नेभिगेशन
खेलकुद

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल छनोट

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । बिहीबार एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै नेपालले इमर्जिङ टिम्स एसिया कपमा पनि स्थान सुरक्षित गरेको हो ।
    एसियन क्रिकेट काउन्सिल (एसीसी) को प्रावधानअनुसार प्रिमियर कपको फाइनल पुग्ने दुई टोली र तेस्रो हुने टोलीले इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउँछन् । नेपाल दोस्रो पटक यस प्रतियोगितामा छनोट भएको हो ।
    नेपाल आसन्न संस्करणको सिनियर एसिया कपमा भने छनोट हुन बाँकी छ । यदि त्यो प्रतियोगितामा स्थान पक्का गर्ने हो भने शनिबार हुने एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउनुपर्नेछ ।  
    नेपाल र युएईले आज भएको सेमिफाइनलमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रन तथा युएईले हङकङलाई सात विकेटले हरायो । नेपाल दोस्रो तथा युएई तेस्रो पटक प्रिमियर कपको फाइनल खेल्ने तयारीमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्