कार्ल माक्र्स र फ्रेइडिच एन्जेलद्वारा सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र लेखियो । त्यस समय यो घोषणापत्रले समस्त युरोपमा गम्भीर प्रभाव पा¥यो । त्यस घोषणापत्रमा थुप्रै महŒवपूर्ण कुराहरू लेखिएको पाइन्छ । त्यसमध्ये “आज सारा युरोप कम्युनिस्टको भूतले तर्सेको छ” र “समस्त मानव जातिको इतिहास (आदिम साम्यवाद बाहेक) वर्ग सङ्घर्षको इतिहास हो” भन्ने कुराहरूको उल्लेखले युरोप मात्र होइन सारा संसारलाई प्रभावित पा¥यो । आज पनि कम्युनिस्ट घोषणापत्रले सम्पूर्ण विश्वलाई प्रभावित पारेको नै पाइन्छ । यसबाट रूसमा प्रभावित भएर लेनिनले बोल्सेविक क्रान्ति गरे । क्रमिक रूपमा त्यसको प्रभाव विश्वका थुप्रै मुलुकमा प¥यो । हाम्रो छिमेकी मुलुकहरू चीन एवं भारतमा पनि कम्युनिष्टहरूको प्रभाव प¥यो । फलस्वरूप कम्युनिस्ट पार्टीको स्थापना पनि भयो । नेपालमा पनि शासनविरुद्ध जनताहरू संगठित हुँदै थिए । प्रजापरिषद् नेपाली कांग्रेस आदि दलहरू खुल्ने क्रमको थालनी भयो । यही क्रममा नेपालमा कम्युनिस्ट विचारधाराबाट प्रभावित भएर २००७ मा कम्युनिस्ट पार्टी नेपालको स्थापना भयो । पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी नेपालको स्थापना कलकत्तामा गरियो । माक्र्सवादबाट गहिरो रूपमा प्रभावित कम्युनिष्टले जनता, जनजीविका, लोकतन्त्र, राष्ट्रियता आदि आदि विषयमा आफ्नो धारणा सार्वजनिक ग¥यो । साम्यवाद विचारधाराको दलगत अवधारणाले नेपाली राजनीति तरङ्गित भयो । तर विभाजन, प्रतिबन्ध, नेतृत्वको प्रतिस्पर्धा एवं अन्य विभिन्न कारणहरूले नेपाली कम्युनिस्ट आन्दोलनमा अनेकौं प्रकारको समस्याहरू देखा पर्न थाल्यो । नीति, नेतृत्व आदिका कारणले कम्युनिस्ट पार्टी प्रत्येक महाधिवेशनपश्चात् एकताबद्ध हुनुको साटो विभाजन उन्मुख हुन थाल्यो । २०१४ सालमा भएको दोस्रो महाधिवेशनपश्चात् नेतृत्वमा आएका केशरजंग रायमाझीपश्चात् नेपाली कम्युनिस्ट आन्दोलन झनै विवादको भुमरीमा पर्न गयो । तेस्रो महाधिवेशन २०१९ सालमा भयो तर वैमनस्यता, विवाद, मनमुटाव र अविश्वास तीव्र बन्यो । चौथो महाधिवेशन ‘२०३१’ सालमा भए तापनि कम्युनिस्ट पार्टीमा अनेकौं प्रकारको विभाजन भयो । चिरा चिरा हुन थाल्यो कम्युनिस्ट पार्टी । पाँचौं, छैटौंमा आइपुग्दा कुन कम्युनिस्ट पार्टीको पाँचौँ ठिक कुन कम्युनिस्ट पार्टीको छैटौं ठिकमा विवाद हुन थाल्यो । कालान्तरमा एमाले चौथो महाधिवेशन र माओवादीको नाममा प्रभावकारी कम्युनिस्ट देखा पर्न गयो । यसबीचमा नेपालको राजनीतिमा राजतन्त्रको निरंकुशता, नेपाली कांग्रेसको दम्भ एवं भारतलगायत विभिन्न मुलुकका नीतिको कारणले नेपाली जनतामा असन्तोष बढ्दै गएको थियो । विभाजनका बाबजुद पनि कम्युनिस्ट पार्टीले विदेशी हस्तक्षेप, सामन्ती निरंकुशता, राष्ट्रियता, जनजीविकाको प्रश्न उठाइराखेको थियो ।
