नेभिगेशन
खेलकुद

फिडे चेसका खेलाडीको बिदाइ

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६औं फिडे चेस ओलम्पियाडमा सहभागी खेलाडीलाई बिदाइ गरेका छन् । नेपाल बुद्धिचाल महासंघले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रम उनले सेप्टेम्बर १४ देखि २८ सम्म उज्वेकिस्तानको समरकन्दमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई बिदाइ गरेका हुन् ।
    कार्यक्रममा मुख्यमन्त्री थापामगरले प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश सरकारले पुरस्कार र सम्मान प्रदान गर्ने बताए । उनले बागमती प्रदेश सरकारले खेलाडीको मन उच्च बनाउनका लागि खेलकुद क्षेत्रमा ठूलो लगानी गरेको उल्लेख गरे ।
    ‘खेलाडीले जित्नु भनेको देशले जित्नु हो, बुद्धिचाल प्रतियोगिता बुद्धि लगाएर खेल्नुपर्छ, उच्च मनोबलका साथ खेल्नुहोस्,’ मुख्यमन्त्री थापामगरले भने । उनले बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि प्रदेशभित्रका १३ जिल्ला र ११९ पालिकामा नै खेलकुदसम्बन्धी पूर्वाधार निर्माण गरिरहेको बताए ।
    कार्यक्रममा प्रतियोगितामा भाग लिन जान लागेका पाँच महिला खेलाडी कृतिसरा अधिकारी, पूजा भण्डारी, एन्जेल महर्जन, निहाना श्रेष्ठ, सिन्दिरा जोशी र पाँच पुरुष खेलाडी रूपेश जयसवाल, सुश्रुत दाहाल, पुरुषोत्तम सिलवाल, आशिष फुँयाल र राजन सुवेदीलाई बिदाइ गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्