नेभिगेशन
शिक्षा

विपद् विज्ञ अर्याललाई विद्यावारिधि उपाधि

काठमाडौँ । नेपालको जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन व्यवस्थापन क्षेत्रका स्थापित व्यक्तित्व पिताम्बर अर्यालले विद्यावारिधि उपाधि हासिल गरेका छन् । उनले भारतको राजस्थान, नवईस्थित डा. के.एन. मोदी विश्वविद्यालयबाट “विपद्‌को सामाजिक-आर्थिक प्रभाव (विपद्‌को समाजशास्त्र)" विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका हुन् । 
तीन दशकभन्दा बढी समयदेखि यस क्षेत्रमा सक्रिय डा. अर्यालसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा उच्च तहमा काम गरेको लामो र विशिष्ट अनुभव छ। उनले नेपाल रेडक्रस सोसाइटीको महासचिव जस्तो गरिमामय कार्यकारी पद सम्हाल्नुका साथै सोही संस्थाको स्वास्थ्य सेवा विभाग, विपद् व्यवस्थापन विभाग र युवा रेडक्रस विकासमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।
उनको प्राज्ञिक पृष्ठभूमि निकै सबल रहेको छ । डा. अर्यालले यसअघि युरोपबाट जनस्वास्थ्य, भारतबाट समाजशास्त्र र नेपालबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका थिए । 
आफ्नो व्यावसायिक यात्राका क्रममा उनले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, डेनिस रेडक्रस तथा क्यानाडियन रेडक्रस जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाहरूमा विभिन्न प्राविधिक तथा व्यवस्थापकीय भूमिकामा एक दशकभन्दा बढी समय योगदान पु-याएका छन् । 
जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण, आपत्कालीन प्रतिकार्य तथा पुनर्स्थापना, र सामुदायिक विकासका क्षेत्रमा विशेषज्ञता राख्नुहुने डा. अर्याल हाल नेपाल युनाइट्सको वरिष्ठ सल्लाहकार र डीपीनेट नेपालको सल्लाहकारका रूपमा कार्यरत छन् । साथै, उनी जाइका एलमनाई एशोसिएशन अफ नेपाल र प्रेस एशोसिएशन अफ नेपालका आजीवन सदस्य समेत छन् । उनले हासिल गरेको यो उच्च शैक्षिक उपाधिले नेपालको विपद् व्यवस्थापन र अध्ययनको क्षेत्रमा थप योगदान पुग्ने विश्वास गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्