नेभिगेशन
दृष्टिकोण
संस्कृति

बाबुको मुख हेर्ने दिनको महिमा

आफूलाई जन्म दिएर हुर्काएर, पढाएर सक्षम पार्ने आमाबाबुलाई देवता सम्झेर श्रद्धा भक्तिपूर्वक मान्नु र पुज्नु सम्पूर्ण छोराछोरीहरूको मुख्य कर्तव्य हो । देवताभन्दा पनि ठूला आफ्ना मातापिताको आदर्श, मूल्य र मान्यता अनुरूप व्यापक रूपमा मान्ने सन्दर्भमा हरेक वर्ष बाबुको मुख हेर्ने दिनलाई नयाँ पुस्ताले भन्न थालेको ‘फादर्स डे’ भनी भाद्रकृष्ण औंशीका दिन आफूलाई जन्म दिने बाबुलाई विभिन्न थरीका मिठाई र फलफूल खुवाई मान्ने गर्छन् । नेवारी समाजमा भने बाबुलाई उसिनेको अण्डा, माछा र रक्सी पनि सगुनका रूपमा दिई बाबुको मुख हेर्ने प्रचलन रहिआएको छ । विवाह गरी पठाइसकेकी छोरीले पनि माइतीमा आफ्ना बाबुको मुख हेर्न आउँछन् र विभिन्न किसिमका मिठाई, फलफूल र मासु चिउरासमेत ल्याई सगुनका रूपमा अण्डा, माछा र रक्सी ल्याई बाबुको मुख हेर्दा सगुन दिने गर्दछन् ।
आफूलाई जन्म दिई सक्षम पारिदिने आमाबाबुको यति धेरै महŒव छ कि त्यसको बयान गरेर साध्य नै छैन । त्यसैले त ‘मातृ देवो भवः पितृ देवो भवः’ भनी धर्मशास्त्रमा पनि भनिएको छ । आमाबाबुको सेवा गर्नु नै भगवान्को सेवा गर्नु हो । आमाबाबुलाई मान्ने छोराछोरीले देवतालाई नमाने पनि हुन्छ । देवता त्यसै प्रसन्न भइरहन्छन् । आमाबाबुका आदर्शलाई शिरोपर गरी आमाबाबुले देखाउनुभएका असल मार्गमा लाग्नु नै छोराछोरीहरूको परम कर्तव्य हो । तर, आजकाल युवायुवतीहरूले आफ्ना आमाबाबुको कुनै पनि भूमिका र योगदान नभएको ठानी आफ्नै प्रयासले सबै कार्य गर्दै आएको हो भन्ने भ्रममा परिरहेको देखिन्छ । यही भ्रममा परेर कतिपय युवायुवतीहरू कुलतमा परेर स्कूल, कलेज बंक गरेर, स्कूल कलेजकै डे«समा फिल्म हेर्न जाने, डान्स बारमा गई नाचगान गर्ने जस्ता विकृतिहरू देखा पर्न थालेका छन् । यो अत्यन्तै नराम्रो र डरलाग्दो संस्कार हो । यस्ता विकृति र विसंगतिमा परेका छोराछोरीहरूलाई आमाबाबुले चिन्तित भई केही कुरा सोध्यो भने तिमीहरूलाई केही थाहा छैन भन्दै झर्केर कुरा गर्ने छोराछोरीहरूलाई के भन्ने ? के यस्तो गरेर हिँड्नु नै स्वतन्त्रता हो ? अनि मोडर्न बनेर आफ्नो जीवन बर्बाद पार्ने बाटोमा लाग्नु नै आधुनिक जीवन हो ? यो कुरा सबै युवायुवतीहरूले बुझ्नुपर्छ । अरुको भनाइमा वा हाहामा लागेर पछि आफ्नो जीवन बर्बाद भएसकेपछि, आफ्नो भविष्य बिग्रिसकेपछि आमाबाबुकोमा गएर अब मैले के गर्ने भनी रोएर पश्चाताप गर्ने अवस्था नआओस् भनी पहिले नै विचार गर्नुपर्छ आजका युवायुवतीहरूले ।
