नेभिगेशन
दृष्टिकोण

हरितालिका तीजको महिमा

हरेक वर्ष भाद्र शुक्लपक्ष तृतीयाका दिन महिलाहरूले हरितालिका तीजको व्रत बस्ने गर्दछन् । विशेष गरेर हिन्दु महिलाहरूले यो व्रत बस्छन् । महिलाहरूका लागि यो व्रत सबैभन्दा उत्तम व्रतका रूपमा लिइन्छ । यो व्रतले महिलाहरूलाई अखण्ड सौभाग्य प्राप्त हुने विश्वास गरिएको छ । विवाह भइसकेका महिलाहरूले आफ्ना पतिको सुख, समृद्धि र दीर्घायुका लागि र आफ्नो सौभाग्यका लागि पनि यो व्रत बस्छन् । त्यस्तै विवाह नभइसकेका महिलाहरूले भने आफूले चिताए जस्तै राम्रो र असल पति पाइयोस् भन्ने उद्देश्यले यो व्रत बस्छन् । 
यो दिन रातो सारीमा सजिएर हुलका हुल महिलाहरू पशुपतिमा पूजा गर्न जान्छन् । त्यही बाटोघाटोमा नै नाचेर गाएर रमाइलो पनि गर्छन् । यो दिन महिलाहरूले एक किसिमले स्वछन्द रूपमा निर्धक्क भएर नाच्ने र आ–आफ्ना मनका कुरा पोखेर गीत गाउने गर्छन् । एक किसिमले यो दिन भनेको महिला स्वतन्त्रताको एउटा प्रदर्शन नै हो भन्ने देखिन्छ । त्यसैले यो दिन महिलाहरूले स्वतन्त्र रूपमा आफ्नो व्यवहार देखाइरहँदाको रौनक अति नै आकर्षित देखिन्छ । 
यो तीजको व्रत बस्ने र महादेवको पूजा गर्ने सन्दर्भमा देशैभरि विभिन्न स्थानमा रहेका महादेवको मन्दिरमा महिलाहरूले मेला भर्ने, गाउने, नाच्ने गरेर रमाइलो गर्दै अत्यन्तै श्रद्धा भक्तिपूर्वक महादेवको पूजा गरिरहेका हुन्छन् । यो दिन दिनभरि व्रत बसेर महादेवको पूजा गरेर रात्रीमा पनि महादेव र पार्वतीको  बालुवाको मूर्ति बनाएर विशेष रूपमा पूजा गर्छन् । यो व्रत गर्नाले महिलाहरू विधवा हुनुनपर्ने फल पाइन्छ भनी शास्त्रमा उल्लेख गरिएको छ । यो व्रत बस्नुअघि अघिल्लो दिनमा विवाहित चेलीबेटीहरू माइतीमा गई तीजको दर खाने भनी रातभर विभिन्न किसिमका मीठामीठा पकवान बनाई त्यसका साथै विभिन्न किसिमका मिठाई पनि खाने गर्दछन् । तीजको व्रत बस्ने दिन सरकारले पनि महिलाहरूका लागि मात्र सार्वजनिक बिदा दिने गरेको छ । 
यो हरितालिका तीजका बारेमा पौराणिक कथाअनुसार परापूर्वकालमा नैमिषारण्य क्षेत्रमा सौनकादि अठासी हजार ऋषिहरूले एउटा भव्य गोष्ठीको आयोजना गरे । सोही गोष्ठीमा प्रमुख अतिथिका रूपमा सूतजीलाई आमन्त्रित गरियो । आमन्त्रणलाई स्वीकार गरी सूतजी उक्त गोष्ठीमा भाग लिन आउनुभयो । त्यहाँ भएका सबै ऋषिहरूले सूतजीलाई हरितालिका तीजको व्रतका बारेमा बताइदिन अनुरोध गरेकाले सूतजीले सर्वप्रथम मंगलाचरण गर्दै महादेव र पार्वतीलाई स्मरण गरेर नमस्कार गर्दै कथा भन्ने क्रममा उहाँले यो कथा सबैभन्दा पहिला महादेवले पार्वतीलाई बताउनुभएको हो भन्नुभयो । 
