नेभिगेशन
विश्व

निला ट्याक्सीः बदलिएको सहरको चलायमान पहिचान

काबुल (एजेन्सीहरु) – अफगानिस्तानको राजधानी काबुलका सडकमा अहिले एउटा दृश्य निकै सामान्य बनेको छ । सडकमा गुडिरहेका पुराना टोयोटा कारको ठूलो हिस्सा निलो–फिरोजी रङमा देखिन्छन् । यी कार काबुलका ट्याक्सी हुन् । युद्ध, सत्ता परिवर्तन र आर्थिक संकटबीच पनि यी ट्याक्सी सहरको दैनिकीसँग जोडिएका छन् ।
तर काबुलका ट्याक्सी सधैं यस्ता निला थिएनन् । लामो समयसम्म राजधानीका ट्याक्सी पहेँलो र सेतो रङका हुन्थे । सन् २०२३ मा तालिबान सरकारले ट्याक्सीको रङ परिवर्तन गर्ने निर्णय गरेपछि अहिलेको निलो–फिरोजी स्वरूप देखिन थालेको हो । रेडियो फ्री युरोप÷रेडियो लिबर्टीका अनुसार सरकारले ट्याक्सीको रङ फिरोजी बनाउँदा अपहरण र अन्य अपराध नियन्त्रणमा सहयोग पुग्ने दाबी गरेको थियो ।
ट्याक्सी चालक भने सरकारको निर्णयबाट खुसी थिएनन् । आर्थिक संकटमा गुज्रिरहेका चालकलाई पुरानो गाडी फेरि रङ लगाउनुपर्ने खर्च थप बोझ बनेको थियो । अमु टीभीका अनुसार कतिपय चालकले आफ्नो आम्दानीले गाडी रङ लगाउने खर्च धान्न नसक्ने बताएका थिए ।
अफगानिस्तानमा ट्याक्सीका रूपमा पुराना जापानी कार प्रयोग गर्ने चलन पुरानै हो । काबुलमा विशेषगरी टोयोटा कोरोला निकै लोकप्रिय छ । पुराना तर बलिया कार भएकाले खराब सडकमा पनि चलाउन सजिलो हुन्छ । काबुलका सडकमा देखिने अधिकांश ट्याक्सी पनि यिनै कारमा आधारित छन् । काबुलसम्बन्धी विवरणमा सहरमा करिब ४० हजार ट्याक्सी रहेको उल्लेख छ ।
सन् २०२३ अघि काबुलका ट्याक्सीको पहिचान पहेँलो–सेतो रङ थियो। एउटा अध्ययनअनुसार सहरभित्र चल्ने ट्याक्सी पहेँलो रङ र तिनमा ढोका सेतो हुन्थे । प्रान्तीय ट्याक्सीमा भने रङको संयोजन फरक हुन्थ्यो । यसबाट यात्रुले सहर र प्रान्तीय ट्याक्सी छुट्याउन सक्थे ।
रङ परिवर्तनको अर्को उद्देश्य सहरमा यातायात व्यवस्था व्यवस्थित गर्नु पनि थियो । अफगानिस्तानको ‘द काबुल टाइम्स’लाई एक ट्राफिक अधिकारीले बताएअनुसार निलो रङले सार्वजनिक सवारी पहिचान गर्न सजिलो बनाउने र ट्राफिक अनियमितता घटाउने अपेक्षा गरिएको थियो । त्यसबेला प्रत्येक ट्याक्सी रङ परिवर्तन गर्न ९ हजार १०० अफगानी खर्च लाग्ने बताइएको थियो ।
समयसँगै यो रङ काबुलको सडकको पहिचान बन्न थालेको छ । सन् २०२५ मा ‘एल पाइस’ले काबुलको सडक जीवनबारे गरेको रिपोर्टमा पुराना निलो–फिरोजी टोयोटा कोरोला सहरको सामान्य दृश्य भएको उल्लेख गरेको थियो । जापानबाट सस्तोमा आयात हुने भएकाले कतिपय कारमा दायाँतर्फ स्टेयरिङसमेत रहेको रिपोर्टमा उल्लेख छ ।
काबुलको ट्याक्सी संस्कृति भने निजी यात्रामा मात्र सीमित छैन । साझा ट्याक्सी पनि चल्छन् । एउटै दिशातर्फ जाने यात्रु बाटोमा चढ्ने र ओर्लने गर्छन् । यसले सीमित आम्दानी भएका मानिसका लागि यातायातको विकल्प उपलब्ध गराउँछ । 
ट्याक्सीको यो संसार अहिले नयाँ प्रविधिसँग पनि जोडिन थालेको छ । टोलोन्युजका अनुसार सन् २०२६ मा काबुलमा एउटा निजी कम्पनीले अनलाइन ट्याक्सी सेवा सुरु गरेको छ । कम्पनीले प्रविधिमार्फत सुरक्षित, व्यवस्थित र पारदर्शी यातायात सेवा दिने लक्ष्य राखेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्