नेभिगेशन
प्रदेश

जडीबुटीमा धनी, औषधिमा गरिब

सुदूरपश्चिम । पहाडमा बहुमूल्य जडीबुटी छन् । सुदूरपश्चिमका वनमा पाइने ती जडीबुटीको बजार पनि छ । तर, प्रदेशले त्यसबाट अपेक्षित लाभ लिन सकेको छैन ।
सरकारी अध्ययनअनुसार सुदूरपश्चिममा वार्षिक करिब ६ हजार २७१ मेट्रिक टन जडीबुटी संकलन गर्न सकिने सम्भावना छ । गत आर्थिक वर्षमा नेपालबाट कुल ५ हजार ५२६ मेट्रिक टन जडीबुटी निर्यात भएको थियो । यस आधारमा सुदूरपश्चिमबाट मात्रै वार्षिक करिब १ अर्ब २४ करोड रुपैयाँको जडीबुटी निकासी गर्न सकिने अनुमान छ ।
सम्भावना देखिएको वर्षौँ भयो । तर, प्रदेशमा अहिलेसम्म जडीबुटी प्रशोधन केन्द्र बनेको छैन । आयुर्वेद औषधि उत्पादन गर्ने उद्योग पनि स्थापना भएको छैन । जडीबुटीको विस्तृत सम्भाव्यता अध्ययनसमेत हुन सकेको छैन ।
यसबीच हिमाली जिल्लाबाट यार्सागुम्बा, पाँचऔँले, कुटकी, चिराइतो, सुगन्धवाल र जटामसी बाहिरिन्छन् । तराईबाट कुरिलो, सर्पगन्धा, क्यामोमाइल, मेन्था, तेजपात र लेमनग्रास बाहिरिन्छन् । कच्चा जडीबुटी बाहिरिन्छन्, बाहिरबाट महँगा औषधि भने प्रदेशमा भित्रिन्छन् ।
‘कच्चा जडीबुटी बाहिर पठाउने र त्यही जडीबुटीबाट बनेका औषधि खरिद गरेर ल्याउने चक्र वर्षौँदेखि दोहोरिएको छ,’ सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त प्रमुख डा. ओमप्रकाश कलौनीले भने, ‘थोरै लगानीबाटै यो अवस्था बदल्न सकिन्छ । त्यसका लागि नेतृत्वको इच्छाशक्ति चाहिन्छ ।’
प्रदेशका आयुर्वेद स्वास्थ्य संस्थामा बाहिरबाटै औषधि ल्याउनुपर्ने अवस्था छ । प्रादेशिक चिकित्सालयका अनुसार वार्षिक करिब सात करोड रुपैयाँको आयुर्वेदिक औषधि बाहिरबाट ल्याइन्छ । आफ्नै प्रदेशमा उत्पादन सम्भव भएका औषधिसमेत बाहिरबाट किन्नुपरेको चिकित्सालयको भनाइ छ ।
तर प्रदेशमै उत्पादन सम्भव रहेको उदाहरण पनि देखिएको छ । प्रादेशिक चिकित्सालयले गत आर्थिक वर्ष करिब ३२ लाख रुपैयाँको कच्चा पदार्थ खरिद ग¥यो । त्यसबाट एक करोडभन्दा बढी बजार मूल्यका औषधि उत्पादन गरेको चिकित्सालयले जनाएको छ ।
जडीबुटीलाई कच्चा पदार्थकै रूपमा बेच्दा मूल्य कम हुन्छ । प्रशोधनपछि भने त्यसको मूल्य धेरै बढ्छ । चिराइतोमा चार गुणासम्म मूल्य अभिवृद्धि गर्न सकिन्छ । तेजपात र दालचिनीमा यो पाँचदेखि आठ गुणासम्म पुग्छ । अमला प्रशोधन गर्दा मूल्य १० गुणाभन्दा बढी बढ्न सक्छ । क्यामोमाइल र मेन्थामा भने २० गुणासम्म मूल्य अभिवृद्धिको सम्भावना छ ।
‘किसानले ४० देखि ६५ रुपैयाँमा बेच्ने अमलाबाट च्यवनप्राश बनाउन सकिन्छ,’ आयुर्वेद औषधि व्यवसायी ठक्कर बोगटीले भने, ‘२५ देखि ४० रुपैयाँ पर्ने काँचो गुर्जोबाट बन्ने सत्वको मूल्य प्रतिकिलो चार हजार रुपैयाँसम्म पुग्छ ।’
प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले पनि यसलाई प्राथमिकतामा राखेको छ । जडीबुटी प्रशोधन उद्योग स्थापना गर्ने योजना त्यसमा छ । गुणस्तर परीक्षण प्रयोगशाला र स्थानीय उत्पादनको ब्रान्डिङ गर्ने लक्ष्य पनि छ ।
अब भने योजना कार्यान्वयनमा लैजानुपर्ने माग बढेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार बहुउद्देश्यीय जडीबुटी प्रशोधन केन्द्र बनाउनेबारे छलफल भइरहेको छ ।
‘सरकारको सोच बहुउद्देश्यीय जडीबुटी प्रशोधन केन्द्र बनाउने हो,’ उनले भने, ‘यस वर्ष सम्भाव्यता अध्ययनका लागि बजेट राख्ने विषयमा छलफल भइरहेको छ ।’
सामाजिक विकास मन्त्रालय पनि औषधि उत्पादनको तयारीमा रहेको जनाएको छ । महाकाली आयुर्वेद औषधालयको स्तरोन्नति गर्ने योजना छ । त्यही क्षेत्रमा जडीबुटी प्रशोधन केन्द्र बनाउने तयारी छ । धनगढीस्थित चिकित्सालयमा औषधि उत्पादन र ब्रान्डिङ गर्ने योजना पनि अघि सारिएको छ ।
‘सुदूरपश्चिम जडीबुटीको उद्गमस्थल नै हो,’ महाकाली आयुर्वेद औषधालयका प्रमुख डा. सूर्य उपाध्यायले भने, ’अब प्रशोधन केन्द्र र उत्पादन उद्योग बनाउन ढिला गर्नु हुँदैन ।’
सुदूरपश्चिमका लागि चुनौती अब सम्भावना खोज्नु होइन, भएको सम्भावनालाई उद्योगमा बदल्नु हो । जडीबुटीको कच्चा पदार्थ बाहिर पठाउने कि त्यसैबाट मूल्य र रोजगारी सिर्जना गर्ने भन्ने निर्णयको समय आएको छ । प्रदेशका जंगलमा रहेको सम्पदा अब बजारमा मूल्य थपेर पुग्नुपर्ने देखिन्छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्