘जर्मनीलाई पुनः महान बनाऔँ’ भन्ने हुन्छ ।

ट्रम्पको राजनीतिक वृत्तबाट अरुले पनि एएफडीको जितको सार्वजनिक रूपमा स्वागत गरेका छन् । यसमा जर्मनीका लागि अमेरिकाका पूर्वराजदूत र अर्बपति एलन मस्क पनि छन् । 
मस्कले लामो समयदेखि एएफडीलाई खुला रूपमा समर्थन गर्दै आएका छन् । सन् २०२५ को सुरुतिर भएको जर्मनीको राष्ट्रिय निर्वाचनका क्रममा मस्कले एएफडीको चुनावीसभामा भिडियोमार्फत सम्बोधनसमेत गरेका थिए । उक्त निर्वाचनमा मेर्ज नेतृत्वको मध्य–दक्षिणपन्थी गठबन्धन विजयी भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्