जनतामा कम्युनिस्ट पार्टीप्रति विश्वास कायमै रहेको पाइन्छ । पञ्चायती व्यवस्थाविरुद्ध गरेको आन्दोलनमा नेपाली जनताले नेपाली कांग्रेस एवं कम्युनिस्ट पार्टीलाई दिल खोलेर समर्थन गरे । नेकपाका मदन भण्डारीको उदयले नयाँ आयाम खोल्यो । संसदीय व्यवस्थालाई उपयोग गर्ने, २०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन गर्ने लगायत विभिन्न नीति कार्यक्रम आदि आदिको कारण एमाले चर्चित पार्टीको रूपमा देखाप¥यो । चौथो महाधिवेशन पनि बलियो पार्टीकै रूपमा भए तापनि आन्तरिक विवादले त्यो दल भित्र–भित्रै चिरा पर्न थाल्यो ।
२०४७ सालको संविधानपश्चात् सम्पन्न निर्वाचनको स्थिति विचारणीय बनेर आयो । नेपाली कांग्रेसमा टिकट कसलाई दिने बहस थियो भन्ने वामपन्थीहरूमा कुन वामपन्थी दललाई कति सिट दिने विवाद थियो । बर्मा, मानन्धर, तुहारीलाललगायत अन्य थुप्रै दललाई टिकट दिँदा एमाले नै रित्तिने अवस्थामा आयो । निर्वाचन भयो । नेपाली कांग्रेसले बहुमत प्राप्त ग¥यो । एमाले सशक्त रूपमा प्रतिपक्षी दलको रूपमा देखाप¥यो । एमालेको विजयले समस्त संसार नै आश्चर्यचकित थियो । ६९ सिट एमालेले जित्यो । संयुक्त जनमोर्चाले ९, मजदुर किसान पार्टीले २, जनवादीले १ सिट जितेको थियो । यो मत परिणामले वामपन्थीप्रति जनताको रुझान प्रष्ट पा¥यो । २०५१ मा नेपाली कांग्रेसले ८३ र एमालेले ८८ सिट प्राप्त ग¥यो । २०५६ मा नेपाली कांग्रेसले १११ सिट प्राप्त गर्दा एमालेले ७१ सिट प्राप्त ग¥यो । २०६४ मा माओवादीले १२० प्राप्त ग¥यो । २०७० मा एमाले र माओवादीले छुट्टाछुट्टै गरी ९१ एवं २७ सिट प्राप्त ग¥यो । २०७४ मा एमालेले ८० र माओवादीले ५३ सिट प्राप्त ग¥यो । २०७९ मा एमालेले ४४ र माओवादीले १८ सिट प्राप्त ग¥यो । तर २०८२ को निर्वाचनमा एमाले र माओवादीले क्रमशः ९ र ८ सिट प्राप्त गरेको छ । २०८२ सालको निर्वाचन कम्युनिस्टहरूका लागि अपत्यारिलो हुन गएको छ । पचाउनै सकेका छैनन् । विश्वास गर्न सकेका छैनन् । २०४७ देखि २०८२ सालसम्म आइपुग्दा वामपन्थीप्रति जनताको मनस्थिति बदलिएको छ । मुलुक, जनता, राष्ट्रियता, लोकतन्त्र, समानता आदि आदिको नारा सोझा नेपाली जनताले विश्वास गरे । मत हाले । तर समयक्रममा कम्युनिस्ट पार्टीका नेताहरूको व्यवहारले जनता वाक्क भए । बोल्ने एउटा गर्ने अर्को । पुँजीपति, दलाल, बिचौलियाहरूको कठपुतलीका रूपमा एमाले एवं माओवादी दल परिणत हुन थाले । जनताले क्रमिक रूपमा पत्याउन छाडेको अवस्थामा एमाले र माओवादी नेतृत्वले झन् झन् उदेक लाग्ने कार्यमा प्रतिस्पर्धा गर्न थाले ।