प्राकृतिक सौन्दर्यले अत्यन्तै आकर्षक भइरहेको स्थान जहाँ विभिन्न किसिमका पशुपन्छीहरू नाचिरहन्छन्, जहाँ देवता र गन्धर्व आदि विहार गरिरहन्छन्, मणि माणिक्य आदि रत्नले सुशोभित भइरहेको छ, जहाँ अग्ला–अग्ला पहाड, पर्वत र हिमगंगा बगिरहेको छ, त्यस्तो आकर्षक स्थान पर्वतमा जन्म भएकी पार्वतीले सानैदेखि महादेव पति पाऊँ भनी कष्टपूर्ण कठोर तपस्या गरिरहेकी देखेर पिता हिमालय पर्वत अत्यन्तै चिन्तित भई आफ्नी पुत्रीलाई विवाह गरिदिनुप¥यो भनी चिन्ता लिन थाले । यस्तो बेलामा ब्रह्मका पुत्र, सबै धर्मशास्त्र बुझेका नारदमुनि पार्वतीको दर्शन गर्नुप¥यो भनी हिमालय पर्वत आइपुग्नुभयो । नारदमुनि आउनुभएको देखेर हिमालयले स्वागत सत्कार गर्दै आसनमा बसाई आउनाको कारण बिन्ती गरे । हिमालयको यस्ता कुरा सुनेपछि नारदमुनिले आफूलाई विष्णु भगवान्ले पठाउनुभएको बताउँदै हिमालयसँग पुत्री पार्वती भगवान्  विष्णुका लागि माग्नुभयो ।    
नारदका यस्ता कुरा सुनेर हिमालय अति नै हर्षित हुन्छन् । नारद तत्कालै त्यहाँबाट अन्तध्र्यान भई विष्णुकहाँ पुगेर काम सिद्ध भएको जानकारी गराउनुहुन्छ । 
यता हिमालय पर्वतले आफ्नी पुत्रीलाई ‘मैले तिम्रो विवाह विष्णु भगवान्सँग गर्ने वचन दिइसकें । अब तिम्रो विवाह विष्णुसँग नै हुन्छ’ भनिदिन्छन् । पिताजीको यस्तो कुरा सुन्नेबित्तिकै पार्वती मूर्छा पर्छिन् । पछि होसमा आएपछि पार्वतीले आफ्ना सखीहरूलाई भन्छिन्, ‘म महादेवबाहेक अरूसँग विवाह गर्दिनँ, बरु प्राण त्यागिदिन्छु ।’ यस्तो प्रतीज्ञा सुनेर सखीहरूले पार्वतीलाई भगाई लान्छन् । हिमालयले आफ्नी पुत्री भागेको कुरा थाहा पाई खोजी गर्न थाल्छन् । पुत्री कतै नभेटिएकाले हिमालयले आफ्नी पुत्रीलाई बाघ, भालु आदि जनावरहरूले खाइसक्यो होला भन्ने ठान्दछन् । 
उता लुकाउन लगेका सखीहरूले पार्वतीलाई जंगलमा लगी राख्छन् । बाघ, भालु, सिंह, सर्पहरू धेरै भएको घनघोर जंगलमा खोलाछेउको गुफामा बसी पार्वतीले बालुवाको शिवलिंग बनाएर भाद्र शुक्लपक्ष हस्ता नक्षत्र, तृतीयाका दिन व्रत बसी महादेवको पूजा गर्छिन् । पार्वतीले गरेको व्रतको प्रभावले महादेवको आसन डगमगाउँछ । अनि महादेव आई दर्शन दिएर के वर माग्ने हो माग भन्दा पार्वतीले ‘हजुर नै मेरो पति होइबक्सियोस्’ भन्छिन् । महादेवले पनि ‘तथास्तु’ भनी वरदान दिएर कैलाशमा फर्कनुहुन्छ । पार्वतीले सखीहरूसँगै मिलेर व्रत विसर्जन गर्छिन् । हिमालय पनि त्यहीं आफ्नी पुत्रीलाई खोज्दै खोज्दै आइपुग्छन् । अनि पार्वतीले पिता हिमालयलाई भन्छिन्, ‘मेरो महादेवसँग विवाह गरिदिने हो भने मात्र म फर्किनेछु नत्र म आउँदिन बरु यहीं बसिरहन्छु ।’ पुत्रीको कुरा सुनेर हिमालयले महादेवसँगै विवाह गरिदिने वाचा गर्दै पार्वतीलाई घरमा लगेर महादेवसँगै विवाह गरिदिन्छन् ।
तीजको व्रतको प्रभावले पार्वतीले महादेव पति पाएकाले यो व्रतको धेरै महŒव रहेको धर्मशास्त्रमा उल्लेख गरिएको छ । यो व्रतको भक्तिभावले कथा सुनेर व्रत गरेमा सबै पापबाट मुक्त भई सात जन्मसम्म राजश्री, ऐश्वर्य भोग गर्न पाइन्छ र अखण्ड सौभाग्यवती होइन्छ, विधवा पनि हुनुपर्दैन भन्ने कुरा शास्त्रमा उल्लेख गरेको छ ।
(लेखक डंगोल धर्म–संस्कृतिका जानकार हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्