नेभिगेशन
राजनीति
कांग्रेसमा एकताको प्रयास

पुरानालाई फर्किने बाटो खुला

काठमाडौं । कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने १५औँ महाधिवेशनलाई ‘महाउत्सव’का रूपमा मनाउने निर्णय गर्दै पार्टीभित्रको एकता कायम गर्ने प्रयास जारी राखेको छ । आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले १४औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यलाई महाधिवेशन प्रक्रियामा फर्किने बाटो खुला गरेको हो । गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहितका उनी पक्षधर केन्द्रीय सदस्यहरु सहभागी थिएनन् । प्रवक्ता देवराज चालिसेले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुलाई सोही भूमिकामा स्वीकार गर्ने निर्णय भएको जानकारी दिए । 
गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा कार्यसमिति बनाएपछि देउवा पक्षले त्यसलाई अवैधानिक भन्दै सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले थापालाई मान्यता दिएपनि देउवासपक्षको पुनरावलोकनको निवेदनमा निस्सा दिएको अवस्था छ । उक्त निवेदनको सुनुवाइ नहुँदासम्म आफूहरुको सभापति शेरबहादुर देउवानै भएको भन्दै इतरपक्षले चुनदेवीबाट समानान्तर पार्टीको अभ्यास गरिरहेको छ । 
संस्थापनले घोषणा गरेको कार्यतालिकाअनुसार महाधिवेशनको प्रक्रिया शुरु हुन एक साता बाँकी रहँदा देउवा पक्षका नेताहरुलाई केन्द्रीय समितिमा फर्कने ढोका खुलेको छ । यसले महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन मद्धत गर्ने संस्थापनपक्षको विश्वास छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुने १४औँ महाधिवेशनबाट निर्वाचित निवर्तमान केन्द्रीय सदस्यलाई हालको केन्द्रीय समितिमा समेट्ने निर्णय गरेर यसअघिको अडानमा संस्थापन लचक देखिएको छ । 
‘महाधिवेशन प्राविधिक प्रक्रिया मात्र नभएर राजनीतिक महाउत्सव पनि हो । त्यसैले महाधिवेशन प्रक्रियामा सबैको सहज एवं उत्साहपूर्ण सहभागिता गराउने वातावरण निर्माण गर्नु र पार्टीभित्र आपसी संवाद, सहमति र सहकार्यको अधिकतम प्रयास गर्नु केन्द्रीय कार्यसमितिको जिम्मेवारी नै हो,’ कार्यसम्पादन बैठकको निर्णय छ, ‘महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । कुनै असहमति भएमा आफ्नो मत राख्ने र समाधान खोज्ने स्थान महाधिवेशनमा नै हो ।  यस सन्दर्भमा १५औं महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालिन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय यो बैठक गर्दछ ।’ यसअघि पूर्व उपसभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले १४औं महाधिवेशनबाट निर्वाचित तर विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमितिमा नरहेका १११ जना नेतालाई पुनः केन्द्रीय सदस्यको हैसियत दिन सभापति गगन थापासँग आग्रह गरेका थिए । त्यतिबेला उक्त प्रस्ताव स्वीकार गर्न नसकिने भन्दै सभापति थापा तयार भएका थिएनन् । खड्का निकट ३३ जना निवर्तमान केन्द्रीय सदस्य महाधिवेशन प्रक्रियामा सहभागी हुने तयारीमा छन् । उनीहरूलाई केन्द्रीय समितिमा लैजाने अन्तिम तयारी भएका बेला कार्यसम्पादन समितिले देउवापक्षका अरु नेताका लागि पुनः पार्टीमा फर्कन ढोका खोलेको हो । 
त्यस्तै, महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिद्वारा १५ औं महाधिवेशनको प्रक्रियामा सहभागी हुने क्रियाशील सदस्यहरुको नामावली पनि बैठकले स्वीकृत गरेको छ । ‘कांग्रेसको शक्ति लाखौंलाख सदस्यको एकता, लोकतान्त्रिक संस्कार र जनताको विश्वासमा निहित छ । असोज ३ गते प्रत्येक वडाबाट प्रारम्भ भइ १६ देखि १९ सम्म काठमाडौंको खुल्ला मञ्चमा सम्पन्न हुने महाधिवेशनमा उत्साहपूर्वक पुनर्जागरणमा सहभागी हुन सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकहरूमा यो बैठक हार्दिक अपील गर्दछ,’ बैठकको निर्णय छ । 
संस्थापनको निर्णयको अर्थ छैनः देउवा पक्ष
देउवा पक्षले भने आफूहरुले विशेष महाधिवेशननै अवैध भनेर अदालत गएकाले उक्त प्रक्रियाबाट आउको समितिले बोलाउँदैमा केन्द्रीय समितिमा जाने कुरा नआउने प्रतिक्रिया दिएको छ । देउवापक्षका नेता, एवम् १४औं महाधिवेशनका निर्वाचित केन्द्रीय सदस्य समेत रहेका गुरु बरालले आफ्नो समूह संस्थापनको निर्णय मानेर नजाने बताए । उनले विधि र प्रक्रियाभन्दा बाहिर बाट आएको समितिले महाधिवेशन गराउन नसक्ने भन्दै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले मात्रै महाधिवेशन गराउनुपर्ने तर्क गर्छन् ।
‘उहाँहरुले महाधिवेशनको मिति तोकिसकेपछि गरेको निर्णयको कुनै अर्थ छैन । हाम्रो लडाइ विशेष महाधिवेशननै वैधानिक होइन, प्रक्रियागत रुपमा मिलेको छैन भन्ने हो । अदालतले पनि विशेष महाधिवेशनको प्रक्रिया त्रुटिपूर्ण भनिसकेको अवस्था छ,’ नेता बरालले भने, ‘यो निर्णय मान्दा विशेष महाधिवेशन मानेको ठहर्छ । त्यसैले यसमा त जाने कुरै भएन । उहाँहरुको समिति नै अवैध हो भन्ने हाम्रो दाबी छ भने उहाँहरुले आउनुस् भन्ने कुराको खासै अर्थ छैन । त्यो सम्भव पनि छैन ।’
पूर्णबहादुर पक्ष कार्यसम्पादनको निर्णयमा सकारात्मक रहेको बताइएपनि देउवासहित शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण सिटौला लगायतका नेताहरु भने अलग्गै महाधिवेशनकै अडानमा देखिएका छन् । शेखर कोइरालाले भने एकताको महाधिवेशन नभए दुइटै महाधिवेशनमा भाग नलिने आफू निकटस्थसँग बताउने गरेका छन् । उनले देउवा पक्षसहितको समायोजनको पक्षमा आफ्नो अडान सभापति थापासँगको भेटमा यसअघि नै राखिसकेका छन् । 
गुरुङको राजीनामा स्वीकृत
कांग्रेस अनुशासन समितिका समितिका संयोजक तारामान गुरुङले दिएको राजीनामा स्वीकृत भएको छ । कार्यसम्पादन समितिको बैठकले उनले सभापति गगन थापासमक्ष दिएको राजीनामा स्वीकृत गरेको हो । गुरुङ केही दिन अघि आर्थिक लेनदेन विवादमा ८ दिन हिरासत बसेर छुटेका थिए । सोही विवादका कारण आलोचित बनेका गुरुङले आइतबार राजीनामा दिएका हुन् । संखुवासभाका गुरुङ पूर्व स्वास्थ्य राज्यमन्त्री समेत हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्