नेभिगेशन
प्रदेश

बाढीपीडितलाई इजरायली दूतावासको राहत सहयोग

काठमाडौँ । नेपालस्थित इजरायली दूतावासले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २, त्रिशुलीका बाढीपीडित समुदायलाई आफ्नो आकस्मिक मानवीय सहायता सामग्री वितरण कार्यलाई निरन्तरता दिएको छ । बाढीबाट प्रभावित भएका परिवारहरूको दैनिक जनजीवनमा राहत पुर्‍याउने उद्देश्यले दूतावासले आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको हो।
दूतावासका अनुसार बाढी प्रभावित क्षेत्र त्रिशुलीको स्थलगत भ्रमण गरी नेपालका लागि इजरायली दूतावासकी कार्यवाहक राजदूत जनन बेबारले पीडित परिवारहरूलाई 'इमर्जेन्सी गो-ब्याग' र अत्यावश्यक राहत सामग्रीहरू भरिएका बाकसहरू हस्तान्तरण गरेकी हुन् । 
राहत वितरण गर्दै कार्यवाहक राजदूत बेबारले भनिन्, "हामी सबै पीडा त हटाउन सक्दैनौँ, तर एकअर्काको साथमा उभिएर कोही पनि एक्लो छैन भन्ने अनुभूति गराउन सक्छौँ। त्रिशुलीमा मैले बाढीको वास्तविक पीडाका बीच अद्भुत मानवीय शक्ति र आपसी एकता महसुस गरेँ, जसमा नेपालले गर्व गर्न सक्छ।" उनले प्रभावित समुदायलाई पुनरुत्थान गर्न इजरायल सदैव तत्पर रहेको प्रतिबद्धता समेत व्यक्त गरेकी छन् । 
दूतावासको राहत अभियानको यो दोस्रो चरण हो। यसअघि पहिलो चरणमा दूतावासले धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६, बैरेनीका बाढीपीडितहरूलाई राहत सहयोग उपलब्ध गराएको थियो।
आगामी दिनमा प्रभावित क्षेत्रको आवश्यकता र अवस्था मूल्याङ्कन गरी थप सहयोग जारी राख्न दूतावासले नेपाली अधिकारीहरू, अग्रपंक्तिमा खटिने उद्धारकर्मी, स्थानीय समुदाय र स्वयंसेवकहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्