आमाबाबुले दिनुभएका ज्ञान र आदर्शका कुरा सुनेर मनन गरी आफ्नो जीवन सफल पार्नेतर्फ लाग्नुपर्दछ । आफूले थाहा पाएका कुरा पनि आमाबाबालाई बुझ्ने गरी बताउनुपर्दछ । लेखपढ गर्न नजानेका आमाबाबु पनि हुन सक्छन् तर उनीहरूलाई केही पनि थाहा छैन भन्ने विचार गरेर आफूले जे मन लाग्यो त्यही गरी हिँड्नुहुँदैन । आमाबाबुको व्यावहारिक अनुभवअनुसार दिनुभएका उपदेश पनि सुन्नुपर्दछ । लेखपढ गर्न नजान्ने आमाबाबु भए तापनि उनीहरूले आफ्ना छोराछोरीहरूलाई आवश्यक खर्च गर्न ऋण लिएर भए पनि वा घरखेत बन्धक राखेर भए पनि पढाएर डाक्टर, इन्जिनियर वा प्रशासक जस्ता पदमा पु¥याउने अवसर प्रदान गरेका हुन्छन् । अर्थात् सक्षम बनाइदिन्छन् । तर यस्ता आमाबाबुलाई पनि पछि गएर वास्ता नगरी ठूलो भई आफ्ना आमाबाबुसमेत भन्न लाज मान्ने छोराछोरी पनि नभएका होइनन् हाम्रो समाजमा । 
केही वर्षअघिको कुरा हो यो, एउटा समाचारअनुसार आमाबाबुले घरखेत बैंकमा धितो राखेर विदेशमा पढ्न पठाएका एकजना छोरा केही वर्षपछि विदेशमै विवाह गरेर नेपालमा फर्कंदा आफू जन्मेको घरमा बस्न सकिँदैन, सफा सुग्घर छैन भनी होटलमा बसेर आमाबाबुलाई भेट्न जाँदा म त यहाँ मेरो अंशभागमात्र लिन आएको हुँ भनी भन्दा आमाबाबुको मन कस्तो भयो होला ? के यही हो आफ्ना आमाबाबुले दुःख गरेर, बच्चैदेखि पढाएर योग्य बनाई विदेशमा पढ्न पठाउँदाको फल ?
आजको यो आधुनिक सभ्यताको मार्गमा हिँडेका छोराछोरीहरूको विभिन्न किसिमका अव्यावहारिक र अमानवीय कार्यले गर्दा यो हाम्रो समाज कता गइरहेको छ भनी हाम्रो संस्कार र संस्कृतिमा नै एउटा ठूलो चिन्ताको विषय बनेको छ । तर आजका शिक्षित, योग्य र सक्षम ठानेका नयाँ पुस्ताले के बुझ्नुपर्दछ भने आफूले आफ्ना आमाबाबुलाई कस्तो व्यवहार ग¥यो त्यस्तै व्यवहार आफ्ना छोराछोरीले पनि गर्नेछन् भन्ने ज्ञान लिनुपर्छ । अनिमात्र आफ्नो मूल्य, मान्यता र आदर्श कायम गर्न सक्षम हुन सकिनेछ ।
आफ्ना छोराले जस्तोसुकै कुकर्म गरे तापनि आमाबाबुले कहिल्यै पनि आफ्नो छोराको कुभलो चिताउँदैनन् भन्ने कुरामा भगवान् बुद्धले बताउनुभएको एउटा कथा यहाँ प्रस्तुत गरेको छु ।
एकदिन भगवान् बुद्ध बिहान सबेरै नदी किनार हिँडिरहेका थिए । बुद्धले नदीमा एकजना युवक नुहाउन लागेको देखे । त्यो युवक पहिला नदीमा पस्यो अनि माथि हेरेर एकपटक ढोग्यो, फेरि तल हेरेर एकपटक ढोग्यो । त्यस्तै दाहिनेतर्फ हेरेर, देब्रेतर्फ हेरेर ढोग्यो । 
