नेभिगेशन
राजनीति

पूर्णबहादुरले छाडे देउवा कित्ता

आफू पक्षधरलाई गरे महाधिवेशनमा सहभागी हुन संकेत

काठमाडौं । कांग्रेसको संस्थापनइतर समूह विभाजित भएको छ । संस्थापनइतर समूहमा रहेर सक्रिय रहँदै आएका पूर्वउपसभापति पूर्णबहादुर खड्का पक्ष संस्थापनले आयोजना गरेको महाधिवेशनमा सहभागी हुने टुंगोमा पुगेको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले अलग महाधिवेशनको तयारी गरिरहँदा खड्का पक्ष अलग्गिएको हो । 
कांग्रेस संस्थापनले असोज ३ बाट १५औं महाधिवेशनको प्रक्रिया सुरु गर्दैछ । आफूहरूले अघि सारेका माग सम्बोधन गर्न सभापति गगन थापा र उनको समूह प्रतिबद्ध भएको भन्दै खड्का पक्ष महाधिवेशनमा सहभागी हुन तयार भएको स्रोतले बताएको छ । शुक्रबार खड्का निकट ३१ कांग्रेस नेताहरुले सामूहिक विज्ञप्ति जारी गर्दै पार्टीको सम्पूर्ण एकताका लागि अपिल गरेका थिए । यसरी अपील गर्नेमा संस्थापनइतर समूहमा रहेर नेतृत्वदायी भूमिका खेलिरहेका मीन विश्वकर्मा, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय, कर्णाली र गण्डकीका पूर्व मुख्यमन्त्री भइसकेका जीवनबहादुर शाही र सुरेन्द्र पाण्डेदेखि रामहरि खतिवडा, नैनसिंह महर, ईश्वरी न्यौपानेसम्म छन् । उनीहरु विगतमा देउवासँग नजिक रहेर पटक पटक लाभ लिएका नेताहरुमध्ये मानिन्छन् । स्रोतका अनुसार खड्का निकट रहेका उनीहरुलाई संस्थापनपक्षले केन्द्रीय समितिमा ल्याउनेगरी गृहकार्य भइरहेको छ ।
खड्का पक्षका माग सम्बोधन गर्न सभापति थापाले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेका छन् ।  गत वैशाख दोस्रो साता खड्काले पूर्वसभापति देउवा र नेता शेखर कोइराला पक्षका तर्फबाट पार्टी एकताका लागि भन्दै ८ बुँदे प्रस्ताव राखेका थिए । 
जसमा विशेष महाधिवेशनपछि बाहिर परेका १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको समायोजनको विषय पनि  थियो । देउवा, खड्का र कोइराला पक्षका गरी करिब १ सय ११ जना छन् ।  त्यस्तै, अर्को मुख्य माग गत पुस १० गतेसम्म नवीकरण गरिएका सबै सदस्यलाई १५औं महाधिवेशनमा सहभागी गराउनुपर्ने थियो ।
तर त्यतिबेला संस्थापन पक्षले विशेष महाधिवेशनपछि अद्यावधिक गरिएका सदस्यताका आधारमा मात्रै महाधिवेशन प्रक्रिया अघि बढाउने र केन्द्रीय सदस्य समायोजन गर्न नसकिने जवाफ दिएको थियो । अहिले संस्थापन पक्ष ती मागमा लचिलो भएको खड्का पक्ष बताउँछ । 
विशेष महाधिवेशनपछि सदस्यता अद्यावधिक नगरेका भए पनि पुस १० गतेसम्म सदस्यता नवीकरण गरेका सबैलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय कांग्रेसले गरिसकेको छ ।  समायोजनका लागि आइतबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट प्रक्रिया अघि बढाउनले संस्थापनको तयारी छ । 
संस्थापन इतरपक्षमा रहँदै आएका कांग्रेसका पूर्व प्रमुख सचेतक श्याम घिमिरेका अनुसार आफ्ना माग औपचारिक रूपमा सम्बोधन भएपछि तत्कालीन कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी करिब ४० जना कांग्रेसको वर्तमान संरचनामा समाहित हुनेछन् । कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा अदालतमा पुनरावलोकनको प्रक्रिया चलिरहेकाले खड्का स्वयं भने महाधिवेशन प्रक्रियामा सहभागी हुने, नहुने एउटा टुंगोमा पुगिनसकेको बताइएको छ । खड्का स्वयंले अदालतमा मुद्दा दायर गरेका थिए । खड्का निकट नेता घिमिरेले भने, ‘नैतिकताका आधारमा उहाँ महाधिवेशनमा जान मिलेन । तर माग पूरा हुने भएपछि महाधिवेशनमा सहभागी हुनुहोस् भन्ने सन्देश उहाँले दिनुभएको छ ।’ 
केही दिन अघि सभापति थापाले कांग्रेस नेता खड्का र शेखर कोइरालासँग भेट गरेका थिए । अहिले खड्कापक्ष सहमति नजिक देखिएको र छिटै शेखरपक्ष पनि महाधिवेशनमा आउने संस्थापनपक्षको दाबी छ । तर, पूर्वसभापति देउवा, पूर्व महामन्त्रीहरु शशांक कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, जीतजंग बस्नेत, कुन्दन काफ्ले, मोहन बस्नेत लगायतका नेताहरु भने अलग महाधिवेशनको तयारीमा जुटेका छन् । 
देउवा पक्षले खटायो जिल्लामा प्रतिनिधि 
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औं महाधिवेशनको तयारीका लागि जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठन गरिएको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिले शनिबार विभिन्न जिल्लामा प्रतिनिधि पठाएको हो । जिल्लादेखि वडासम्मका सबै ६ तहका अधिवेशनका लागि असोज ३ गतेभित्र तयारी समिति गठन गर्ने जिम्मेवारीसहित प्रतिनिधि खटाइएको सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइँकेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सर्वोच्च अदालतमा कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद विचाराधीन रहेकै अवस्थामा विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी गतिविधि अघि बढाएको देउवा पक्षको आरोप छ ।
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई नै १५औं महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्व रहेको दाबी गर्दै देउवा पक्षले सोही संरचनाबाट महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्