नेभिगेशन
राजनीति

एकताका लागि लचकता अपनाउन गगन तयार

काठमाडौं । पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू जस्तोसुकै लचकता अपनाउन तयार रहेको बताएका छन् । पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५औं दिनको पुण्यतिथिमा बिहीबार स्याङ्जामा आयोजित  शोकसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विशेष महाधिवेशनबाट सभापति बनेका थापा पार्टी एकताका लागि लचक नदेखिएको संस्थापनइतरपक्षले आरोप लगाउदै आएको छ । त्यसको जवाफमा थापा नरम सुनिएका हुन् । 
सभापति थापाले एकताका लागि लचक भए पनि पार्टीभित्रका आन्तरिक कमी–कमजोरी सच्याउन भने आफू उत्तिकै निर्मम भएर प्रस्तुत हुने पनि बताए । पार्टीलाई एकढिक्का र मजबुत बनाउन नेतृत्वको हैसियतले आफू पूर्ण जिम्मेवारीका साथ अघि बढ्ने उनको भनाइ छ । 
‘पार्टीलाई एकताबद्ध गर्न म नरम हुन तयार छु । तर, पार्टीभित्रका कमी–कमजोरी हटाउन निर्मम पनि हुनुपर्नेछ । त्यो सहज छैन,’ उनले भने, ‘तैपनि पार्टी हितका लागि म निर्मम भएरै लाग्छु ।’ कांग्रेसमा थापा नेतृत्वको कार्यसमितिले असोजमा महाधिवेशनको कार्यतालिका अघि बढाएको छ । संस्थापनइतरपक्ष त्यसमा सहमत छैन । 

अर्को फरक सन्दर्भमा थापाले देशमा आइपरेका हरेक जटिल मोडमा कांग्रेसले जिम्मेवार भएर निकास दिएको चर्चा गर्दै वर्तमान संकटमा पनि नागरिकमाझ विश्वास र भरोसा जगाउने बताए ।
शोकसभामा पार्टीका महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतका वक्ताहरूले स्व. श्रेष्ठले पार्टीप्रति खेलेको भूमिकाको चर्चा गरेका थिए ।  
देउवाले गरे नुवाकोट निरीक्षण 
यसैबीच कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा भने बिहीबार बाढी प्रभावित क्षेत्रको निरीक्षणमा नुवाकोट पुगेका छन् । उनले त्यहाँ बाढीले पु¥याएको क्षति हेर्दै राहत र उद्धारमा भइरहेको कामबारे चासो राखेका थिए । 
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले नुवाकोटको देवीघाटमा बेलिब्रिज निर्माण गरेको भन्दै नेपाली सेनालाई धन्यवाद दिएका छन् । ‘धेरै–धेरै धन्यवाद है, धेरै–धेरै धन्यवाद,’ निरीक्षणका क्रममा भेटिएका नेपाली सेनासँग देउवाले भने, ‘नेपाल आर्मीले यो साँच्चिकै अत्यन्तै नेपाली जनता दुःखमा परेको बेलामा साथ दिएर बेलीब्रिज बनाइदिएको छ, नुवाकोटका दाजुभाइ, उहाँ माथि देखिका मान्छे आवत जावत गरुन् भनेर । म धन्यवाद दिन्छु ।’ कांग्रेसका पूर्वसभापति देउवाले नेपाली सेनालाई अझै राम्रो काम गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्