नेभिगेशन
प्रदेश

युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्न सुझाव

बुटवल, ३ असोज - लुम्बिनी प्रदेश सरकारले भव्यताका साथ संविधान दिवस मनाएको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा आज (शुक्रबार) विशेष समारोहको आयोजना गरेर संविधान दिवस मानाइएको हो । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ भन्ने नारासहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा संविधान दिवस मनाइएको हो ।

समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप कार्यशैलीमा परिवर्तन गर्दै सबैको विश्वास जितेर अघि बढ्नु आजको आवश्यकता भएको बताए । ‘युवा पुस्ताको चाहनाअनुरूप हाम्रो काम थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढंगले अघि बढाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधानको कार्यान्वयन नै हाम्रो साझा लक्ष्य हो । यही लक्ष्यले मुलुकलाई निकास दिनेछ भन्नेमा म विश्वस्त छु।’

उनले कार्यशैली र तौर–तरिकामा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गर्दै सेवा प्रवाहमा हुने ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको जरैदेखि अन्त्य गर्नु आजको आवश्यकता भएको बताए । संविधानले सामाजिक न्याय, समावेशिता, समानता, सहिष्णुता र सद्भावलाई संरक्षण गर्दै समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्ने संकल्प बोकेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले संविधान, दिगो विकासका लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दोस्रो आवधिक योजनालाई आधार मान्दै नीतिगत, संरचनात्मक र कानूनी सुधारका कार्यलाई अगाडि बढाइरहेको जानकारी दिए ।

प्रमुख सचिव बाबुराम अधिकारीको अध्यक्षता भएको कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले संविधानभित्रैबाट निकास खोजिनुपर्ने बताए । उनले नेपालको संविधान अब्बल संविधान भएको दाबी गर्दै संविधानभित्र बसेर युवा पुस्ताको सोचलाई सम्बोधन गर्न सकिने बताए । ‘अहिले देखिएको विद्रोहको व्यवस्थापन पनि संविधानभित्रै गर्नुपर्छ,’ उनले भने, ‘अब सबैले आत्मसमिक्षा गरेर कार्यशैली बदल्न सक्नुपर्छ । जनता असन्तुष्ट हुनेगरी काम गर्नु हुँदैन ।’

पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानलाई अझ माटो सुहाउने गरी परिमार्जन गरेर सबैका भावनालाई समेट्न आवश्यक रहेको बताए । उनले सबैका आ–आफ्ना गुनासा भएको र ती गुनासालाई संविधानलाई अझ माटोसँग सुहाउने बनाउँदै समेट्न जरुरी रहेको बताए । ‘संविधानमा टेकेर देशको विकास गर्ने दायित्व सबैकै हो,’ उनले भने, ‘सबै नेपालीलाई एक ठाउँमा ल्याउन जरुरी छ । सुशासन र विकास दिन जरुरी छ । अराजकतामा सुशासन खोज्नु जटिल हुन्छ । घुसपैठ र आगजनीको पूर्ण छानबिन हुन जरुरी छ ।’

त्यसैगरी, पूर्व मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका नेता जोखबहादुर महराले सामाजिक परिवर्तनको नेतृत्व वर्तमान संविधानले गर्नुपर्ने बताए । उनले संविधान दस वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गरेको बताउँदै सामाजिक परिवर्तनको नेतृत्व संविधानले नै गर्नुपर्ने बताए । महराले समाजलाई दिशा देखाउन सक्ने क्षमता संविधानले राख्ने र राजनीतिक अस्थिरताको अन्त्यका लागि शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आवश्यक सुधार ल्याउनुपर्ने धारणा राखे ।

आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मुख्यमन्त्री कार्यालयका कानून सचिव लिलाधर सुवेदीले गरेका थिए । कार्यक्रममा प्रदेश सभाका विषयगत समितिका सभापति, प्रमुख सचेतक, सचेतक तथा सदस्यहरू, प्रदेश सरकार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, स्काउट विद्यार्थी तथा स्थानीय समुदायको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्