नेपाली जनताले २०७४ को निर्वाचनमा वामपन्थी दलहरूप्रति आफ्नो विश्वास व्यक्त गरे । एमाले ८० र माओवादी ५३ एवं अन्य वामपन्थी दलहरूले पनि केही सिट प्राप्त गरे । झण्डै दुई तिहाइ बहुमत पुग्यो । जनताको बहुदलीय जनवाद एवं क्रान्तिकारी माओवादीबीच घुलन भयो । अनि पार्टी एकता पनि भयो । नेकपा नाम रह्यो । नेपाली जनतामा थोरै आशा पलायो । तर सिद्धान्त हरायो । शक्ति एवं पैसा देखा पर्न थाल्यो । जहाजको दुई पाइलटका कुरा उठ्यो । नेकपाले नेपाललाई स्वर्ग जस्तो बनाउने आश्वासन बाँड्यो, जनताले आश पनि गरे । तर नेपाली वामपन्थी नेताहरूको चरित्र र व्यवहार जनतासमक्ष धेरै बेर टिक्न सकेन । त्यसकारण विस्तारै जनतासमक्ष उनीहरू नाङ्गिन थाले । मन्त्री, राजदूतलगायत विभिन्न नियुक्तिका कुरा आउनासाथ नेकपा नेतृत्व नाङ्गो हुन थाले । एमालेको नेतृत्व गरेका केपी ओली निरंकुशतातर्फ उन्मुख हुन थाले । केपी सिद्धान्तको कुरा गर्न रुचाउँदैनन् । उनको ध्यान आफू केन्द्रित विषयमा मात्र सीमित रहन्छ । आफू केन्द्रित विषयमा अरुलाई कसरी झुक्याउन सकिन्छ त्यस कुरामा केपी साह्रै सिपालु छन् । केही काल झुक्याए । तर वास्तविकता विस्तारै पार्टी एवं जनताबीच आउन थाल्यो ।
एमाले र माओवादी नेतृत्वको झुटको नौटंकीको लामो सूची छ । नेकपा गठन, छ सदस्य उच्चस्तरीय संयन्त्र, प्रतिनिधिसभा विघटन, एकअर्कालाई दलबाट निष्कासन, अदालतको आदेशलाई लत्याउने घिनलाग्दो कार्यहरू नेतृत्वले मञ्चन गर्न थाले । एकले अर्कोमाथि दोषारोपण गरे । एमाले एवं माओवादी नेतृत्व सत्ताविहीन हुनासाथ सदाबहार दोषारोपण गर्ने एउटा गीत छ । त्यो गीतको बोलमा संविधान, लोकतन्त्र, संघीयता, गणतन्त्र, सम्प्रभुता, राष्ट्रियता नेपालको अस्तित्व सङ्कटमा छ । देशी एवं विदेशी प्रतिक्रियावादीले मुलुकलाई गम्भीर सङ्कटमा पारेको छ आदि शब्दहरू छन् । सुगौली सन्धिपश्चात् हाल नेपाल आफ्नो अस्तित्वकै संकटपूर्ण अवस्थामा छ । कल्पना नै गर्न नसकिने आर्थिक भ्रष्टाचारमा निर्लिप्त वामपन्थी नेतृत्वले जनताको कर, विदेशी ऋणबाट बनेका सडक पुलको उदाहरण दिँदै मानौँ उनीहरूकै कृपाले यो भएको हो भन्ने भान जनतालाई दिन्छन् । जनताको करबाट कहिले