त्यो युवकलाई हेरेर बुद्धले सोधे, ‘बाबु तिमीले यो के गरेको ?’ बुद्धलाई देखेर युवकले रुँदै रुँदै भन्यो, ‘मेरा पिताजी यहाँका ज्यादै प्रख्यात र धनी व्यापारी हुनुहुन्थ्यो । उहाँ हिजोमात्रै बित्नुभयो । म उहाँकै दुःखी छोरा हुँ । मैले उहाँले भन्नु भएको कुरामा कहिले पनि ध्यान दिइनँ । उहाँबाट केही सिक्ने प्रयाससम्म गरिनँ । कुलतमै मेरो समय बितिरह्यो । मैले पितालाई धेरै नै दुःख दिएँ । तैपनि उहाँले मलाई माया गरी नै रहनुभयो । उहाँ बित्ने बेलामा मलाई ज्ञान आयो । बिउँझे झैँ भयो तर धेरै ढिला भइसकेको थियो । अन्तिम समयमा पिताजीले भन्नुभयो, ‘बाबु दिनहुँ शुद्ध भएर माथि, तल, दायाँ, बायाँ हेरेर ढोग्ने गर्नु । जीवन सुखी हुनेछ ।’ उहाँले यस्तो भनेकाले मैले यसरी नदीमा नुहाएर शुद्ध भएर माथि, तल, दायाँ, बायाँ प्रणाम गरिरहेको हुँ ।’
युवकको कुरा सुनेर बुद्धले मुसुक्क हाँसेर भन्नुभयो, ‘बाबु तिम्रो पिताले भन्नुभएको सबै कुरा ठीक हो । तर तिमीले कुरा राम्रोसँग बुझेनौं । त्यसैले सुन म भन्छु, ‘शुद्ध होऊ भनेको नदीमा गएर नुहाउनु भनेको होइन । चित्तलाई शुद्ध पारेर राख्नु भनेको हो । तिम्रो माथि के छ ? तिम्रो धर्म, तिम्रो गुरु, तिम्रा पितृहरू । माथि हेरेर ढोग्नु भनेको धर्म, गुरु र पितृहरूलाई सम्मान गर भनेको हो । तिम्रो तल को–को छन् ? नोकर, चाकर, दीन दुःखी, गरिव । तल हेरेर ढोग भनेको उनीहरूलाई माया गर्नु, उनीहरूलाई खुसी पारेर राख्नु भनेको हो । त्यस्तै तिम्रो दायाँतर्फ तिम्रा आफन्त, साथीभाइहरू, तिम्रो व्यापार, तिम्रो जिम्मेवारी छ । दायाँतर्फ ढोग्नु भनेको यस्ता सबै कुरामा ध्यान दिनु, जिम्मेवारी राम्रोसँग वहन गर्नु भनेको हो  । त्यस्तै देब्रेतर्फ पशुपक्षी, तिम्रा शत्रु हुन्छन् । उनीहरूलाई पनि ध्यानमा राख्नु, उनीहरूप्रति पनि करुणा राख्नु, जीवन सुखी र सफल हुनेछ ।’ तिम्रा पिताले यी सबै कुरामा ध्यान दिए, त्यसैले उनी सुखी भए, सफल भए ।  तिमीले पनि यस्ता कुरामा ध्यान दिनु ।’
यस्ता आदर्शमयी ज्ञान र व्यावहारिक शिक्षा आजका नयाँ पुस्ताले ग्रहण गरेर अगाडि बढ्नुपर्दछ । वर्षमा एकपटक ‘फादर्स डे’ भनी बाबुलाई सगुन दिएर, मिठाई खुवाएरमात्र आफ्नो कर्तव्य पूरा भएको सम्झिनुहुँदैन । जीवनभरि नै आमाबाबुलाई माया गरेर भित्री हृदयदेखि नै मानेर आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ अनि मात्र आफ्नो परिवार र छोराछोरीले पनि आफूलाई बुढाबुढी हुँदा त्यसरी नै मान्ने गर्दछन् । आजको बाबुको मुख हेर्ने दिन ‘फादर्स डे’ को उपलक्ष्यमा सम्पूर्ण छोराछोरीहरूले यसतर्फ ध्यान दिई ‘फादर्स डे’ को महŒवलाई मनन् गर्न सकून् भन्ने कामनासहित शुभकामना व्यक्त गर्दछु ।
(लेखक धर्म–संस्कृतिका जानकार हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्