नेभिगेशन
विश्व

युक्रेनलाई अमेरिकी हतियार किन्न इयु सहयोग

ब्रसेल्स, (क्युएनए) । युरोपेली सङ्घ (इयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र खरिद गर्न युरोपेली आर्थिक सहयोग प्रयोग गर्न अनुमति दिने भएको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको हवाई प्रतिरक्षा क्षमता सुदृढ गर्न यस्तो सहयोग उपलब्ध गराउन इयु तयार रहेको बताएकी छन् ।
    नेटोका महासचिव मार्क रुटसँगको संयुक्त विज्ञप्तिमा अध्यक्ष भोन डेर लेयनले इयुका सदस्य राष्ट्रहरूले युक्रेनका लागि अमेरिकी हतियार खरिदमा युरोपेली सहयोग रकम प्रयोग गर्न पाउने गरी छुट दिन सहमति जनाएको जानकारी दिइन् । यद्यपि, इयुको सहयोगबाट हुने हतियार खरिदमा युरोपेली रक्षा उद्योगका कम्पनीलाई प्राथमिकता दिइने उनले स्पष्ट पारिन् ।
    उनका अनुसार युक्रेनले रुसी आक्रमणबाट आफ्नो हवाई क्षेत्रको रक्षा गर्न आवश्यक क्षमता विस्तारका लागि छिट्टै दुई अर्ब ३० करोड युरो प्राप्त गर्नेछ । उक्त रकम अमेरिकी प्याट्रियटलगायत हवाई प्रतिरक्षा प्रणाली खरिदमा प्रयोग गर्न सकिनेछ ।
    युक्रेनलाई अमेरिकी हतियार खरिदका लागि सहयोग गर्ने अर्को पहलमा नेटो पनि सहभागी रहेको छ । उक्त पहलअन्तर्गत नेटोका युरोपेली सदस्य राष्ट्र तथा क्यानडाले युक्रेनलाई अमेरिकी हतियार खरिद गर्न आर्थिक सहयोग उपलब्ध गराउन सक्नेछन् ।
    नयाँ आर्थिक सहयोग युक्रेनका लागि इयुले अघि सारेको ९० अर्ब अमेरिकी डलर बराबरको वर्तमान सहयोग ऋण कार्यक्रममार्फत उपलब्ध गराइनेछ । उक्त ऋण सन् २०२७ को अन्त्यसम्ममा वितरण गर्ने योजना रहेको छ । त्यसअन्तर्गत करिब तीन अर्ब २० करोड अमेरिकी डलर बराबरको रकम आगामी दिनमा वितरण हुने अपेक्षा गरिएको छ ।
    रुसी आक्रमणपछि युक्रेनले आफ्नो हवाई क्षेत्रको सुरक्षा तथा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण रोक्न थप हवाई प्रतिरक्षा प्रणालीको आवश्यकता रहेको बताउँदै आएको छ । प्याट्रियट प्रणालीलाई युक्रेनको हवाई प्रतिरक्षाका लागि महŒवपूर्ण मानिएको छ ।
    इयुको पछिल्लो निर्णयले युक्रेनको रक्षा आवश्यकताका लागि युरोपेली आर्थिक सहयोगलाई अमेरिकी हतियार खरिदमा समेत प्रयोग गर्ने बाटो खुला गरेको छ । यसले युक्रेनको तत्कालीन हवाई प्रतिरक्षा आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्