नअघाउने गरी भ्रष्टाचार गरेका वामपन्थी नेतृत्वले सधैँ जनता कार्यकर्ता शुभेच्छुकलाई दास नै ठानेका छन् । वामपन्थी नेतृत्वले सत्ता र शक्तिलाई मात्र आफ्नो लक्ष्य ठाने । वामपन्थी नेतृत्वले कहाँ सच्चिनुपर्छ ? कहाँ रोकिनुपर्छ ? कहाँ ढाँट्नु हुन्न ? यस्ता सामान्य राजनीतिक एवं सामाजिक नैतिकता बिर्सन थाले । सत्ता, शक्ति र आर्थिक लाभ नै गन्तव्य हो भन्ने दौड माओवादीको उदयपश्चात् झन् गहिरिएर गयो । अर्जुन दृष्टि जनता राष्ट्र राष्ट्रियता हुन सकेन । एमाले र माओवादीबीचको कहिले हार्दिकता कहिले तिक्तताको कुनै सीमा नै रहेन । सम्पूर्ण सैद्धान्तिक पक्षलाई त्यागेर पार्टी नै एक बनाए । कुर्सी भाँच्ने एवं शत्रुको रूपमा दोषारोपण लगाउने सीमासम्म पनि पुग्यो । ओली र दाहालको एकता एवं विभाजनको नाटक सत्ता दौड प्रतियोगिता जनताले गम्भीरतापूर्वक नियालिराखेका थिए । कम्युनिस्ट पार्टीहरूबीच भएको यस्ता घटनाहरूको सूची निकै लामो छ । २०७९ मा भएको निर्वाचनमा प्रचण्ड, माधव, देउवा एकातिर ओली र उपेन्द्र यादवहरू अर्कोतर्फ थिए । निर्वाचन परिणामको अन्तिम घोषणा आउँदा नआउँदै बालकोटको बाल्कनीमा दाहाल झुल्किन पुगे । केही दिन नबित्दै फेरि बुढानीलकण्ठमा दाहाल देखा परे । दाहाललाई ओलीले कांग्रेससँग सम्झौता गरेर सत्ताच्युत गरिदिए । संसदमा दाहालले ओलीको “कला” बारे लामो भाषण दिए । कम्युनिस्ट पार्टीहरू एकअर्काका वर्गीय शत्रु भए । सती सरापको कुनै सीमा नै रहेन । उनीहरूको गालीगलौज जनताले अत्यन्त गम्भीरतापूर्वक नियालिराखेका थिए । मनोवैज्ञानिकहरू परपिडक मनोवृत्तिका व्यक्तिहरू अरुलाई दुःख दिएर रमाइलो मान्दछन् । दम्भ एवं निरंकुशता सँगसँगै आफ्नो त्रुटिलाई कहिले पनि स्वीकार गर्न सक्दैनन् । २०८२ भाद्र २३ र २४ मा ओली प्रधानमन्त्री भएको समयमा ७६ जना नेपालीले ज्यान गुमाउनुप¥यो । तर, ओलीले आफ्नो कमजोरीका कारण ज्यान गुमाएको स्वीकार गरेनन् । त्यसैले नेपाली जनताले फागुन २१ गते भएको निर्वाचनमा एमाले एवं नेपाली कम्युनिस्ट पार्टीलाई तिरस्कार गरे । तर पनि कम्युनिष्टहरू चेतेका छैनन् । आफ्नो त्रुटिलाई स्वीकार गर्नुको साटो अरुलाई दोष दिइराखेका छन् । एमाले एक पाइला अघि देखापरेको छ । संक्षेपमा जनताबाट तिरस्कृत कम्युनिस्ट पार्टीहरू अझै मुर्छित अवस्थाको बर्बराहटमा छन् ।
निष्कर्ष
