नेभिगेशन
खेलकुद

महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै

धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । डी–१९ क्लब धरान–१९ को आयोजनामा आगामी कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रङ्गशालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने भएको हो ।
    महिला फुटबलको विकाससँगै स्थानीय महिला खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नाका साथै खेलाडीलाई व्यावसायिक फुटबलतर्फ अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको डी–१९ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक सन्तोष राईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 
    प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फर्वार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई इभी स्कुटर प्रदान गरिने राईले जानकारी दिए ।
    प्रतियोगितामा एपिएफ क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, भारतको झारखण्डस्थित आक्वा फुटबल क्लब, बागमती फुटबल क्लब, काँकडभिट्टा वुमन्स फुटबल क्लब झापा, उदयपुर फुटबल क्लब र धरानको स्वर्णिम फुटबल क्लब गरी आठ समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्