मैकियाभेलीले मानव स्वभावको चित्रण गर्दा मानव स्वभाव कहिले पनि सुध्रिने खालको हुँदैन भन्ने विचार अभिव्यक्त गरेका छन् । तत्कालीन इटलीको परिस्थितिमा मैकियाभेलीले प्रस्तुत गरेका उक्त विचारको औचित्यबारे छलफल हुन सक्छ । तर नेपालको सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वबारे ठोकुवा गरी के भन्न सकिन्छ भने नेतृत्व “सुध्रिने” वा “परिवर्तन” हुने अवस्थामा कहिले पनि आउन मन पराउँदैनन् । एमालेको सचिवालयमा मनोनित बाहेक लगभग सबै पराजित अनुहारहरू छन् । जुन दलको मुख्य नेता नै लगभग ५० हजार मतले पराजित भएका छन् तर उसले नैतिकता देखाएर राजीनामा गर्दैन । उपाध्यक्ष महासचिव, उपमहासचिवको के कुरा गर्ने ? त्यसैगरी जनाधार नै नभएकाहरूलाई एकताको नाउँमा बटुल्ने अनि आफू चाहिँ बिरालोले डेरा सारेझैँ निर्वाचन क्षेत्र सारेर सुरक्षित हुने मनोवृत्तिले के प्रस्ट्याउँछ ? छर्लङ्ग हुँदैन र ? नेपाली कम्युनिस्ट पार्टीको सांगठनिक स्वरूप विकृतिको अर्को नाउँ नै हो । त्यहाँ पनि पराजित अनुहारको बाहुल्यता छ । लास एवं दासहरूले के बुझ्नैपर्छ भने जबसम्म विद्रोह हुँदैन तबसम्म “मौलिक” परिवर्तन हुँदैन । फुटबलमा टिम पराजित हुनासाथ कोचले नैतिकताका आधारमा राजीनामा दिन्छ । तर नेपालमा वामपन्थी नेतृत्व लाखौं लाख मत घट्दा पनि र पराजित हुँदा पनि राजीनामा दिँदैनन् बरु नेपाली कम्युनिस्ट पार्टीहरू मुर्छित अवस्थामा भए तापनि सत्ता, शक्ति र पैसा भन्नासाथ ब्युँझिन्छन् । हाल प्रदेश सरकारको गठनमा कम्युनिस्ट पार्टीहरू एमाले र नेपाली कम्युनिस्ट पार्टीले खासगरी अनैतिकताको समस्त सीमा उल्लङ्घन गरेका छन् । छोरा, बुहारी, बहिनी, बहिनी ज्वाईं, छोरी ज्वाईं, नाति नातिनी, भान्जा भान्जी, सासू ससुरा अर्थात् सातकोस परको नातालाई पनि सात पुस्ता पुग्ने गरी पद, लाभ दिन कार्यमा सिपालु वामपन्थी नेतृत्वले कतै बहिनी ज्वाईंलाई राजदूत कतै छोरी ज्वार्इंलाई मन्त्री बनाउने काम गरेको प्रमाण थुप्रै छ । कोशी प्रदेशमा छोरी ज्वार्इंलाई फेरि भौतिक पूर्वाधार मन्त्री बनाउनु, राप्रपासँग मिलेर बागमतीमा सरकार बनाउनु आदि कार्यले नेपाली कम्युनिस्ट पार्टीहरूको वास्तविक चरित्र उदाङ्ग भएको छ । फेरि “चन्द” र “थापा” हरू कम्युनिस्ट भएर मुख्यमन्त्री, मन्त्रीहरू हुनेछन् । सर्वहारा वर्ग, शोषण, वर्ग, सामन्तवाद दलाल पुँजीपतिको साम्राज्यवाद, राष्ट्रियता, सम्प्रभुता, लोकतन्त्र, संघीयता, गणतन्त्रको चर्चा गम्भीरतापूर्वक नेपाली कम्युनिस्ट पार्टीले गर्नेछन् । नेपाली कम्युनिस्ट पार्टीहरू अधोगति उन्मुख भइसकेका छन् भन्ने कुरा प्रमाणित गर्न सक्ने कुराको अनुमान गर्न गाह्रो छैन ।
(लेखक सिलवाल राजनीति शास्त्र समाजका अध्यक्ष हुन् ।)